Monday, January 23, 2023

चिसोले जिल्लामा पर्यटक घटे

रसुवा । चिसोपन बढेसँगै रसुवा जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक आउने संख्या घटेको छ । गोसाइँकुण्डको तीर्थलगायत लाङ्टाङ र तामाङ सम्पदा मार्गका उच्च क्षेत्रमा अत्यधिक चिसोका कारण पर्यटक जाने दर घटेको हो । 

रातीको समयमा परेको शीत बिहानसम्ममा पूरै बरफमा परिणत हुने भएकाले आगामी फागुन १५ सम्म होशियारपूर्वक यात्रा गर्नपर्ने स्थानीयवासीले जनाएका छन् । अहिले गोसाइँकुण्डको पानीसमेत जमेर बरफमा परिणत भइसकेकाले यस याममातीर्थको महत्वभन्दा सेताम्मे हिमशृङ्खला अवलोकन गर्न थोरबहुत यात्रुमात्र भ्रमणमा आउने गरेको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष रामशरण गजुरेलले बताए ।

हिमाली पदयात्राका लागि लागि आएका पर्यटकले उत्तरी रसुवाअन्तर्गत उच्चभागमा रहेको गोसाइँकुण्ड, लाङटाङ क्षेत्र एवं तामाङ सम्पदामार्गको ग्रामीण बस्तीसमेतका क्षेत्रमा भ्रमण गर्ने गरेको उनले जानकारी दिए । पर्यटकको आगमन कमी भएकाले सबै व्यवसायीले आ–आफ्ना होटल तथा लज सुदृढीकरण गर्न थालेका छन् । होटल तथा लजको रङरोगन गराउने र सिरक तथा डस्ना मर्मत एवं नयाँ खरिद एवं ढुवानी गर्ने कार्य भइरहेको बताइएको छ ।

विगतको तुलनामा यस वर्षको सुरुवाती समयबाटै होटल तथा लज चलायमान भइसकेका र दोस्रो याम अर्थात फागुन १५देखि बढी पर्यटकको आगमन हुने यहाँका व्यवसायीको आँकलन छ । लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी मिलन सापकोटाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि यही पुस मसान्तसम्म आन्तरिक १२ हजार ५३०, सार्क राष्ट्रका २४५, अमेरिका, जर्मन, जापान, अष्ट्रेलिया लगायत देशबाट आएका चार हजार ५५२ विदेशी पर्यटकले निकुञ्जको पर्यटकीय क्षेत्र भ्रमण गरेको तथ्याङ्क छ ।

No comments:

Post a Comment