Monday, February 13, 2023

प्रेस चौतारीको स्थापना दिवस

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य विन्दा ढुङ्गाना

विदुर । प्रेस चौतारी नेपालको २५ औँ स्थापना दिवसको अवसरमा प्रेस चौतारी नेपाल जिल्ला शाखा नुवाकोटले गएको आइतबार विदुरमा श्रमजीवी पत्रकारको अवस्थाबारे अन्तरक्रिया कार्यक्रम गरेको छ । 

अन्तरक्रियामा नेकपा एमालेका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज बिन्दा ढुङ्गानाले संघीयता कार्यान्वयन पछि स्थानीय तहमा अनियमितता र वेतिथि संस्थागत रुपमा नै विकास भएको र त्यसलाई सञ्चार माध्यमले बाहिर ल्याउन नसकेको बताए । विज्ञापनका कारण स्थानीय तहहरूको अनियमितता जिल्लाका सञ्चार माध्यमहरूमा पटक्कै नआउने गरेको भन्दै उनले पत्रकारहरूले जनताको पक्षमा कुनै पनि सम्झौता नगरी लेख्नु पर्ने बताएका छन् । निष्पक्ष र स्वतन्त्र भएर खोजमूलक पत्रकारितामार्फत नुवाकोटको विकास सम्भव रहेकोसमेत उनले बताइन् । पेशागत मर्यादामा रहेर सञ्चारकर्मीलाई कर्म गर्न सुझाव दिँदै पत्रकारितालाई व्यावसायिक रूपमा टिकाइराख्न आवश्यक ऐन, नीति, निर्माण तथा कार्यान्वयनका लागि सरकारको ध्यानाकर्षण गराउने प्रतिबद्धता उनले जनाइन् । 

कार्यक्रममा नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनालले राजनीतिक स्वर्थका लागि यदाकदा पत्रकारिता र सञ्चार माध्यम प्रयोग हुँदै आएको उल्लेख गर्दै पेशा गर्दा आफ्नो राजनैतिक विचार र निकट रहेको दललाई विर्सन सुझाव दिएका छन् । उनले व्यवसायिक पत्रकारिताबाट नै आफ्नो गुजारा चलाउनसक्ने अवस्था जिल्लामा रहेको भएपनि पत्रकार महासंघको सदस्यता लिनेका लागि मात्रै ‘कागजी पत्रकार’ बन्ने परम्परा नै स्थापित हुन खोजेकोमा दुःख व्यक्त गरेका छन् । 

प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य देवचन्द्र भट्टले पेशालाई पर्यादित पार्नका लागि पत्रकारहरूको परीक्षा लिने व्इवस्था गर्न सरकारसंग आग्रह गरेका छन् । उनले पत्रकार र पत्रकारिताको नाममा हुने गैर व्यवसायीक कार्यलाई बन्द गर्न पत्रकारले समेत ‘लाइसेन्स’ लिनुपर्ने बताए । प्रेस चौतारी नुवाकोटका अध्यक्ष नवदीप श्रेष्ठले पछिल्लो समय युट्युब च्यानल चलाउने सञ्चालक र मिडियालाई आफ्नो कर्मथलो मानेर कलम चलाउने पत्रकारलाई हेर्ने प्रवृत्ति समान भइदिँदा वास्तविक श्रमजीवी पत्रकारलाई काम गर्न असहज भइरहेको बताए । 

२५औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नेकपा एमाले सचिवालय सदस्य अरुणकमार श्रेष्ठ, प्रेस सेन्टर नेपाल जिल्ला समिति नुवाकोटका उपाध्यक्ष जगदीश खनाल, आदिवासी जनजाती पत्रकार महासंघ नुवाकोटका अध्यक्ष शक्तिमाया तामाङ लगायतले स्थापना दिवसको अवसरमा शुभकामना मन्तब्य राखेका थिए । 

No comments:

Post a Comment