विद्यालयले विदुर नगरपालिका–५ देवीघाटस्थित शिवधाममा श्रीपञ्चमीको दिन (माघ १२ गते) आदिवासी जनजातीलगायत सबै समुदायका बटुकहरूको सामूहिक व्रतवन्ध गरेको हो । विद्यालयले २०५५ सालदेखि बटुकहरूको सामूहिक व्रतबन्ध गराउँदै आएको छ । शिवधाम परिसरमा मुख्य पुरोहित हरिप्रसाद सापकोटाले एकै दिन ९१ जना बटुकहरूलाई सामूहिक रूपमा मन्त्रदान गराएका हुन् । विद्यालयले एक जना बटुकबाट व्रतबन्ध गराए वापत पाँच हजार रुपैयाँ शुल्क लिएको विद्यालयका प्रधानाध्यपाक मञ्जु चित्रकारले जानकारी दिइन् ।
शहीद जगतप्रकाशजंग शाह संस्कृत माध्यामिक विद्यालयले श्रीपञ्चमीमा हरेक वर्ष बटुकहरूको सामूहिक ब्रतबन्ध गराउँदै आएको छ । विद्यालयको आर्थिक स्रोत बढाउन, हिन्दु धर्मको रक्षा, धार्मिक परम्परालाई निरन्तरता र संस्कृत भाषाको संरक्षण गर्नका लागि विद्यालयले सामूहिक ब्रतबन्ध गराउँदै आएको हो । ‘प्रत्येक बटुकबाट विद्यालयले ५ हजार रुपैयाँ लिएको छ । पूर्बाङ्ग, ब्रतबन्ध गराउँदा हुने खर्च, बटुकसँगै आएका अभिभावकको लागि समेत खानाको व्यवस्था विद्यालयले नै गर्दै आएको छ । बटुकले लगाउने पोषाक धोती, टोपी र गन्जी विद्यालयले नै उपलव्ध गराउछ,’ प्रध्यानाध्यापक चित्रकारले भनिन् ‘आर्थिक स्थिति कमजोर भएका परिवारले चलन अनुसार सन्तानहरूको कर्म चलाउन सकिरहेको हुँदैन । उनीहरूलाई नै मध्यनजर राखेर सामूहिक ब्रतबन्ध गराउँदै आएका छौं ।’
यो वर्ष बटुकहरूसँग लिएको शुल्कबाट ४ लाख ५५ हजार रुपैयाँ संकलन भएको छ । अघिल्लो वर्ष विद्यालयले सामूहिक व्रतबन्धबाट ५ लाख ७० हजार रुपैयाँ संकलन गरेको थियो । शुल्कसँगै भेटीबाट संकलन भएको रकम खर्च कटाएर विद्यालय सञ्चालनका लागि खर्च गरिने प्रधानाध्यापक चित्रकारले बताइन् । ‘विद्यालयले आयस्रोत बढाउन सुरु गरेको सामुहिक ब्रतबन्ध अभियानलाई हामीले एक पर्वको रुपमा लिएका छौँ । आर्थिक श्रोत जुटाउने यो बैकल्पिक खोजी पनि हो । समाजमा बढ्दै गएको तडक–भडक नियन्त्रण र हिन्दु परम्पराको रक्षा गर्न समेत सहयोग पुग्दै आएको छ, चित्रकारले भनिन्, ‘जिल्लामा एक मात्र संस्कृत पाठ्यक्रम पढाई हुने विद्यालय हो यो । विद्यार्थीलाई धर्म र संस्कृतिका पाठहरू सिकाइन्छ ।’
उनले थपिन् ‘सैद्धान्तिक रुपमा मात्र नभई व्यावहारिक शिक्षा दिनको लागि पनि सामूहिक ब्रतबन्धले सहयोग गरेको छ । यसमा सबै पक्षको उत्तिकै साथ छ ।’
विद्यालयले सामूहिक रुपमा आयोजना गरेको ब्रतवन्धले अभिभावहरूलाई संस्कृतिको नाममा हुने खर्चको बोझ हटेको बटुकका अभिभावकले बताएका छन् ।
घरमा गर्दा खर्च धेरै लाग्ने र अनेकथरीको बन्दोबस्ती गर्नुपर्ने भएकाले सहज तरिकाले सामूहिक ब्रतबन्धमा सामेल भएको एक अभिभावकले बताए । ‘तत्कालको लागि छोराको ब्रतवन्ध घरमा नै गर्नलाई साइत नजुरेको कारण सामूहिक ब्रतवन्धमा सहभागी भएका हौँ,’ उनले भने । २०५५ सालमा स्थापना भएको यस विद्यालयमा कक्षा १० सम्म पढाइ हुँदै आएको छ । यस विद्यलायमा संस्कृत भाषामा पठनपाठन हुँदै आएको छ ।
No comments:
Post a Comment