विदुर फुँयाल
श्रीमद्भागवत गीतामा सात सयवटा श्लोक छन् । र, सम्पूर्ण गरेर १८ वटा अध्याय छन् । यसमा अर्ज‘नको विषाद योगबाट सुरु भएर मोक्ष सन्यास योगसम्म समेटिएका छन् । यसमध्ये सुरुको एउटा श्लोकले भन्छ, गीता अध्ययन गर्ने र प्राणायामको अभ्यास गर्ने मान्छेको यो जन्म मात्र होइन, पूर्वजन्मको पनि पाप नष्ट हुन्छ भनिएको छ ।
यसमा विज्ञान र मनोविज्ञान दुवै छ । खासमा गीताले मान्छेलाई शारीरिक, मानसिक, आत्मिक र सामाजिक रुपमा स्वस्थ हुने मार्गदर्शन दिएको छ ।
श्रीमद्भागवत गीतालाई कतिले धर्मसँग जोड्ने गरेका छन्, कतिले सम्प्रदायसँग । तर यो जीवन दर्शनको एक सर्वोच्च ग्रन्थ हो । गीताले जीवन र जगतलाई बोध गराएर सही र सन्तुलित जीवन बाँच्नका लागि बाटो देखाइदिन्छ । गीताको रचना नै रणभूमिबाट भएको छ । कुरुक्षेत्र मैदानमा अर्जुन र कृष्णजीबीच भएको संवादबाट गीताको रचना भएको भनिन्छ । अतः यसको सुरुवात हुन्छ, अर्जुन विषाद युगबाट ।
यहाँ रणभूमिलाई आजको संसारको रुपमा चित्रण गर्न सकिन्छ । अनि अर्जुनमा जुन किसिमको विषाद देखिएको छ त्यसलाई आजको हाम्रो विचलित मनको प्रनिनिधि मनोदशा मान्न सकिन्छ । यो संसार नै एउटा कुरुक्षेत्र हो ।
यहाँ आएपछि माया, मोह, घृणा, इष्र्या सबैकुराले हामीलाई पिरोलेको छ । हाम्रो खुसी र आनन्द दुर्लभ भएको छ । सबै मान्छे समस्या नै समस्याको घेराबन्दीमा छन् । त्यही कारण एउटा सुन्दर चोला लिएर जन्मिएका मान्छे आफैंलाई सिध्याउने मनोदशामा पुगिरहेका छन् । यिनै कुरामाथि श्रीकृष्णले दिएको सारभूत जवाफ नै श्रीमद्भागवत गीताको गुदी हो । अध्ययनले देखाएको छ, अहिले प्रत्येक ४० सेकेन्डमा एक जना मान्छेले आत्महत्या गर्छ । छिमेकी मुलुक भारतमै प्रत्येक दुई मिनेटमा एक जनाले आत्महत्या गरेका छन् । अमेरिकामा प्रत्येक नौ मिनेटमा एक जनाले आत्महत्या गर्छ ।
नेपालमा दिनमा औसत १३ देखि १४ जनाले आत्महत्या गर्छ । विश्व स्वास्थ्य संगठन भन्छ, सन् २०३० सम्ममा संसारको सबैभन्दा ठूलो समस्या आत्महत्याजनित हुनेछ । मान्छेहरू चाँडै डिप्रेसनमा जानेछन् ।
No comments:
Post a Comment