खेलकुदमा स्थानीय सरकार
गएको हप्ता नुवाकोटको तीन वटा स्थानीय सरकारले बेग्लोग्लै खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरूको आयोजना गर्यो । तीन वटा पालिका, तादी, सुर्यगढी र शिवपुरीले खेलकुदका लागि गरेको खर्चकै मात्रै हिसाव पनि एकमुष्ठ रुपमा एक करोड हुन आउँछन् । स्थानीय सरकार विशेष गरी विकास निर्माणमा बढी जोडिनुपर्ने अपेक्षा नागरिहरूसंग रहने गरेको छ । उसोभए यसरी खेलकुदमा हुने खर्चलाई फजुल खर्च भन्न सकिएला त ? पक्कै पनि खेलकुदको महत्व र आवश्यकता फरक छ । तर त्यसलाई स्थानीय सरकारले प्रभावकारी रधारिलो रुपमा प्रस्तुत गर्नसक्नु पर्दछ । हामीले अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरूलाई हेर्ने केलाउने हो भने पनि खेलकुल अब राष्ट्र, समुदाय अनि गाउँको इज्जतसंग जोडिएको पाउन सक्छौं । त्यसबाहेक खेलकुद र देश जोडिएको अर्को विषय हो– देश विकास । सुन्दा अलिकति अनौठो सुनिएला, तर खेलकुद र देश विकासमा समानुपातिक सम्बन्ध छ । केही अपवादलाई छाड्ने हो भने संसारका धेरैजसो खेलकुदमा राम्रो गर्ने देशहरू सबैजसो विकसित देशहरू नै हुन्छन् । विकसित देशमा सरकारले खेलकुदमा राम्रो लगानी गरेको हुन्छ, त्यहाँका सबै जनता खेलकुदको फाइदाप्रति सचेत हुन्छन् । त्यसैले सानैदेखि उनीहरूमा खेलकुदप्रति रुची हुन्छ र पदक पाउनका लागि भन्दा पनि आफ्नो स्वास्थ्य राम्रो राख्नका लागि सबैले सानातिना भए पनि खेलकुदमा भाग लिइराखेका हुन्छन् । खेलकुदमा भाग लिँदा शारीरिक र मानसिक स्वास्थ्य राम्रो हुने नै भयो, जनता सामाजिक हुने भए । स्वस्थ र सामाजिक जनताको उत्पादकत्व अस्वस्थहरूको भन्दा बढी हुने नै भयो । अनि, उत्पादकत्व बढी भएमा देश विकास छिटो हुने नै भयो । त्यसको अतिरिक्त जुनसुकै खेलकुदमा पनि दुवै पक्षलाई मान्य हुने गरी नियमहरू बनाइएका हुन्छन् । त्यसैले खेलकुदमा भाग लिने मान्छेहरू नियम र अनुशासनले बाँधिएका हुन्छन् । उनीहरूलाई कानुनको सर्वोच्चता थाहा हुन्छ । उनीहरूले नियम मिच्ने काम गर्दैनन् । त्यसैले नियम मान्ने मान्छेहरूबाट स्वतः रुपमा कानुनको राज्य स्थापना गर्न सजिलो हुन्छ र कानुनी राज्य स्थापना भएमा देश विकासमा टेवा पुग्छ ।
त्यस्तै, हरेक खेलकुदमा अवसर अवसर छोप्न नसके परास्त भइन्छ । जो चनाखो हुन्छ र आएको राम्रो अवसरलाई खेर जान दिँदैन, उसैले खेलमा विजय हासिल गर्छ । खेलकुदमा भाग लिएका मान्छेहरूलाई जीवनमा त्यो पाठ लागु गर्न सजिलो पर्छ अनि जीवनमा आएका हरेक राम्रा अवसरहरूलाई उनीहरूले खेर जान दिँदैनन् । ती हरेक राम्रा अवसरहरूलाई पुरापूर उपयोग गर्ने व्यक्तिहरूले आफ्नो व्यक्तिगत र पारिवारिक विकाससँगै देशको विकासमा पनि टेवा पु-याएका हुन्छन् । देश विकास मात्र होइन, खेलकुदले राष्ट्रियता सुदृढ बनाउन पनि मद्दत गर्छ । हामीले देखेकै छौँ क्रिकेट या फुटबलको कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता हुन थाल्यो भने हिमालदेखि तराईसम्मका र पूर्वदेखि पश्चिमसम्मका युवायुवतीहरू गालामा नेपालको झन्डा टाँसेर नेपाली ‘टिम’लाई समर्थन गर्न र उनीहरूको हौसला बढाउन स्वतःस्फूर्त रुपमा निस्केका हुन्छन् । सागको फुटबल फाइनलमा नेपालको समर्थनमा दाशरथ रंगशाला उर्लेको भिडले त्यो कुरो पुष्टि गर्छ । ती युवायुवतीहरूलाई देख्दा थाहा हुन्छ, खेलकुदले राष्ट्रियता र राष्ट्रिय एकताका लागि पनि निकै महत्व पूर्ण योगदान दिएको हुन्छ ।
तर, नेपालमा अझैं पनि सरकार र जनताको तर्फबाट पनि खेलकुदको क्षेत्रमा गम्भीरतापूर्वक ध्यान दिएको पाइँदैन । जब प-यो राति, अनि बुढी ताती भनेझैँ जब–जब खेलकुदका आयोजना शुरु हुन थाल्छन्, अनि मात्र सरकार तात्छ र रङ्गशाला मर्मत गर्न थाल्छ, त्यो पनि विदेशीको सहयोगमा । तर, धेरै ढिलो भइसकेको छैन । यदि जनतालाई अनुशाशित तथा स्वस्थ राख्न अनि जनताको उत्पादकत्व बढाउनुछ भने सरकारले खेलकुदमा अहिले नै ठूलै लगानी गर्नुपर्छ । सागले हामीलाई खेलकुदप्रति सचेतना जगाएको छ, यही मौका छोपेर खेलाडीहरूलाई आकर्षिक गर्ने योजना ल्याउनु जरुरी छ । अहिले खेलकुदमा गरेको लगानीले कालान्तरमा देशलाई र जनतालाई निकै फाइदा पु-याउनेछ भन्नेमा दुई मत छैन । सरकारले अहिले नै खेलकुदका व्यवसायिक पाठशालाहरू खोल्ने, हरेक स्थानीय तहमा कम्तिमा पनि एउटा रंगशाला या कभर्ड हल खोल्ने, खेलकुदका सामग्रीहरू सुलभ बनाउने, व्यवसायिक खेलाडीहरूलाई समाजका अन्य सम्मानित र उच्च पारिश्रमिक पेशाजत्तिकै पारिश्रमिक दिने, अन्तरराष्ट्रिय स्तरमा राम्रो प्रदर्शन गर्ने खेलाडीलाई राज्यस्तरबाटै सम्मान प्रदान गर्ने, स्कुल देखि नै शारीरिक शिक्षालाई खालि देखाउन लागि मात्रको नभई व्यावहारिक रुपमा कडाइका साथ लागुगर्ने काम शुरु गर्नुपर्छ ।
No comments:
Post a Comment