Monday, January 09, 2023

२०७९ साल पुस २५ गतेको सम्पादकीय

अन्तराष्ट्रिय पर्व : सोनाम ल्होछार

तामाङहरू सामान्यतया नुवाकोट, रसुवा, धादिङ, मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, रामेछाप र सिन्धुली जिल्लामा बसोबास गर्दै आएका छन् । यी बाहेक, काठमाडौं, ललितपुर र भक्तपुरसहित देशका अरु विभिन्न जिल्लाहरूमा पनि भेट्न सकिन्छ । तामाङ जातिहरू नेपालमा मात्र नभई विश्वका धेरै देशहरूमा पनि बसोबास गरेको पाइन्छ, केही भने पूर्वी भारत विशेष गरी दार्जलिङ, सिक्किम, मेघालय, आशाम, नागाल्याण्ड र गुहाटी, भुटान र वर्मामा बसाइँ सरेका छन् । यी बाहेक तिब्बत, सिंगापुर, मलेसिया, म्यानमार, थाइल्यान्ड, बेलायत, अमेरिका, बेलायत, अष्ट्रेलिया, जापानलगायत युरोपका विभिन्न देशहरूमा पनि भेट्न सकिन्छ । तामाङ जातिहरूले नयाँ वर्षको रुपमा सोनाम ल्होछार मनाउने गर्दछन् जुन हरेक वर्ष विक्रम सम्बत् अनुसार माघ महिनाको शुक्ल प्रतिपदाको दिनमा पर्दछ । यसपटक माघ ८ गते परेको छ । ल्होछारको शाब्दिक अर्थ हेर्ने हो भने ल्हो भन्नाले ‘वर्ष’ अनि ‘छार/सार’ भन्नाले ‘नयाँ’ भन्ने जनाउँछ । यसको अर्थले नयाँ वर्षको आरम्भ भयो भन्ने बुझाउँछ । यो पर्व तामाङ जातिले मात्र नभई विभिन्न समुदायले मनाउने गरेको पाईन्छ । तामाङ समुदायमा १२ वटा विभिन्न पशु–पन्छीको प्रतिकसँग वर्ष गन्ने चलन छ । यो मुसाबाट सुरु हुन्छ र सुंगुरमा समाप्त हुन्छ । मुसा(जिवा), गाई(लङ), बाघ(च्यान/तक), खरायो(हे/कुरी), ड्रागन/मेघ(डुक), सर्प(डुल), घोडा(ता), भेडा(लुक), बाँदर(टे), कुखुरा/चरा (च्या/ज्या), कुकुर (खि/नगि) र सुँगुर(ड्वा/फक) गरी १२ वर्गमा सोनाम ल्होछारलाई विभाजन गरिएको छ ।

नेपालमा ल्होछार मनाउने प्रचलन चीन तथा चीन प्रशासित राज्यबाट भित्रिएको मानिन्छ, किनभने चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई बिभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । त्यसो त तामाङ समूदायले चिनीयाँ पात्रोभन्दा बेग्लै अनि मौलिक आफ्नै पात्रोको प्रयोग गर्ने गर्दछन् जसलाई ‘चन्द्र पात्रो’ भनिन्छ । बौद्ध धर्म अनुसार तामाङ जाती महायान सम्प्रदायका हुन् । तामाङहरूका अलवा ल्होछार पर्व शेर्पा, गुरुङ, मगर, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा र लेप्चा लगायतका जातीले मनाउँदछन् । गुरुङले मनाउने ल्होछारलाई तोला ल्होछार, तामाङ लगायतका जातिले मनाउनेलाई सोनाम ल्होछार, शेर्पा र भोटे जाती लगायतले मनाउने ल्होछारलाई ग्याल्पो ल्होछार भनिन्छ । सोनाम ल्होछार पर्व तामाङ जातीहरू पुगेका नेपाल सहितका अन्य मुलुकहरू सिङ्गापुर, मङ्गोलिया, मलेसिया, भारत, थाइल्यान्ड, भियतनाम, भुटान, लाओस, म्यान्मार, जापान लगायतका देशमा मनाइदै आएको छ । यी देशहरूका अधिकांश वौद्धविहारहरू रगिंन र उल्लासमय हुन्छन्, रंगीन सजावटका ध्वजा पताका अनि पुष्पद्वारलगायत अन्य मनमोहक सजावटले वौद्धविहार बडो गज्जब देखिन्छ । मुख्यतया डाँडाकाँडामा भएका नेपाली वौद्धविहारहरूमा गरिएको यस्तो सजावटले परैबाट आँखा तान्दछ, असिम आनन्दको अनुभुती हुन्छ ।

तामाङ समुदायमा विभिन्न चाडपर्वहरू मनाउने गरेको पाईन्छ । ती मध्ये ल्होछार, परिचित र विशेष चाड पनि हो । मानिसहरू गुम्बा, स्तूपा र चैत्यहरूमा जान्छन् र त्यहाँ धार्मिक अनुष्ठानहरू गर्छन् । ल्होछारको पहिलो दिन मानिसहरूले पिठोले १२ वटा जनावरको (१२ ल्हो) आकृति बनाउँछन् । यो पर्व १५ दिनसम्म मनाइन्छ। आफन्त र प्रियजनहरूबीच खापसे, आलुमबाट बनेको परम्परागत परिकार आदानप्रदान गरिन्छ । परिवारका मूलीले टीका (सेतो टिका अर्थात् अक्षता र दही मिसाएर बनाएको) लागाएर आशिर्वाद दिने गर्छन् । यसको साथै को–को मेहन्दोको तामाङ संस्कृति र संस्कारमा खुबै प्रयोग गरिन्छ, जुन एकदमै शुद्ध र पवित्र मानिन्छ । शुभ–अवसरहरू जस्तैः विवाह, छेवर, ल्होछार आदिमा को–को मेहेन्दोको टिका लगाउने चलन छ । अहिले यसलाई तामाङ पहिचानको प्रतिकको रुपमा लिने गरिन्छ । यो विशेष दिन आफ्नो संस्कृति अनुसारको भेष–भुषामा मानिसहरू सजिन्छन । पहिरनमा खेन्गा, आङ्ग्रे, लुङगी, कुलागी/तागी लगाउछन् भने सांस्कृतिक गरगहनामा जन्तर, जुन आदि लगाउने गर्छन् अनि तामाङ सेलो गाउँदै डम्फूको तालमा नाच्दै रमाइलो गरेर एकअर्कामा सद्भाव, माया र खुसी साटसाट गर्दछन् । तामाङ समाजलाई निरन्तर जीवन्त र गतिशील राख्न तामाङमा छ प्रकारका प्रमुखहरू हुन्छन् : ताम्बा, गान्बा, बोन्बो, लबोम्बो, लामा र चोहो । समाजका प्रमुखहरू आफ्नो योग्यता र क्षमताले सशक्त हुन्छन् । समाजको विकासमा उनीहरूको आ–आफ्नो र महत्वपूर्ण भूमिका हुन्छ । सांस्कृतिक पक्षको हेरचाह गर्ने र विवाह समारोहहरूका लागि ताम्बाको महत्त्वपूर्ण भूमिका छ । गान्बा सबै प्रकारका सामाजिक, राजनीतिक र धार्मिक गतिविधिहरूमा सहभागी हुन्छन् । उनले ताम्बा, बोन्बो, लामा, लबोम्बो, चोहो आदिले आफ्नो संस्कार र क्षमताले पूरा गरे वा गरेनन् भन्ने लगायतका समाजका विभिन्न गतिविधिहरू अवलोकन गर्छन् र गतिविधिहरूको मूल्याङ्कन गरी सुझाब दिन्छन् । बोन्बोले स्थानीय देवी–देवताहरूलाई प्रोत्साहन गर्दछन् र गाउँमा बिरामी र खाँचोमा परेकाहरूलाई उपचार प्रदान गरेर सहयोग गर्दछ । लबोम्बो (लप्तबा) ले कुल देवताहरूको पूजा गरेर वंश र वंशको इतिहासलाई जीवित राख्ने गर्दछन् । 

नेपाल जसरी प्राकृतिक विविधताले धनी छ, सांस्कृतिक विविधताले पनि उत्तिकै धनी मुलुक हो । सांस्कृतिक विविधताबीच पृथक/मौलिक सांस्कृतिक पहिचान भएको प्रमुख समुदाय तामाङ समुदाय पनि हो । भौगोलिक क्षेत्रफलले सानो मुलुकमा रहेको प्राकृतिक विविधतासँगै सांस्कृतिक विविधतालाई पनि संरक्षण, प्रवर्द्धन र विकास गर्न सके नेपाललाई सांस्कृतिक विविधताको अध्ययन केन्द्र र पर्यटकीय गन्तव्य बनाउन थप मद्दत पुग्ने देखिन्छ । सोनाम ल्होछारको शुभकामना ! 

No comments:

Post a Comment