![]() |
ज्ञानु तामाङ र रजनी थापा |
विदुर । नुवाकोटको म्यागङ गाउँपालिका–४ किम्ताङ निवासी ज्ञानु तामाङले ‘हस्तकला ढाका झोला उद्योग’ सञ्चालन गर्दै आइरहेकी छिन् । २०७२ सालदेखि विदुर नगरपालिका–९ स्थित कोलोनीमा उद्योग सञ्चालन गर्दै आएकी उनले जिल्लामा हुने हरेक मेला महोत्सवमा बिक्री कक्ष लिन्छिन् । महोत्सवबाट हुने आम्दानीले उद्योग सञ्चालन गर्न थप हौसला मिल्ने गरेको तामाङको भनाई छ ।
‘उद्योग सञ्चालनमा आएको सुरुवाती चरणमा मासिक एक लाखदेखि डेढ लाखसम्म रुपैयाँ आम्दानी हुने गरेको थियो । अहिले ५० हजार रुपैयाँ आम्दानी हुन मुस्किल छ’, उनले भनिन्, ‘जिल्लामा सञ्चालित महोत्सवले मेरो उद्योगलाई ठुलो राहत पुग्ने गरेको छ । महोत्सवबाट ढाकाको झोलाले राम्रो बजार पाएर उत्साहित हुन्थे । महोत्सवको समयमा रातभरि झोला बुनेको सम्झँदा आनन्द लाग्छ ।’
कोलोनीमा नै रजनी थापाले कुसन तथा गुडिया बनाउने उद्योग सञ्चालन गर्दै आएकी छिन् । उत्पादित कुसन तथा गुडियाले उद्योगबाटै बजार पाइरहेको छ । उद्योग सञ्चालन गर्न‘को साथै उनी नै तालिम दिनलाई गाउँ बस्तीसम्म पुग्छिन् । रजनी हस्तकला उद्योगबाट उत्पादित कुसन गुडिया हो । उनले भनिन्, ‘जिल्लामा हुने सबै मेला महोत्सवमा मैले बनाएको कुसन तथा गुडिया प्रदर्शन र बिक्रीको लागि राख्ने गरेकी छु । व्यापार चित्त बुझ्दो नै हुन्छ ।’ मेरो उद्योगमा उत्पादित सामग्रीलाई बजारको खासै समस्या छैन । सामग्री उत्पादन गर्न मेला महोत्सवले उत्साह र जाँगर थपिदिन्छ ।
विदुर नगरपालिका–१२ मा ‘ज्ञानु क्याण्डी उद्योग’ सञ्चालन भइरहेको छ । २०७२ सालमा लप्सीको परिकार बनाउने तालिम लिएर उद्योग सञ्चालन थालनी गरेकी ज्ञानु तामाङलाई महोत्सवले नै व्यवसायीको रूपमा परिचित गराएको हो । ‘व्यवसाय सञ्चालन गरेको सुरुवाती वर्षमा लगानी उठ्न मुस्किल हुन्थ्यो । बजारको समस्या थियो । बजार चिन्ने मौका मलाई महोत्सवले नै दिएको हो’, उनले भनिन्, ‘साना ठुला केही कार्यक्रम हुँदा पनि प्रदर्शनीमा राख्न प¥यो तपाईँको उद्योगको उत्पादन भनेर जानकारी आउने गरेको छ । हाल बजारको खासै समस्या छैन । मागअनुसार उत्पादन गर्न भने मुस्किल छ ।’
No comments:
Post a Comment