विदुर । बागमती प्रदेश सरकारले १३ वटा जिल्लामा सेवा विस्तारका लागि कार्यालय खोल्ने गरी तयारी गरेको छ ।
सरकारले प्रदेशका १३ वटै जिल्लामा एकीकृत कार्यालय खोल्ने तयारीका लागि अध्ययन कार्यदल गठन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशका १३ वटा जिल्लामा एकीकृत सेवा सञ्चालनको लागि अध्ययन गर्न कार्यदल गठन गर्ने निर्णय गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । समितिको संयोजकमा प्रदेशका प्रमुख सचिव मुकुन्द प्रसाद निरौला छन् । आवश्यकताका आधारमा मन्त्रालयका सचिवलाई कार्यदलको सदस्य नियुक्त गर्नेछन् ।
प्रदेश सरकारका योजना कार्यान्वयनमा भएका समस्या समाधानका लागि एकीकृत कार्यालय सञ्चालनको तयारी गिरिएको मन्त्री श्रेष्ठले बताए । प्रदेश सरकार मातहतको प्रशासनिक सङ्गठनहरू जिल्ला जिल्लामा नहुँदा योजनाहरू कार्यान्वयनमा जटिलता आएको र सम्बन्धित स्थानीय तहले पनि त्यस तर्फ चासो कम देखाउँदा ती योजनाहरू समयमा नै सम्पन्न हुन नसक्ने गरेको उनको भनाई छ । प्रदेश सरकारका सबै प्रशासनिक कार्यहरू हेटौँडा र काठमाडौंबाट मात्र संचालन हुँदा सेवाग्राहीहरू समस्यामा पर्दै आएकाले एकीकृत कार्यालय सञ्चालनको तयारी गरिएको उनले बताए ।
कार्यदलले अध्ययन गरेर मन्त्रिपरिषद्मा प्रतिवेदन बुझाएपछि १३ वटै जिल्लामा कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने छ । प्रशासनिक खर्च, सेवा प्रवाह लगायतका विषयमा अध्ययन गर्ने र आवश्यकताका आधारमा सम्बन्धित मन्त्रालयको मातहतमा रहने गरी कार्यालय खोल्ने सुझाव सहित प्रतिवेदन पेस गर्ने उनले बताए ।
No comments:
Post a Comment