समुन्द्रटार । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा रहेको घ्याङ्फेदी माध्यमिक विद्यालयका विद्यार्थीले घ्याङ्फेदी आविष्कार केन्द्रको स्थापना गरेका छन् ।
घ्याङ्फेदी माविका विद्यार्थीले विज्ञानको नवप्रवर्धन तथा नवन आविष्कारका लागि केन्द्रको स्थापना गरेको विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर स्याङ्ताङले बताए । उनको अनुसार यसअघि विद्यालयको समन्वय तथा विद्यार्थीको स्वःस्फूर्त रूपमा वैज्ञानिक आविष्कार हुँदै आएकाले विद्यालयमार्फत संस्थागत व्यवस्थापन गर्न केन्द्र स्थापना गरिएको हो । ‘वैज्ञानिक संस्कारको विकास गर्दै खोज तथा अनुसन्धानमा सक्रिय विद्यार्थीलाई प्रोत्साहन गर्न केन्द्र निर्माण गरिएको हो। उनले भने, ‘केन्द्रमार्फत नवप्रवद्र्धक विद्यार्थीलाई आवश्यक उपकरण, वैज्ञानिक जानकारी तथा परामर्श उपलब्ध गराइने छ ।’
विद्यालयका विद्यार्थीले आविष्कार गर्ने उपकरण तथा प्रविधिलाई समावेश गरेर छिट्टै विज्ञान प्रदर्शनी गर्ने योजना रहेको सहयोगी संस्था आधार डेभलपमेन्टका राष्ट्रिय निर्देशक प्रह्लाद ढकालले बताए । जिल्लामा गएको साता भएको माध्यमिक तह जिल्लास्तरीय विज्ञान प्रदर्शनीमा उक्त विद्यालय तेस्रो भएको थियो। बाढी आउँदा र भूकम्प जाँदा पूर्वजानकारी दिने उपकरण बनाएर तेस्रो भएका विद्यार्थीले स्थानीय स्रोत र साधनको उपभोग, स्थानीय क्षेत्रका लागि आवश्यक थप एक दर्जन उपकरण आविष्कार गरिरहेकाले पालिकाको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने गाँउपालिका अध्यक्ष शंकर थापाले प्रतिबद्धता जनाए ।
घ्याङ्फेदी विद्यालयमा दश जोड दुईतर्फ विज्ञान संकाय र माध्यमिक तहका ९ र १० कक्षामा कानुन विषय पढाउन आधार डेभलपमेन्टले आर्थिक र प्राविधिक सहयोग पु-याउँदै आएको छ ।
No comments:
Post a Comment