Monday, February 13, 2023

नुवाकोट महोत्सव जारी

सातौं नुवाकोट महोत्सवको शुक्रवार आयोजित उद्घाटन समारोह

पिपलटार । नुवाकोट महोत्सवको सातौं संस्करण विदुर नगरपािलका वडा नं. ५ पिपल्टारमा जारी रहेको छ । शुक्रवार (माघ २७ गते) बाट सुरु भएको सातौं नुवाकोट महोत्सव १३ दिन (फागुन १० गते) सम्म जारी रहने छ । यस पटक महोत्सको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्बद्र्धन, दिगो आर्थिक विकासको लागि व्यवसायिक प्रवद्र्धन’ राखिएको छ । 

शुक्रवार महोत्सवको उद्घाटन नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गरे । सातौं नुवाकोट महोत्सवको समापन भने फागुन १० गते नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा नुवाकोटबाट निर्वाचित प्रतिनिधि सभा सदस्य हितबहादुर तामाङले गर्ने छन् । 

शुक्रवार महोत्सवको उद्घाटन गर्दै अर्जुननरसिंह केसीले नुवाकोटमा औद्योगिक क्षेत्र स्थापनाको सम्भावना रहेको भएपनि जग्गा अभाव हुन थालेको बताएका छन् । केसीले पाँच सय रोपनी जग्गा जुटेमा नुवाकोटमा औद्योगिक क्षेत्र स्थापना गर्न आफु लागिपपर्ने बताएका छन् । 

उद्घाटन समारोहमा बोल्दै नुवाकोट उद्योग वाणिज्य संघका अध्यक्ष ताराबहादुर कार्कीले महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएको बताए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना व्यवसायिक कृषि, जलविद्युत, पर्यटन, हस्तकला एवं व्यापार व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्धिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा ब्राह्य लगानीलाई आकर्षण गर्ने महोत्सवको आयोजना गरेको संघका महासचिव कृष्णप्रसाद अधिकारीले बताएका छन् । 

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघको द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले जानकारी दिएका छन् । 

जिल्लामै उत्पादित घरेलु सामाग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामाग्रीहरूलाई प्राथमिकतामा राखिएको उनले बताए । महोत्सवबाट पाँच करोड रुपैयाँको कारोबार हुने संघका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिएका छन् । 

जिल्ला समन्वय समिति नुवाकोट सहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको छ । महोत्सव नारायणी फेयर एक्जिबीसन नेपालको व्यवस्थापनमा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल पर्यटन बोर्ड प्रबद्र्धक छन् । 

२०४५ सालमा स्थापना भएको संघले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो रहेको छ । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको छ । 

No comments:

Post a Comment