चिनियाँ नयाँ वर्षका कारण बन्द गरिएको रसुवागढी नाका बुधबारदेखि खुला गरिएको छ । ल्होसार पर्व अर्थात् चिनियाँ वर्षका कारण माघ ६ गतेदेखि रसुवागढी नाकाबाट सामान आयात तथा निर्यात रोकिएको थियो ।
चिनियाँ नयाँ वर्षका कारण रोकिएको सामान बुधबार बिहानदेखि आउन थालेको भन्सार कार्यालयले जनाएको छ । बुधबार बिहान ७ वटा र साँझ ७ वटा गरी १४ वटा चिनियाँ कन्टेनर सामान आयात गरिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । ल्होसार पर्व अर्थात् चिनियाँ नयाँ वर्षका कारण १२ दिनदेखि आयात रोकिएको थियो । शुक्रबार बिहान तयारी कपडा, रबर, प्लाष्टिकका जुत्ता चप्पल विद्युतीय जिप, जलविद्युत् आयोजनाका सामग्री लगायत वस्तु नाकाबाट आयात गरिएको हो ।
अहिले नाकाबाट दैनिक रुपमा १४ कन्टेनर मात्र सामान आयात भइरहेको छ । यस्तै नेपाली सामान पनि चीनतर्फ निर्यात हुन थालेको एक महिना पूरा भइसकेको छ । तीन वर्षपछि गत पुस १२ गतेदेखि मात्रै चीनतर्फ सामान निर्यात हुन थालेको थियो ।
निर्यात खुलेपछि अहिलेसम्म नेपालबाट ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भइसकेको बताइएको छ । रसुवागढी नाकाबाट अहिलेसम्म करिब ७ करोड मूल्य बराबरको ५१ कन्टेनर सामान चीनतर्फ निर्यात भएको रसुवा भन्सारले बताएको छ । नाकाबाट सामान आयात–निर्यात गरिए पनि मानिसको आवतजावत भने अझै खुलेको छैन । कोरोना महामारीका कारण रसुवागढी नाकाबाट आयात–निर्यात प्रभावित भएको तीन वर्ष पूरा भइसकेको छ ।
२०७६ माघ १५ देखि नै रसुवागढी नाका भएर चीनबाट हुने आयात तथा निर्यात प्रभावित भएको थियो । पछिल्लो समय आयात–निर्यात खुलाइए पनि कोरोना महामारी सुरु हुनुभन्दा पहिलेको अवस्थामा अझै नपुगेको बताइएको छ । सुरुमा हिमपात र ल्होसार पर्वका कारण आयात–निर्यात बन्द भएको थियो भने पछि कोरोना भाइरस (कोभिड–१९) देखा परेपछि रसुवागढी नाका भएर चीनबाट हुने आयात–निर्यात थप प्रभावित भएको हो । साढे पाँच महिना भने कोरोना महामारीका कारण नाका ठप्प रह्यो । २०७७ असार २२ गतेबाट पुन सामान आयात सुरु भए पनि निर्यात ठप्प थियो । साथै आयात पनि कोरोना, पहिरो र हिमपातले नियमित हुने गरेको छैन ।
No comments:
Post a Comment