Monday, February 13, 2023

यस कारण आउनुहोस् नुवाकोट महोत्सवमा

ताराबहादुर कार्की

ताराबहादुर कार्की

अध्यक्ष, नुवाकोट उद्योग वाणिज्य संघ 

नुवाकोट उद्योग वाणिज्य संघ ०४५ सालमा स्थापना भएको हो । संघले ०६३ सालदेखि मेलाको आयोजना गर्दै आइरहेको छ । संघले यसअघि ६ पटकसम्म महत्वपूर्ण मेला तथा महोत्सव गरिसकेको छ । 

यो महोत्सवले उद्योग, व्यापार, कृषि, पर्यटनलगायतको क्षेत्रमा महत्वपूर्ण टेवा पु¥याउँछ भन्ने हाम्रो ठम्याइ छ । गाउँघरमा रहेका विभिन्न कृषि उपजको प्रदर्शनी, कुना–कुनामा लुकेका प्रतिभा प्रस्फुटन गर्नका साथै विभिन्न धर्म, संस्कृतिलाई पनि उजागर गर्नमा यो मेला फलदायी हुने अपेक्षा गरेका छौँ । मेलाले सर्वपक्षीय हित र प्रवद्र्धन गर्नेमा हामी विश्वस्त छौँ । यो मेला हाम्रो मात्रै नभई नुवाकोट जिल्लाकै एउटा महोत्सव हो ।

सातौं नुवाकोट महोत्सव जारी रहेको छ । महोत्सवमा तीन सयवटा स्टल छन् । महोत्सवमा कृषि, व्यापार, उद्योग, पर्यटनलगायतका सबैखाले स्टल राखिएको छ । साना व्यवसायी पनि धेरै मेलामा समेटिनुभएको छ । मेला अवधिभर करिब पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । स्थानीय सरकारले पनि हामीलाई धेरै सहयोग गरेका छन् । सुरक्षा निकायबाट पनि हामीले ठूलो सहयोग पाएका छौँ । यसमा सबैतिरको साथ र सहयोग पाइरहेका छौँ । सबै उद्योगी–व्यवसायी र जिल्लावासीको साथ रहेको छ । स्थानीय सरकार, जिल्ला समन्वय समिति र स्थानीय प्रशासनसहित सबै तह र तप्काका मानिसले मेला सफल बनाउन सहयोग गरिरहेका छन् । यसबाट हामीलाई थप हौसला मिलेको छ । 

त्यसो त, मुलुककै आर्थिक स्थिति बिग्रिरहेको अवस्थामा, उद्योगले पनि आफ्नो उत्पादन कटौती गर्दै गइरहेको अवस्थामा, बैंकको ब्याज बढ्दै गइरहेको अवस्थामा मेला, महोत्सव गर्दा प्रभावकारी हुँदैन कि भनेर चासो र चिन्ता हुनु स्वाभाविक हो । तर, वर्तमान अवस्थामा मुलुकको गहिरिँदो आर्थिक संकटलाई टार्नका लागि महोत्सव प्रभावकारी हुनेमा हामी विश्वस्त छौँ । किनभने महोत्सवमा जिल्ला तथा जिल्लाबाहिरबाट धेरै मानिस भेला हुन्छन्, आर्थिक कारोबार चलायमान हुन्छ र वस्तु तथा सेवाको खरिद–बिक्री बढ्छ । जसले गर्दा केही हदसम्म भए पनि आर्थिक स्थिति सुधारमा महोत्सवले टेवा पु¥याउँछ । 

महोत्सवमा बाहिरी जिल्लाबाट पनि धेरै दर्शक र ग्राहक आउँछन् । जसले गर्दा स्थानीय व्यवसायी, व्यापारीले प्रत्यक्ष लाभ लिन सक्दछन् । मेलामा टिकट काटेर अवलोकनका लागि छिरिसकेपछि हामीले विभिन्न सेवा पनि उपलब्ध गराउँछौँ । महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति एक सय, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र कलेज तथा विद्यालयको समूह आउँदा प्रतिविद्यार्थी ५० रुपैयाँ र ज्येष्ठ नागरिक, अपाङ्ग, अशक्तलाई परिचयपत्रको आधारमा निःशुल्क गरिएको छ । टिकट काटेर भित्र छिरेपछि निःशुल्क स्वास्थ्य शिविरदेखि हामीले विभिन्न मनोरञ्जनका कार्यक्रमसमेत जोड्ने गर्दछौँ । जसका कारण दर्शकले सस्तो मूल्यमा वस्तु र सेवा प्राप्त गर्न‘का साथै विभिन्न निःशुल्क सेवासमेत प्राप्त गर्न सक्नेछन् । यस वर्षको मेला विगतको भन्दा झनै विशिष्ट हुनेमा हामी विश्वस्त छौँ ।

मूल्यको एकरूपता र गुणस्तरीयताको सवालमा हामी एकदमै सचेत छौँ । हामीले स्टल बिक्री गर्ने क्रममा पनि होटेल तथा अन्य सेवाका स्टललाई मूल्य र गुणस्तरीयतामा ख्याल गरेका छौं । विशेषगरी खाना, खाजा र अन्य स्टलमा हामीले वस्तु र मूल्यको मूल्यसूची नै टाँस्न अनिवार्य गर्न लगाएका छौं । विगतमा पिउने पानीको मूल्यसमेत चर्को परेको भन्ने गुनासोको आधारमा हामीले पिउने पानीको मूल्य मेला स्थलभर एकैप्रकारको हुने गरी व्यवस्थापन गरेकाछौँ । घरलु सामग्री, हस्तकलाको सामग्रीको बिक्रीमा पनि बजारभन्दा कम मूल्यमा बिक्री गर्न सचेत गराएका छौँ । स्थानीय लघु, घरेलु उत्पादनका स्टल निःशुल्क गरेका छौँ । कानुनअनुसार राजस्व तिरेर मात्र व्यापार गर्न आग्रह गरिएको छ । राजस्व कार्यालयलाई पनि अनुगमन गर्न आग्रह गरेका छौँ ।

पहिले–पहिलेको मेलामा बाहिरबाट मात्र व्यवसायी आउँछन् । घुमन्ते व्यवसायीले मात्र व्यवसाय गर्न आउँछन् भन्ने मान्यता थियो । यस वर्ष हामीले त्यस कुरालाई चिरेका छौँ । हामीले महोत्सवमा स्थानीय व्यवसायी, उद्योगीलाई स्टल राख्न धेरै प्रेरित गरेका छौँ । केही उद्योगका स्टललाई निःशुल्क पनि गरेका छौँ । स्थानीय उद्योगी–व्यवसायी तथा घरेलु सामान उत्पादक तथा वितरकले मेलाबाट धेरै फाइदा लिन सक्ने स्थितिको सिर्जना गरेका छौँ । यहाँका उद्योगलाई पनि मेलामा प्रदर्शनी गर्न तथा व्यवसाय प्रवद्र्धन गर्न धेरै सहुलियत र प्रोत्साहन गरेका छौँ ।

No comments:

Post a Comment