विदुर । चालु आर्थिक वर्षको दोस्रो चौमासिकमा चिलिमे जलविद्युत कम्पनीको नाफा घटेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.८३ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।
विद्युत बिक्री आम्दानी बढेपनि खर्च बढेका कारण कम्पनीको नाफा घट्न पुगेको हो । कम्पनीको अगुवाईमा स्थापना भएका जलविद्युत कम्पनीहरूमाफृत प्रबद्र्धित कुल २७०.३ मेगावाट क्षमताका ४ जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा रहेको कम्पनीले जनाएको छ । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ८७ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ३.७९ प्रतिशत घटेको छ । त्यसैगरी कम्पनीको वित्तीय आम्दानी समीक्षा अवधिमा ७.८६ प्रतिशत बढेको छ । बैंक मौज्दात बढेको र ब्याजदर पनि बढेका कारण कम्पनीको यस्तो आम्दानी बढ्न पुगेको हो ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ११ रुपैयाँ ८९ पैसा रहेको कम्पनीको यस्तो आम्दानी, चालु आर्थिक वर्षको सोही अवधिसम्ममा १० रुपैयाँ ८५ पैसामा झरेको छ । सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ३९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ४१.३२ गुणा रहेको छ । ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङ्ग ३ अर्ब ४० लाख रुपैयाँ छ ।
No comments:
Post a Comment