Monday, February 20, 2023

८० सालको चैते दसैं ८१ सालमा

८० सालको विदा क्यालेण्डर

विदुर । नयाँ वर्षमा हिन्दुहरूका सबैजसो चाड करिब १५ दिन पछाडि सर्ने भएका छन् । नयाँ वर्ष २०८० सालको दसैं कात्तिकमा पर्ने भएको छ । हरितालिका तीजको व्रत असोजमा पर्न गएको छ । 

२०८० सालको घटस्थापना असोज २८ गते हुनेछ । विजयादशमी कात्तिक ७ मा पर्ने छ । यो वर्षको घटस्थापना असोज १० मै परेको थियो । यसरी धकेलिने क्रममा २०८० सालमा चैते दसैं नै नहुने भएको छ । २०८० सालको चतुर्थी तिथिमै चैत्र मास सकिने भएकाले चैते दसैं २०८१ सालको वैशाखमा सर्ने भएको हो । 

त्यसै अनुरुप आउने वर्षको तिहार पनि करिब १५ दिन धकेलिने छ । साउनमा अधिक मास पर्न गएकाले सोही बमोजिम अरु चाड पछि सर्ने भएका हुन् । श्रावण कृष्णपक्ष असार १९ बाटै सुरु हुनेछ । साउन २ देखि १६ गतेसम्म अधिक श्रावण कृष्णमास सुरु हुन्छ । फेरि साउन १७ देखि ३१ सम्म अधिक श्रावण कृष्णपक्ष परेको छ । फेरि साउन ३२ देखि भदौ १४ सम्म श्रावण शुक्लपक्ष परे अनुसार पात्रो बदलिएको छ । असार १९ देखि भदौ १४ सम्म एउटै मास पर्न गएकाले यसलाई अधिक मास अर्थात् मलमास भन्ने गरिन्छ । भदौ १४ सम्म तिथिका आधारमा ‘श्रावण मास’ नै पर्ने भएको हुँदा आउने सालका सबै चाडहरू यो वर्षको भन्दा कम्तिमा पनि १५ दिन पछाडि धकेलिएका हुन् ।

फागुनमा मात्रै ११ दिन सार्वजनिक बिदा

विदुर । फागुन महिनाभर ११ वटा सार्वजनिक बिदा पर्ने भएका छन् । विभिन्न दिवस, पर्व र शनिबारीय सहित यो फागुन महिनामा मात्रै ११ वटा सार्वजनिक बिदा पर्ने भएका हुन् । 

फागुन १ देखिनै यो महिनाको सार्वजनिक विदा सुरु भएको थियो । सरकारले १ गते जनयुद्ध दिवसको बिदा दिएको थियो । ७ गते प्रजातन्त्र दिवस मनाइएको छ । शिवरात्री शनिवार परेकोले एक दिनको विदा अझ छलिएको छ । ९ गते ग्याल्पो ल्होछार, १५ गते मगर दिवस, २२ र २३ गते पहाड र तराईमा फागुपूर्णिमा तथा २४ गते नारी दिवसको बिदा छ । मगर दिवस राजपत्रमा प्रकाशित बिदामा सूचिकृत नभएपनि अधिकांश स्थानीयतहले बिदा दिने गरेका छन् । फागुन ६, १३, २० र २७ गते शनिबारको बिदा छ ।  

No comments:

Post a Comment