Monday, January 23, 2023

रसुवाको थुमनमा पहिलोपटक बस

विदुर । भौगोलिक हिसाबले विकट उत्तरी रसुवाको थुमनमा पहिलोपटक गएको हप्ता बस सेवा सञ्चालनमा आएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं. १ को पहलमा नमस्ते पासाङ्ल्हामु यातायात प्रालिले संघीय राजधानी काठमाडौँको गोङ्गबुदेखि रसुवा जिल्लाको थुमनसम्म करिब १५० किलोमिटर दूरीमा शनिबार नियमित बस सेवा सुरु गरेको हो ।

गएको शनिबार बिहान ६ बजे काठमाडौँबाट छुटेको बस अपराह्न ३ बजे थुमन पुगेको थियो । बस सेवा सञ्चालनले थुमन गाउँका चार सयभन्दा बढी घरपरिवार र हिमाली दृश्यावलोकनका लागि नाकथली पुग्ने सयौँ पर्यटकलाई यातायातको सुविधा पुगेको छ । ना ३ ख ८९८४ नम्वरको डिलक्स बस गुडाइ पहिलोपटक थुमन प्रवेश गर्ने चालक मुस्कान मगरलगायत बसका कर्मचारीलाई स्थानीय लामागुरु समेतका समूहले खादा लगाई भव्य स्वागत गरेका थिए । 

चालक मगरले भने चार–पाँचवटा मोडबाहेक रसुवागढी राजमार्गको रोङ्गाबाट–थुमनसम्मको सडक राम्रो भएको पाइएको र लामागुरुको आशीर्वाद र स्थानीयवासीको स्वागतले सबै बस चालक थुमन जान उत्साहित बनाएको चालक मगरले बताए । 

बस सेवा सञ्चालन गर्ने क्षमताको सडक सुधार भएसँगै सहजरूपले एम्बुलेन्स गुडाउन, खाद्यान्न ढुवानी गराउन, गाउँवासीका सवारीसाधन घरगाउँमै पु¥याउन सहज भएको गोसाइँकुण्ड–१ का वडाध्यक्ष उर्केनछिरिङ तामाङले बताएका छन् । यातायातको साधनद्वारा थुमनवासीलाई नियमित यात्रा गर्न सहज भएको छ । 

स्थानीय वडा पदाधिकारी र बस व्यवसायीबीचको सहमतिबाट प्रतिव्यक्ति एक हजार दुई सय भाडा निर्धारण गरिएको बताउँदै नमस्ते पासाङल्हामु यातायात प्रालिका अध्यक्ष एवं प्रबन्ध निर्देशक रामहरि श्रेष्ठले सडकमार्गमा काबुभन्दा बाहिरको अवस्थाबाहेक थुमनमा बाह्रै महिना बस सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । 

तीस वर्ष अगाडिदेखि सञ्चालनमा आएको पुरानो र भरपर्दो विश्वासिलो एकमात्र उक्त यातायात समितिले रसुवा, नुवाकोट र धादिङका विकट गाउँमा बस सेवा सञ्चालन गरी आमयात्रुको मन जित्न सफल भएको छ । हाल नमस्ते पासाङल्हामु यातायातले तीन जिल्लाका आधार इलाकामा दुई सयभन्दा बढी बस सार्वजनिक यातायातका लागि सञ्चालन गरिरहेको जनाइएको छ ।

नियमित बस सेवा सञ्चालन भएपछि सोमबारबाट थुमनका किसानले आफ्ना बारीमा उत्पादित हिउँदे तरकारी बिक्रीका लागि काठमाडौँका बजारमा पु¥याउन सजिलो भएको स्थानीय बासिन्दाले बताएका छन् । नेपालकी चेली भृकुटी र तिब्बतका राजा श्रङ्चङ् गोम्बो बीच विवाह हुँदा थुमन क्षेत्र हुँदै भृकुटी तिब्बतै गएकी इतिहासमा उल्लेख गरिइएको छ ।

No comments:

Post a Comment