![]() |
जोनी जेकेले प्राप्त गरेको अंगीकृत नागरिकताको प्रमाण पत्र |
विदुर । नुवाकोटमा जन्मिएका जोनी जेकेले २५ वर्षको प्रयासपछि ४२ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् ।
नेपाली आमा र भारतिय बुबाबाट नुवाकोटमा जन्मिएका जोनी जेकेले नेपाली नागरिकताको प्रमाणपत्र लिनका लागि २५ वर्षदेखि प्रयास गर्दै आएका थिए । उनले नागरिकता प्राप्त गर्न नसकेका कारण उनका सन्तानले समेत नेपाली नागरिकताको प्रमाण पत्र पाउन सकेका थिएनन् ।
विदुर नगरपालिका–५ गँगटे स्थायी घर भएका जोनीले गत महिना जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अंगीकृत नागरिकताको प्रमाणपत्र लिएका हुन् । जोनीको जन्म नुवाकोटमै भएको हो भने उनकी आमा पनि नेपाली नै हुन् । जोनीले अंगीकृत नागरिकता प्राप्त गरेसँगै छोरा र छोरीका लागि पनि नागरिकता लिने बाटो खुलेको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटले बुधवार एक सूचना जारी गर्दै जेकेको छोरीलाई नागरिकता प्रदान गर्न लागिएकोले कुनै उजुरी वा गुनासो भए कार्यालयमा सात दिन भित्र आउन सूचित गरेको छ । एसईई परीक्षा उत्रिण गरिसकेका जोनीका छोरी जीना जेकेलाई अंगीकृत नागरिकता दिने गरी जिल्ला प्रशासन कार्यालय नुवाकोटले प्रक्रिया सुरु गरेको छ । उनको छोरीले मंगलवार नागरिकता पाउने छन् ।
उमेर ४२ वर्षको भइसकेका जोनीले २५ वर्षदेखि नागरिकताको प्रक्रिया सुरु गरेर पनि प्राप्त गर्न सकेका थिएनन् । उनले नागरिकताको प्रमाणपत्र प्राप्त नहुँदा थुप्रै तनाव व्यहोर्नुपरेको थियो । त्यसभन्दा ठूलो तनाव त जोनीले नागरिकता प्राप्त गर्न विभिन्न निकायमा धाउँदा पाएका थिए । उनले आफूले नागरिकता माग गरेको २५ वर्षपछि नागरिकता प्राप्त गर्दा खुसी व्यक्त गरे ।
No comments:
Post a Comment