विदुर । गएको आइतवार प्रेस सेन्टर नेपालको १९ औँ स्थापना दिवस तथा वार्षिकोत्सवको अवसरमा नुवाकोटमा अन्तरक्रिया कार्यक्रम भएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछानेले स्थापना कालदेखि नै प्रेस सेन्टरले पछाडि पारिएका वर्ग र श्रमजीवि पत्रकारको मुद्दालाई सदैव प्रमुखताका साथ उठाउँदै आएको बताएका छन् । निकै चुनौतीपूर्ण समयमा संगठन स्थापना भएको उल्लेख गर्दै उनले एक हातमा वम र एक हातमा कलम लिएर जानुपर्ने अवस्थामा पनि क्रान्तिकारी पत्रकारहरूले शोषित पीडित जनताको मुद्दालाई सदैव प्रधानताका साथ अगाडि बढाएको बताए ।
शाहीकालमा मूलधारका भनिएका मिडियाहरू राज्यसत्ताको प्रत्यक्ष नियन्त्रणमा सञ्चालन हुनुपर्ने अवस्थामा क्रान्तिकारी पत्रकारहरूले जनताको आवाज बुलन्द बनाएको लामिछानेले स्मरण गरे । वर्गसंघर्षको रूप फेरिएको उल्लेख गदै उनले अहिलेको अवस्थामा झन् चनाखो बन्नुपर्ने आवश्यकता औँल्याएका छन् । परिवेश र संघर्षको स्वरुप बदलिएको उल्लेख गर्दै उनले क्रान्तिकारी पत्रकारहरूको लक्ष्य भने नबदलिएको बताए । क्रान्तिकारी पत्रकारहरूले जनतासंग जोडिने, आलोचनात्मक र रचनात्मक चेतका साथ जनतातर्फ फर्केर कलम चलाइरहनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य ध्रुबकुमार रावलले संगठन स्थापना हुँदाको लक्ष्य अहिले हेर्दा पनि नछाडेको उल्लेख गर्दै हिजोको तुलनामा आज अझ भूमिका बढाउनुपर्ने स्थिति आएको बताएका छन् । बदलिएको परिस्थितिमा पनि शोषित पीडित जनताको पक्षमा निरन्तर उभिन प्रेस सेन्टरमा आवद्ध पत्रकारहरूलाई उनले सुझाव दिएका छन् । त्यस्तै, श्रमजीवि पत्रकारको समस्या बढेको भन्दै साना लगानीका मिडिया र श्रमजीविको समस्या समाधानमा थप सशक्त बन्न समेत उनले आग्रह गरे ।
प्रेस सेन्टरका केन्द्रीय सदस्य बद्री प्याकुरेलले संगठनको स्थापनाको १९ वर्षमै संगठन हस्तक्षेपकारी भूमिकामा पुगेको उल्लेख गर्दै आगामी दिनमा थप सक्रिय हुनुपर्ने बताएका छन् । सामान्य रुपमा स्थापना भएको संगठन अहिले निकै विशाल भएको उल्लेख गर्दै उनले सोही अनुसार चुनौती पनि बढेको उल्लेख गरे । तर, आफूहरू अविचलित रूपमा आफ्नो लक्ष्यमा अडिग रहने उनको भनाइ छ ।
नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले प्रेस सेन्टरले श्रमजीवीको पक्षमा आफूलाई सतिसाल जस्तै उभ्याइरहेको उल्लेख गर्दै धन्यवाद ज्ञापन गरे । उनले प्रेस सेन्टरले छोटो समयमा ठूलो उपलब्धी हासिल गरेको भन्दै यसमा योगदान दिनेहरूलाई बधाई दिएका छन् । प्रेस सेन्टरको बागमती प्रदेश उपाध्यक्ष समेत रहेका खनालले संस्थाको स्थापनाको १९ औँ वर्षमा संगठन सुदृढ भएको र थप सुदृढ बनाउनुपर्ने विचार व्यक्त गरे । संगठनले उठाएका मुद्दा थप मजबुत बनाउन लागिरहनुपर्ने उनको भनाइ छ ।
अन्तरक्रिया कार्यक्रममा प्रेस युनियन नुवाकोट शाखा अध्यक्ष नवराज सुवेदीले जनपक्षिय पत्रकारहरूको छाता संस्था प्रेस सेन्टरले नागरिकको पक्षमा अझ सक्रियताका साथ पत्रकारिता गर्नुपर्ने बताएका छन् । उनले नुवाकोटमै पनि प्रेस सेन्टरले संगठनात्मक रुपमा आफुलाई गरेको विकासले सकारात्मक र गुणात्मक पत्रकारिता हुनेमा विश्वास व्यक्त गरेका छन् ।
प्रेस चौतारी नेपाल नुवाकोट अध्यक्ष नवदीप श्रेष्ठले युद्धकालिन बेलामा स्थापना भएको प्रेस सेन्टर अहिलेको अवस्थासम्म आइपुग्दाको आरोह अवरोह साच्चिकै लोभ लाग्दो रहेको बताए । पत्रकारहरूलाई पेशामै टिकाइराख्न, पेशालाई थप मर्यादित पार्नका लागि प्रेस सेन्टरले नुवाकोटमा खास भुमिका खेल्न सक्ने उल्लेख गर्दै सहकार्य र समन्वयको पक्षबाट प्रेस सेन्टरले नेतृत्वदायी भुमिका खेल्ने उनले विश्वास ब्यक्त गरेका छन् ।
प्रेस सेन्टर नेपाल नुवाकोटका अध्यक्ष रामहरि गजुरेलले संगठनको १९औँ स्थापना दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरे । कृष्ण सेन ’इच्छुक’लगायत महान शहीद र मिलन नेपालीलगायत बेपत्ता योद्धाहरूले देखाएको बाटोमा आफूहरू अविचलित रूपमा लागिरहने दृढता उनले व्यक्त गरे । उनले माघ १ गते पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनामा परी निधन भएका प्रेस सेन्टरका केन्द्रीय उपाध्यक्ष तथा गण्डकी प्रदेश इन्चार्ज त्रिभुवन पौडेल र पोखरा महानगर कमिटी सदस्य अनिल शाहीलाई स्मरण गर्दै उनीहरूप्रति सम्मान व्यक्त गरेका छन् ।
No comments:
Post a Comment