![]() |
प्रशारण लाइनको नक्साङ्कन |
बेलकोटगढी । बेलकोटगढी नगरपालिका–७ रातमाटेमा मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) को अनुदान सहयोगमा निर्माण गर्न लागिएको सवस्टेशनप्रति बेलकोटगढी नगरपालिकाले असन्तुष्टि जनाएको छ । वडा नं. ७ स्थित देवीघाट–गल्छी सडकखण्डबाट छ सय मिटरको दूरीमा पर्ने रातमाटेको चौबिसे भन्ने स्थानमा निर्माण गरिने सवस्टेशन र विस्तार गरिने प्रसारण प्रणालीले नगरपालिकालाई लाभभन्दा क्षति पुग्ने भन्दै बेलकोटगढीले असन्तुष्टि जनाएको हो ।
नगरप्रमुख जगतबहादुर गुरुङले सवस्टेशनको निर्माणले नगरको राजस्व संकलन, कृषि उब्जनीको उत्पादन, रोजगारीको अवसरलगायतमा नोक्सान पुग्ने भन्दै सवस्टेशन निर्माणसँगै नगरका लागि सहयोग कार्यक्रम आउनुपर्ने माग गरे । उनका अनुसार उक्त सवस्टेशन राख्न करिब चार सय रोपनी क्षेत्रफल जग्गा मिलेनियम च्यालेञ्ज एकाउन्ट (एमसिए) नेपालले खरिद गरेको छ । उक्त स्थानमा चारसय केभी क्षमताको ग्यास इन्सुलेटेड स्वीचगियर (जिआइएस) सवस्टेशन निर्माणका लागि अधिग्रहण गरिएको जग्गा अहिले खाली गर्न भनिएको छ । ‘राष्ट्रका लागि योगदान हुन्छ भनेर स्थानीय सरकारका तर्फबाट आवश्यक सहयोग पु-याउँदै आइरहेका छौं’, नगरप्रमुख गुरुङले भने, ‘यहाँका एक सय १४ घर परिवार बासिन्दा विस्थापित हुनुपर्ने, उनीहरूले सञ्चालन गर्दै आएको कृषि उब्जनीको उत्पादन घट्ने, उद्योग–कलकारखाना हटाउनुपर्दा रोजगारीको अवसर गुम्ने र त्यसबाट राजस्व संकलन घट्दछ । पूर्वाधार निर्माणले नगरपालिकालाई प्रतिफल केही नहुने हो भने सञ्चालनमा किन सहयोग गर्नुप-यो ?’
यसै बीच, एमसिसी कार्यक्रमअन्तर्गत प्राप्त हुने अनुदानमार्फत ऊर्जा र यातायात विकास कार्यक्रम सञ्चालन गरिने भएकाले उक्त दुवै कार्यक्रम एकै स्थानमा सञ्चालन हुनुपर्ने नगरउपप्रमुख शिवप्रसाद दाहालले बताए । ऊर्जा कार्यक्रमले निर्माण गरिने प्रसारण लाइनको निर्माण र सवस्टेशनले यहाँको बासिन्दालाई सयौं वर्षसम्म जोखिम पु-याउँछ । तर, यातायात विकासको लाभ लिन सकिने कार्यक्रम अन्यत्र लैजाँदा न्यायोचित नभएको उपप्रमुख दाहालको गुनासो छ । ऊर्जाको कार्यक्रममार्फत काठमाडौंको लप्सेफेदीबाट सुरु हुने प्रसारण लाइन नुवाकोटको रातमाटेसम्म आइपुग्ने र यहाँ निर्माण गरिने सवस्टेशनबाट एक लाइन हेटौंडामा सवस्टेशन निर्माण गरेर त्यहाँसम्म पु¥याइने छ । अर्को लाइन तनहुँ लगेर त्यहाँ निर्माण गरिने सवस्टेशन हुँदै बुटवलस्थित भारतको सीमासम्म पु-याइने उल्लेख छ ।
एमसीसीको अनुदान सहायताअन्तर्गत अमेरिकी सरकारले पाँच वर्षको अवधिमा ५० करोड डलर उपलब्ध गराउनेछ भने नेपाल सरकारको तर्फबाट १३ करोड डलर बराबरको रकम विनियोजन गर्न‘पर्ने भनिएको छ । कूल रकममध्ये प्रसारण लाइन र सवस्टेशन निर्माणमा ४० करोड डलर खर्च हुने छ ।
यातायात विकास कार्यक्रमअन्तर्गत कपिलवस्तुको चन्द्रौटादेखि लमहीहुँदै बाँके र दाङ जिल्लामा पर्ने शिवखोलासम्मको एकसय मिटर सडक स्तरोन्नतिसहितको कालोपत्रे गरिने भनिएको छ ।
ऊर्जाको कार्यक्रम सञ्चालन भएको स्थानमा नै यातायात विकास कार्यक्रम सञ्चालनको मागसहित प्रसारण लाइन र सवस्टेशनले पुग्ने नोक्सानलाई पुनःउत्थान गर्ने कार्यक्रम ल्याउन बेलकोटगढीले माग गरेको हो । हाल उक्त कार्यक्रमको सहायताअन्तर्गत सवस्टेशन निर्माणबाट प्रभावित हुने बासिन्दालाई कृषिअन्तर्गत उपलब्ध गराउन सुरु गरेको जीविकोपार्जन कार्यक्रमसमेत प्रभावहीन भएकाले संशोधन तथा परिमार्जन गर्नुपर्ने माग गरिएको छ ।
No comments:
Post a Comment