Monday, February 06, 2023

छ महिनामा ट्राफिक जरिवाना ७० लाख

विदुर । नुवाकोटमा सडक विस्तार र सवारीसाधनको संख्या वृद्धिसँगै ट्राफिक नियम उल्लंघन गर्नेको संख्यामा वृद्धि भएको छ । 

जिल्लामा चालू आवको छ महिनामा ट्राफिक प्रहरीको सक्रियता बढिरहेको छ । ट्राफिक कार्यालय नुवाकोटको सक्रियता वृद्धिसँगै चालू आवको छ महिनामा ट्राफिक कारबाहीमा पर्नेको संख्या, जरिवाना र राजस्व बढेको छ । यो अवधिमा सवारी कसुर बमोजिमको कारबाहीबाट ७० लाख १५ हजार राजस्व संकलन भएको छ ।

ट्राफिक कार्यालय नुवाकोटले न्यून जनशक्तिको बाबजुद पनि सचेतनाको कार्यक्रम र आकस्मिक चेकजाँचलाई भने निरन्तरता दिइरहेको छ । जिल्लाको १३ वटा विद्यालयका आठ सय २५ जना विद्यार्थीलाई ट्राफिक नियमबारे कक्षा सञ्चालन चालू आवको छ महिनामा दिइसकेको छ । 

नयाँ चालक एक हजार २२५ जनालाई जिल्लाको २५ स्थानमा ट्राफिक नियमको कक्षा, ४९५ जना यातायात व्यवसायी र चालकलाई प्रशिक्षण, ६ सयभन्दा बढी सर्वसाधारणलाई ट्राफिक सचेतनाको कक्षा सञ्चालन कार्यालयले गरेको थियो । 

कार्यालयले जिल्लाको विभिन्न स्थानमा त्रिशूली बचत तथा ऋण सहकारी संस्था त्रिशूलीबजारको सहयोगमा ट्राफिक सचेतनामूलक होर्डिङबोर्ड राखिसकेको छ । ट्राफिक जनचेतनाका लागि पर्चा पम्प्लेट र सवारीचालकको स्वास्थ्य चेकजाँच तथा सवारीसाधनको प्राविधिक परीक्षण सडकमै गरिरहेको प्रहरी वरिष्ठ नायव निरीक्षक एवं जिल्ला ट्राफिक प्रमुख मिलन सिंहले बताए । 

कार्यालयले जिल्ला प्रहरी कार्यालयसँग समन्वय गरेर दैनिक मापसे चेकिङलाई कडाइका साथ विभिन्न स्थानमा गरिरहेको समेत उहाँले जानकारी दिए । चालू आवको ६ महिनामा जिल्लामा मापसे गर्नेको संख्या २७६ छ । सबैभन्दा कम साउनमा ३२ जना र पुसमा बढी ८३ जना मापसे कारबाहीमा परे । यो अवधिमा २७ हजार ६ सय मापसे जरिवाना उठेको छ । छतमा यात्रु राख्ने १५ साधनबाट १५ हजार, ओभरलोड बोक्ने १६ सय ८८ वटाबाट १४ लाख ६७ हजार पाँच सय राजस्व संकलन भएको हो । 

सिटबेल्ट र हेलमेट नलगाउने सवारीसाधनका ६९८ चालकबाट चार लाख २८ हजार पाँच सय, कागजपत्र साथमा नबोक्ने सवारीचालक तीन हजार ५५२ बाट २४ लाख ३८ हजार पाँच सय, सवारीचालक अनुमतिपत्र नभएका एक हजार २०५ बाट ११ लाख ९५ हजार, बत्तीको अवस्था ठीक नभएको २८९ सवारीसाधनबाट १९ हजार, रूट परमिट नभएका ४६५ सवारीसाधनबाट चार लाख ६२ हजार ५०० राजश्व संकलन भएको छ । 

प्रयोजनविपरीत लगेज लोड बोक्ने १३८ सवारीसाधनबाट एक लाख ३८ हजार, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने तीन सय ५० सवारीसाधनबाट तीन लाख १७ हजार पाँच सय र १७४ अन्य कारबाहीबाट ८७ हजार कसुरबमोजिमको राजस्व उठेको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेको संख्या घटाउने अभियानमा कार्यालय रहे पनि जनशक्तिको अभावमा सफल हुन सकेको छैन ।

No comments:

Post a Comment