Monday, February 20, 2023

स्ट्रबेरी खेतीबाट वार्षिक ६ करोड

ककनीको स्ट्रबेरी खेती

कृष्ण थापा

नुवाकोट । ककनी गाउँपालिका २ तमभित्ताकी ३६ वर्षीया सूर्जेमाया तामाङको दिनचर्या स्ट्रबेरीखेतीमै बित्ने गरेको छ । उनी अहिले स्ट्रबेरी टिप्ने र घरमाथि ककनी–चाउथे ग्रामीण सडक छेउमा बसेर स्थानीय ठेकेदारहरूलाई ग्रेडिङ (सानोठूलो) छुट्याएर स्ट्रबेरी जोखेर दिने गर्छिन् । 

‘एक दिन बिराएर स्ट्रबेरी टिपिन्छ,’ उनले भनिन्, ‘टिपेको स्ट्रबेरी गाउँमै लिन आउँछन् ।’ जति बिरुवा लगाउन सक्यो उति फाइदा हुने उनी बताउँछिन् । ‘१० देखि १५ हजार बिरुवा रोप्न सक्यो भने ९/१० लाख रुपैयाँ आम्दानी हुन्छ,’ उनले भनिन्, ‘तर ६–७ हजार बिरुवा रोपेमा ३ लाख रुपैयाँ आम्दानी बस्छ ।’ कात्तिक, मंसिर, पुस र माघ चार महिना स्ट्रबेरीले राम्रो उत्पादन दिने उनी बताउँछिन् । उनले ३ रोपनीमा ७ हजार बिरुवा लगाएकी छन् । पुरानो फलेको बिरुवा हटाएर यहाँका किसानले नयाँ बिरुवा भदौमा सार्छन् । भदौमा रोपेपछि कात्तिकबाट उक्त बिरुवाले फल दिन थाल्ने उनले बताइन् । ‘कोदो ४० रुपैयाँ प्रतिकिलो भाउ पनि आउँदैन,’ उनले भनिन्, ‘स्ट्रबेरी त साना फलकै किलोको डेढ सय आउँछ भने ठूलोको प्रतिकिलो ३–४ सय रुपैयाँसम्ममा बिक्री हुन्छ ।’ मकै र कोदोभन्दा स्ट्रबेरीले फाइदा भएपछि लगाउन छाडिदिएको उनले बताइन् ।

सूर्जेमायाका २ छोरी र १ छोरा छन् । उनी एकल महिला हुन् । उनको श्रीमान्को हृदयघातका कारण मृत्यु भएको ३ वर्ष भइसकेको छ । त्यसपछि स्ट्रबेरीकै कमाइले बच्चा पढाउने खर्च धानेकी छन् । दुई छोरी ककनीको ब्राइटार स्कुलमा पढाएकी छन् । ‘सानी छोरी आयुष्मा कक्षा १ मा पढ्छे । छोरो अमृत १२ कक्षामा पढ्दै छ । ठूली छोरी अमृता ९ कक्षा पढ्दै छे,’ उनले स्ट्रबेरी टिप्दै भनिन् । उनले ३/४ सय बिरुवाबाट यो खेती थालेकी हुन् । ‘त्यतिबेला डेढ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भनिन् । यहाँका किसानले नेहारा र तोची जातका स्ट्रबेरी लगाउने गरेको उनले बताइन् । उनका छिमेकी बलराम लामा २७ वर्षका युवा हुन् । उनले १० हजार बिरुवाको स्ट्रबेरीखेती गरेका छन् । एक दिन बिराएर ४०–४५ किलो स्ट्रबेरी उत्पादन गरेर बिक्री गर्छन् । ठेकेदारले ३ सय रुपैयाँ किलोका दरले गाउँबाट लैजान्छन् । ‘धान, मकै र कोदो एकमुरी बेच्दा पनि ३/४ हजार रुपैयाँ आउँदैन,’ उनले भने, ‘यो एक क्रेट बेच्दा ३/४ हजार आउँछ । फाइदा छ ।’

वैदेशिक रोजगारीभन्दा स्वदेशकै स्ट्रबेरीले कमाइ दिएको उनी बताउँछन् । ‘विदेशमा गए पनि दुःख गर्न‘पर्छ,’ उनले भने, ‘दुःख गर्दा यहीँ पैसा छ ।’ उनले पनि एक्लै यो खेतीबाट वार्षिक ५÷६ लाख रुपैयाँ कमाउने गरेको बताए । १४ सयदेखि १९ सय मिटर उचाइमा दक्षिणपूर्वी फर्किएको पाखोमा लगाए स्ट्रबेरी खेती फस्टाउने किसानहरूको अनुभव छ । गाउँकै स्थानीय ठेकेदारले गाउँमा फलाएका स्ट्रबेरी जम्मा गर्ने गरेका छन् । जम्मा गरेका स्ट्रबेरी ग्रेड छुट्याएर छुट्टै क्रेटमा राखिन्छ । ठूलो, मझौला र सानो गरी तीनथरि बनाएर जोखेपछि स्थानीय ठेकेदारले गाडीमा राखेर बजार पु¥याउँछन् । काउले, चित्रे र तमभित्तामा बढी तामाङ समुदायले अहिले यो खेती गर्छन् । स्ट्रबेरी खेतीलाई प्रोत्साहित गर्ने काम नभएको स्ट्रबेरी उठाउने स्थानीय ठेकेदार मेघबहादुर तामाङले बताए ।

उनले स्ट्रबेरी बेच्न थालेको ४/५ वर्ष भयो । यहाँ ३ सय रुपैयाँमा जोखेको स्ट्रबेरी बजारमा २ सय रुपैयाँमा पनि बिक्री भइरहेको उनी बताउँछन् । ‘ज्याला बस्छ, त्यति हो,’ मेघबहादुर तामाङले भने ।’ उनी मंसिरबाट चैतसम्म बिक्री गर्छन् । स्थानीय ठेकेदार र किसानको स्ट्रबेरी खेतीलाई पकेट वा जोन क्षेत्रको रुपमा विकास गर्न‘पर्ने माग छ । उत्पादित स्ट्रबेरी काठमाडौंको न्युरोड, कालीमाटी, पोखरा, नेपालगन्ज र भारतसम्म पुग्ने गरेको छ । सरकारले उत्पादित स्ट्रबेरीलाई बजारीकरण गर्ने र प्याकेजिङका लागि सहुलितपूर्ण यन्त्र खरिद गर्न र हवाई माध्यमबाट बाहिर निकासी गर्न सके किसान र बिक्रीकर्ताले राम्रो आम्दानी लिन सक्ने ठेकेदार मेघबहादुर र किसान बलराम तामाङले बताए ।

No comments:

Post a Comment