Monday, January 02, 2023

कुण्डला–घलेभञ्ज्याङ सडक कालोपत्रे सुरु


पञ्चकन्या । नुवाकोटको तीन वटा गाउँपालिकालाई काठमाडैंसंग सिधा जोड्ने शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर सडकको कुण्डला–घलेभञ्ज्याङ खण्डमा कालोपत्रे सुरु भएको छ । पञ्चकन्या गाउँपालिका वडा नम्बर ५ र ३ मा पर्ने उक्त सडक खण्डमा फराकिलो पार्ने, आवश्यक ठाउँमा पर्खाल लगाउने, नाली बनाउनेलगायत काम तीव्रता सुरु भएको छ । उक्त सडकलाई १० मिटर चौडा पारिँदै छ । चालु आर्थिक वर्षमा ७ किलोमिटर दूरी रहेको कुण्डला–घलेभन्ज्याङ सडक ग्राभेल गरिसक्ने लक्ष्य छ । निर्माणको जिम्मा पाएको जलुकुनी जेभी कम्पनीका सञ्चालक सुशील फुयाँलले १० मिटरको सडकमा साढे ७ मिटर कालोपत्रे र बाँकी भाग ढलान गरिने बताएका छन् । उनका अनुसार त्यसभित्र ९ सय मिटर ढलान र ६१ सय मिटर कालोपत्रे हुनेछ । सडक निर्माणमा अहिले १७६ मजदुर, ११ टिपर तथा ९ वटा एक्स्काभेटर खटाइएको छ । 

संघ सरकारले छुट्याएको ४० करोड रुपैयाँमा प्राविधिक स्टिमेटबमोजिम १५ किलोमिटर सडक कालोपत्रे हुनेछ । जसमा मध्यपहाडी लोकमार्गको कुण्डला माध्यमिक विद्यालय भद्रुटारलाई जिरो विन्दु मानिएको छ । जलुकुनी जेभीले यो सडक २५ करोड ५१ लाख रुपैयाँमा तीन वर्षे म्यादसहित ८ किलोमिटर बनाउने गरी ७८ जेठ २४ गते सडक डिभिजन कार्यालय नुवाकोटसँग सम्झौता गरेको हो । 

एउटा निर्वाचन क्षेत्रमा एउटा रणनीतिक सडक बनाउने २०७६÷०७७ मा नेपाल सरकारले निर्णय गरेको थियो । निर्वाचन क्षेत्र रणनीतिक सडक २०७६ सालमै ७७ जिल्ला १६५ निर्वाचन क्षेत्रबाट प्रत्यक्ष तर्फबाट निर्वाचित सांसदहरूको सिफारिसमा १ निर्वाचन क्षेत्रमा १÷१ वटा सिफारिस गर्ने नीतिअनुसार सबै सांसदहरूले सिफारिस गरेका थिए । सिफारिस शीर्षकहरू २०७७ को रातो किताबमा उल्लेख भएर आएको थियो । 

नेकपा माओवादी केन्द्रबाट नुवाकोट क्षेत्र नम्बर १ मा निर्वाचित संघीय सांसद हितबहादुर तामाङको सिफारिसअनुसार ‘शिवपुरी–पञ्चकन्या–दुप्चेश्वर’ सडकको विस्तृत प्राविधिक सर्भेपछि २०७८ को रातो किताब प्रत्येकमा बजेट व्यवस्था भएर आएपछि अहिले निर्माण कार्य अघि बढिरहेको छ । ‘संसद्को अघिल्लो कार्यकालमा निर्माण सकाउने भन्ने थियो । 

तर, प्राविधिक स्टमेट तयार गर्ने प्रक्रियामै २०७६÷७७ सीमित भयो । त्यतिखेर १ करोड बजेट थियो । बजेटमै शीर्षक तोकिएपछि काम गर्दै जाने र नरोक्ने भन्ने रहेछ, त्यसपछि ०७७÷०७८ बजेट प¥यो,’ सांसद तामाङले भने,’ शिवपुरी गाउँपालिका वडा नम्बर ७ को ढालन घर, स्याल्पिङ खोल–शिवालय–कुण्डला–घलेभन्ज्याङ–कुलकुले–ठकुरीटोल–भ्याङ्ले–समुद्रटार नाममा बजेट उल्लेख भएपछि प्रावधिक स्टिमेट गर्न गए, ४० करोड बजेटमा निर्माण भइरहेको छ ।’

सांसद तामाङले भने, ’दुप्चेश्वर गाउँपलिकाको उत्तर पूर्वीक्षेत्र जनसमुदायलाई काठमाडौंमा छोटो दूरीबाट कसरी जोड्ने भन्ने उद्देश्य थियो । शिवपुरी सुनखानीबाट खन्दा १५ किमि घलेभञ्जाङसम्म मात्रै हुने भयो । विकट गाउँका समुदायलाई काठमाडौंमा जोड्ने भएको उद्देश्य भएकोले प्रावधिकहरूको सल्लाहअनुसार मध्यपहाडी राजमार्गलाई जिरो विन्दु मानेर कुण्डला माविबाट ठकुरीटोलसम्मको डीपीआर (परियोजना विस्तृत प्रतिवेदन) तयार भयो ।’ 

काठमाडौंतर्फ स्तरोन्नतिका लागि छुट्न गएको उक्त सडक खण्डको सुनखानी ढलानघर–स्याल्पिङखोला–बरभन्ज्याङ र शिवालयसम्मका लागि आउँदो बजेटमा रकम विनियोजन गर्ने सम्बन्धित निकायले आश्वासन दिएको पनि सांसद तामाङले बताए । ‘सडक विभाग र मन्त्रालयमा कुरा गर्दा जुन विन्दुबाट सुरु गरेको हो । छुट्न गएको खण्डमा डीपीआर तयार भइसकेको छ, आउने वर्षमा बजेट व्यवस्था गर्ने डिजी र सचिवले भन्नुभयो,’ उनले भने ।

सडक कालोपत्रे हुन लागेपछि स्थानीय उत्साहित बनेका छन् । तर, अन्यत्र जस्तो पिच गरेको केही महिनामै क्षतविक्षत हुने पो कि भन्ने उनीहरूमा संशय छ । स्थानीय रघुवीर तामाङ भन्छन्, ‘सडक कालोपत्रका लागि काम त भइरहेको छ । कहाँ मापदण्ड पुग्यो कि पुगेन । गुणस्तरीय काम भइरहेको छ कि छ नै भनेर सञ्चारकर्मीलगायत सबैले खबरदारी गरिदिनु प¥यो ।’ तर सोही क्षेत्रबाट दोस्रो कार्यकालका लागि निर्वाचित प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री तामाङले सडक गुणस्तरीय कालोपत्रे हुने विश्वास व्यक्त गरेका छन् । 

निर्माण कम्पनीका फुँयालले पनि सडकको गुणस्तरीयतामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता जनाएका छन् । ‘मैले डबल लेनको लोकसञ्चार मार्ग बनाएको छु, त्यहाँ गएर हेर्दा पनि हुन्छ । हाम्रो दुवै कम्पनी ‘ए’ क्लासको हो । यो सडक पनि क्वालिटीमा कम्प्रमाइज्ड हुँदैन,’ फुँयालले भने । उनले सम्झौता अवधिभन्दा १ वर्ष अगावै हस्तान्तरण गरिने लक्ष्य रहेको सुनाए । 

चालु आर्थिक वर्षमा घलेभन्ज्याङसम्म नाली बनाउने, ग्राभेलसम्म सकाउने, समय र मौसमले साथ दिएमा अर्को आर्थिक वर्षको असोज, कात्तिकमा पिच गर्ने योजना रहेको उनको भनाइ छ । उनका अनुसार सडक निर्माणमा पञ्चकन्या गाउँपालिका र स्थानीय सहयोगको सहयोग रहेको छ । पिचमात्रै गर्न करिब १ महिनाको समय लाग्नेछ । अहिले सडक संरचना निर्माणको प्रगति ४० प्रतिशत रहेको उनले बताएका छन् । 

No comments:

Post a Comment