Monday, February 13, 2023

खराब स्कुललिङका कारण भ्रष्टाचार

आयुक्त जयबहादुर चन्द

विदुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त जयबहादुर चन्दले स्कुललिङमा खराबी भएकाले भ्रष्टाचार बढेको बताएका छन् । 

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाले गएको बुधबार नुवाकोटमा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवद्र्धनमा सहकार्यसम्बन्धी जिल्लास्तरी अन्तरक्रियामा नेपालमा स्कुलिङमै खराबी रहेको भ्रष्टाचार बढेको बताएका हुन् । 

‘पोखरीमै खराबी छ । हाम्रो बस्तीमै खराबी भएको छ,’ आयुक्त चन्दले भने, ‘कुनै संस्थामा भ्रष्टाचारी निस्क्यो भने संस्था खराबी होइन ।’ भ्रष्टाचार विरुद्धको समाज बनाउन सबै लाग्नुपर्ने उनले बताए । 

उनले नदीजन्य पदार्थको उत्खननले भ्रष्टाचार भएकोमा चिन्ता व्यक्त गरे । तोकिएको मापदण्डविपरीत उत्खनन गर्ने कार्य भएको उनको भनाइ थियो । ‘तोकिएको क्षेत्रभन्दा बढी र तोकिएको परिणामभन्दा तमाम बढी राज्यको दोहन गरिएको छ,’ उनले भने । आयुक्त चन्दले वैज्ञानिक तरिकाले कति परिमाणमा झिक्न मिल्छ त्यही अनुसार गर्न सुझाए । 

आयोगका सहन्यायाधिवक्ता पुण्यप्रसाद पाठकले भ्रष्टाचारको अवस्था, नियन्त्रण, नियन्त्रणको संवैधानिक व्यवस्था, भ्रष्टाचार नियन्त्रणका लागि कानुनी व्यवस्था, भ्रष्टाचारजन्य कसुर र सजायलगायत विषयमा कार्यपत्र उल्लेख गरे । 

त्यसमा भ्रष्टाचारको कमजोर लोकतन्त्र र लोकतान्त्रिक प्रणालीहरू, महँगो निर्वाचन प्रणाली, राजनीतिक दृढ ईच्छाशक्तिको कमी, कमजोर प्रशासनिक पद्धति र संरचनाहरू, प्रशासननिक अस्थिरता र राजनीतिक हस्तक्षेप, दण्डहिनतता र जिम्मेवारीबाट पन्छिने प्रवृत्तिले भ्रष्टाचार बढेको उल्लेख छ ।

आर्थिक वर्ष २०७८/७९ मा आयोगमा १२ हजार ३ सय र मातहत कार्यालयहरूमा १२ हजार ३१ वटा भ्रष्टाचारको उजुरी गरी जम्मा २४ हजार ३३१ उजरी परेको आयोगले जनाएको छ । 

जसमध्ये ८ हजार ९३ उजुरीहरू आर्थिक वर्ष २०७७/०७८ बाट जिम्मेवारी सरेर आएका छन् । १६ हजार २३८ उजुरी आर्थिक वर्ष २०७८/०७९ मा थप भएका थिए । आर्थिक वर्ष २०७८/७९ मा कुल २४ हजार ३३१ उजुरी छन् । त्यसमध्ये १७ हजार १६९ उजुरी फर्छ्यौट भएका छन् । प्रारम्भिक छानबिनबाट ५ हजार ३०२ उजुरी तामेलीमा राखिएको आयोगले जनाएको छ ।

अख्तियार अनुसन्धान आयोगको कार्यालय हेटौंडाका प्रमुख नरहरि घिमिरेले पनि कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । उनले पारदर्शिता, जवाफदेहिता, सदाचारयुक्त संस्कृति एवं आर्थिक अनुशासनमा जोड दिए ।

No comments:

Post a Comment