विदुर । २०५३ सालमा विदुरमा स्थापना भएको विदुर कल्याणकारी बहुमुखी सहकारी संथा लिमिटेडले शनिवार रजत जयन्ती मनाएको छ । सहकारीको २५ औं बार्षिक साधारण सभा तथा रजतजयन्तीको अवसरमा सहकारीले संस्थापक अध्यक्ष पुर्णलाल श्रेष्ठलाई सम्मान गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले सहकारीको तर्फबाट उत्कृष्ठ बचतकर्ता सुमन श्रेष्ठ र सहकारीका उत्कृष्ठ कर्मचारी अनिता सिलवाललाई समेत सम्मान गरे । कार्यक्रममा बोल्दै मेयर श्रेष्ठले सहकारीहरूको विकास र नागरवासीले सहकारीमा राखेको पैसाको सुरक्षा गर्ने जिम्मा आफ्नो भएको बताएका छन् । आर्थिक संकटमा गुज्रिरहेका सहकारीहरूलाई टेवा दिनुका साथै आवश्यक अनुगमन र रेखदेखाका लागि नगरपालिकाले विशेष भुमिका खेल्ने उनले बताएका हुन् ।
जिल्ला सहकारी संघ लिमिटेड नुवाकोटका अध्यक्ष गोकर्णनाथ न्यौपानेले सहकारीहरूले आफ्नो पहिचान र विशेषतामा केन्द्रीत रहनुपर्ने बेला भएको बताएका छन् । विभिन्न उद्देश्यका साथ सहकारीहरू स्थापना हुने गरेपनि काम उही प्रकृतिको गर्ने गरेको उल्लेख गर्दै हरेक सहकारीले मौलिकता खोज्ने बेला भएको बताएका छन् । प्रारम्भिक सहकारीहरू हरेको क्षमता विकास र प्रविधिसंग सहकारीलाई जोड्दै बढी भन्दा बढी सेवा आफ्ना शेयर सदस्यसम्म पु¥याउन प्रत्येक सहकारीलाई सक्षम बनाउने जिल्ला सहकारी संघको योजना रहेको न्यौपानेले बताएका छन् ।
होटल तथा पर्यटन ब्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष सन्तोष उप्रेतीले २५ वर्ष अघि विदुरको समग्र विकास र आर्थिक योगदानका लागि स्थापना भएको उक्त सहकारीले त्यस क्षेत्रको आर्थिक नेर्ततव गर्ने बेला अब भएको बताएका छन् । विदुरको रैथानेहरू शेयर सदस्य रहेको विदुर कल्याणकारी सहकारीलाई अब सामाजिक गतिविधिको नेतृत्व गर्ने थलोको रुपमा समेत विकास गर्नुपर्ने उपाध्यक्ष उप्रेतीको भनाई रहेको छ ।
नेपाल पत्रकार महसंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले उक्त सहकारीले विदुर नगरपालिका भित्रको पनि विदुरकै प्रतिनिधित्व गर्ने गरी आफुलाई प्रस्तुत गर्नेपर्ने बताएका छन् । आसपासका अन्य सहकारीलाई गाभेर विदुरमा सोही सहकारीको नेतृत्वमा एकीकृत सेवा दिनुपर्ने सुझाव छ ।
सहकारीको २५ औं बार्षिक साधारण सभामा सहकारीका पुर्व अध्यक्ष पुर्णलाल श्रेष्ठ, नुवाकोट उद्योग बाणिज्य संघका द्धितिय उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, विदुर–४ का पुर्व वडा सदस्य बसन्त रिजाल, आइएमई इन्स्योरेन्सका नुवाकोट प्रमुख सीताराम पौडेल लगायतले शुभकामना मन्तब्य ब्यक्त गरे । साधारण सभामा सहकारीका अध्यक्ष अमित गजुरेलको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष बसन्त रिजालको आर्थिक प्रतिवेदन र लेखा तथा सुपरिवेक्षण समितिका संयोजक टेकबहादुर अधिकारीको प्रतिवेदन प्रस्तुत भएको छ ।
No comments:
Post a Comment