Sunday, March 05, 2023

एमालेकोे ‘मिसन ग्रासरुट’

नेकपा एमालेले नुवाकोटको बट्टारमा आयोजना गरेको पत्रकार समेलनमा केन्द्रीय सचिव गोकर्ण विष्ट (बाँयाँबाट दोश्रो) लगायतका नेताहरू । तस्बिर : इमेज

बट्टार । नुवाकोट, रसुवा र धादिङसहित ७७ वटै जिल्लामा फागुन ९ गतेदेखि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । एमालेले पार्टी सुढृदीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेकोछ ।

एमाले नुवाकोटले शनिबार जिल्ला कमिटीको बैठक गरेर अभियानलाई १२ वटै पालिका र ८८ वटै वडामा गर्ने कार्यक्रम तय गरेको छ । बैठकको उद्घाटन पार्टीका केन्द्रीय सचिव गोकर्ण विष्टले गर्दै सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठन क्रियाशील हुन नसकेकाले सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने निर्देशन दिए । जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीको सभापतित्वमा भएको बैठकले यो अभियानका लागि स्थायी कमिटी सदस्य रघुजी पन्त, केन्द्रीय समितिबाट खटिएका केन्द्रीय सदस्य कृष्णबहादुर राई, हरिकृष्ण व्यञ्जनकार, शर्मिला कार्की, गीता कार्की, माधव अर्यालको सहभागितामा दुई महिनाका लागि कार्यक्रम तयार गरेको छ । जिल्लाको १२ वटै पालिकामा केन्द्रीय प्रतिनिधिसँगै बागमती प्रदेश कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यलाई फरक–फरक भूगोलमा खटाइएको उपाध्यक्ष बुद्धिबहादुर प्रधानले जानकारी दिए । 

खटाइएको प्रतिनिधिसँगै पालिका कमिटीको अध्यक्ष र पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने निर्देशन जिल्लाले गरेको छ । यो अभियानमा जिल्ला कमिटीका, प्रदेश, क्षेत्र र वडा कमिटीका सबै पदाधिकारी र सदस्यको हाजिरी रेकर्ड राख्नसमेत जिल्लाले निर्देशन गरेको छ । जिल्लामा सम्पन्न बैठकले अभियानका लागि जिल्ला आएका केन्द्रीय सदस्यसहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्षहरूको संयुक्त बैठक बसेर वडा तहका कार्यक्रम बनाइरहेको सचिव सुदर्शन नेपालले बताएका छन् । 

अभियानका लागि जिल्लामा खटिएका पाँचजना प्रतिनिधिले पार्टी कमजोर बन्दै गएको पूर्ववर्ती मान्यतालाई पुनस्र्थापित गर्ने बताए । अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, सदस्य विस्तार, प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन हुने र सङ्गठनदेखि जनप्रतिनिधि र पार्टीबीच सम्बन्ध सुधारका लागि सुझाव संकलन गरिने जिल्ला पार्टी अध्यक्ष बद्री मैनालीले जानकारी दिए । पार्टीले अङ्गीकार गरेको जनताको बहुदलीय जनवाद कार्यान्वयनका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरिएको उपसचिव नीलकण्ठ आचार्यले बताए । उनले अबको निर्वाचनमा एमालेलाई पहिलो पार्टी बनाउन यो अभियानले सघाउने बताए । सिङ्गो जिल्ला कमिटीसँगै प्रदेश, क्षेत्र र पालिका कमिटीलाई क्रियाशील गराइएकोसमेत उनको भनाइ छ । अभियानअन्तर्गत पार्टीका सङ्गठित कार्यकर्ताको कागजात छानबिन गर्ने र सङ्गठित सदस्यको नवीकरण भौतिक उपस्थितिमा मात्र गरिने जनाइएको छ ।

सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठनमा क्रियाशील नरहेका सदस्य पनि देखिएपछि सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमै सदस्यता नवीकरण गर्ने नीति एमालेले ल्याएको हो । पार्टीको संगठित सदस्यता शुद्धीकरण अभियानअन्तर्गत अब एमालेका प्रत्येक सदस्यले आफैँ भौतिक रूपमा उपस्थित भएर मात्र आफ्नो सदस्यता नवीकरण गर्नुपर्नेछ । एमालेले बागमती प्रदेश कमिटीका ३३ जना जिल्ला कमिटीका १४२ जनासहित प्रदेश, क्षेत्र र पालिका कमिटीका पदाधिकारी र सदस्यलाई अनिवार्य उपस्थित भएर यो अभियान सफल गर्ने जिम्मेवारी दिएको छ । 

सो कार्यक्रममा प्रदेश कमिटीका सचिवालय सदस्य नारायण खतिवडा, रामशरण प्याकुरेल, ठाकुर गजुरेलसहितको उपस्थिति रहेको थियोे । कार्यक्रमका वक्ताले यो अभियानबाट पार्टीभित्र साङ्गठानिक अराजकता र दक्षिणपन्थी अवसरवाद देखा परेकाले त्यसको अन्त्यका लागि यो अभियान सञ्चालन गरिएको र यसबाट पार्टी सुदृढ हुने विश्वास सबैले व्यक्त गरे । पार्टी पङ्क्तिलाई वैचारिक र शैद्धान्तिक रूपमा सक्षम बनाउन अभियान सार्थक हुने विश्वास सबैले व्यक्त गरेका छन् ।

पार्टीको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियानको विशेष अभियानका रूपमा ‘मिसन ग्रासरुट’ फागुन ५ गतेबाट औपचारिक रूपमा देश भर सुरु भइसकेको एमालेले जनाएको छ । यो अभियान ७५३ स्थानीय तहमै केन्द्रित हुनेछ । वडा तहसम्ममा आवश्यकताअनुसार विभिन्न क्रियाकलाप सञ्चालन गरिनेछ । अभियानमा भूगोल, विभाग र फाँटमा जिम्मेवारी रहेका स्थायी कमिटी, पोलिटब्युरो तथा केन्द्रीय कमिटीका सदस्यसहित तीन सय ६० जना नेता केन्द्रीय प्रतिनिधिका रूपमा परिचालित भएका छन् । २०७९ फागुन ५ गते पार्टीका अध्यक्ष केपी ओलीको भर्चुअल सम्बोधनबाट सबैै प्रदेशमा एकैचोटि आरम्भ भएको यो अभियान आगामी २०८० साल वैशाख ९ गते पार्टीको स्थापना दिवसमा विशेष समारोहसहित सम्पन्न गरिने बताइएको छ । यो अभियानमा अनुगमनको जिम्मेवारीमा स्थायी कमिटीका सदस्य छन् । 

यो अभियानमा प्रदेश कमिटीका सदस्य, जिल्ला सदस्य र अन्य प्रतिनिधिलाई समेत आफू कार्यरत क्षेत्रबाहिरका कार्यक्षेत्रमा जिम्मेवारी तोकिएको छ । पालिका तहमा केन्द्रीय प्रतिनिधिको नेतृत्वमा प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्य र तोकिएका व्यक्ति सम्मिलित टोली निर्माण गरिएको छ । यो अभियानलाई प्रभावकारी बनाउन पालिकामा प्रशिक्षण तथा वडा र टोलसम्मका सूक्ष्म योजना निर्माण गरी अगाडि बढ्ने निर्णय गरिएको छ । ‘होलबडी चेकअप’का रूपमा यो अभियानले पार्टीलाई अझ व्यवस्थित बनाएर लैजाने अपेक्षा गरिएको छ । दुईमहिने ‘मिसन ग्रासरूट’ अभियानले नेता–कार्यकर्तामा उत्साह थप्ने विश्वास गरिएको छ । पार्टीका सबै नेता–कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तर्विरोध देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेकाले पनि यो अभियानले पार्टी थप व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने विश्वास गरिएको एमालेले जनाएको छ ।

स्थानीय तहको परिणामपछि विभिन्न तहमा समीक्षा गर्दै केन्द्रको निर्देशनअनुरूप त्यस निर्वाचनमा देखिएका कमी–कजोरीलाई सच्याउने, आपसमा देखिएका मनमुटाव हटाउने, कमजोर बनेका सङ्गठन सङ्गठित र सुदृढ बनाउँदै निराश बनेको मनस्थितिमा ऊर्जा थपेर मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जाने तयारी प्रदेश कमिटीको तर्फबाट राम्रैसँग गरिए तापनि एमालेको ठूलो पङ्क्तिमा एकखालको नैराश्यता र निष्क्रियता बढिरहेको थियो । पछिल्लो समयमा समाजका विभिन्न क्षेत्रमा विकृति–विसङ्गति, कार्यकर्ताको बीचमा अराजकता, स्वछन्दता बढिरहेकाले पार्टीको मूल्य, मान्यता र परम्परामा ह्रास आउन खोजिरहेका घटनाप्रति एमालेको इमानदार पङ्क्तिमा चिन्ता व्याप्त थियो । समाजका सम्पूर्ण अवयवलाई आपसी सहिष्णुता कायम गर्दै इमानदारिता, जवाफदेहिता, नैतिकता र पारदर्शितालाई उच्च प्राथमिकता दिन पार्टीले कार्यक्रम र्न ढिला भइसकेको थियो ।

अर्कोतर्फ विभिन्न कमिटीमा रहेर जिम्मेवारी बहन गरिरहेका जिम्मेवार नेताहरूको कार्यप्रति र उहाँहरूको जिम्मेवारी निर्वाह नगर्ने प्रवृत्तिप्रति पनि असन्तुष्टि व्यक्त हुने क्रम तीव्र रूपमा बढिरहेको थियो । गत निर्वाचनमा एमालेले जे–जति असफलता भोग्नुप¥यो, त्यसको प्रमुख कारण पार्टीभित्रको अनुशासनमा कमी र अनुशासन उल्लंघन रहेको सबैले महसुस गरिरहेकै थिए । एमालेमा बसेर एमालेका उम्मेदवार हराउन लाग्नेहरू नै पार्टी नेतृत्वको वरिपरि घुमेर शक्ति उन्मादमा पार्टी सङ्गठनमा भने माखो नमार्ने व्यक्ति वा कमिटीलाई क्रियाशील बनाएर पार्टीलाई बलियो बनाउनुपर्ने पनि चौतर्फी आवाज उठिरहेको थियो । दुईवटा निर्वाचनमा पार्टीका उम्मेदवालाई जिताउन नलाग्ने, नेताहरूको घरदैलोमा मात्रै पुग्नेहरूको  हिसाबकिताब गर्नुपर्ने पनि त्यत्तिकै आवश्यक भएको पनि जनाइएको छ ।

पार्टी र सङ्गठन चल्ने विचारले हो । हामीसँग हाम्रो पार्टी सञ्चालनका लागि मात्र होइन देश सञ्चालन गर्ने सही दृष्टिकोण र विचार छ । तसर्थ यो विचार आमपार्टी पङ्क्ति र जनताका बीचमा पु-याउनु जरुरी छ । पार्टी पङ्क्तिभित्र राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक प्रशिक्षण सञ्चालन गर्ने र जनताका बीचमा जाँदा पार्टी विचारलाई व्यवस्थित रूपले उनीहरूले बुझ्ने भाषामा राख्ने हैसियत नुवाकोट जिल्ला नेतृत्वले प्रमाणित गर्न सकेको छैन । आमकार्यकर्ता, शुभचिन्तक र पार्टी सदस्यका चरम नैराश्यता र जिल्लाको वर्तमान नेतृत्वप्रतिको असन्तुष्टि चरम रूपमा छ । सातौँ जिल्ला अधिवेशन भएको एक वर्ष बितिसक्दा पनि विधानतः जिल्ला कमिटीको सङ्ख्या कति हो भनेर टुङ्गो लगाउन सकेको छैन । कतिलाई म जिल्ला कमिटीको सदस्य छु कि छैन भन्नेसमेत थाहा छैन । विधानतः एक सय ४२ हो कि अहिले भन्ने गरिएको १८३ भन्ने नै टुङ्गो लागेको छैन । तीन हजार दुई सय शुल्क बुझाएका र खाएका उनीहरूलाई पटक–पटक अपमानित गर्ने गरिएको छ । नेतृत्वका आसेपासेलाई प्रश्रय दिने काम भएको छ ।

एउटै बैठकलाई कहिले पूर्णबैठक, कहिले विस्तारित बैठक गरेर भ्रम सिर्जना गरिएको छ । जिल्ला कमिटीको बैठकमा कहिले त्यही व्यक्तिलाई बोलाउने, कहिले नबोलाउने गरेको पनि पाइएको छ । बैठक सञ्चालनका आधारभूत कुरालाई समेत ख्याल गर्ने गरिएको छैन । बैठकमा जति जना उपस्थित भए पनि त्यसले पूर्ण बैठकका हैसियतले निर्णय गर्ने गरिएको छ । जुनसुकै बैठकमा पनि पाँचजना पदाधिकारीले गरेको निर्णयमा ताली बजाउन लगाउने मात्र गरिएको छ । अस्तिको आयोजना भएको र जिल्ला कमिटीको बैठकसमेत भनिएको कार्यक्रममा नै केन्द्रीय अतिथिले भेलामा भएको सदस्यको ज्यादै न्यून उपस्थितिबारे प्रश्न गर्दासमेत कोही जिम्मेवारले उत्तर दिन चाहेनन् ।

सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेको मतदाता र समर्थक–शुभचिन्तकको ठूलो संख्या रहे पनि जिल्ला पार्टीले सही नेतृत्व दिन सकेन र अनपेक्षित रूपमा हार व्यहोनुप-यो । वर्तमान नेतृत्वले त्यसको हालसम्म पनि वस्तुगत रूपमा गम्भीर छलफल गरेर योजना बनाउन सकेको छैन । ठूला नेताहरूको ठेलमठेलमा स्थानीय नेता–कार्यकर्ता मिचिएका छन् । काठमाडांैमा ठूलाठूला कुरा गर्ने, नेताहरूको निवास र पार्टी केन्द्र गोलचक्कर लगाइरहने र जिल्लामा एक दिन पनि बिताउन नचाहने, जिल्लामा देखिने कार्यक्रममा भने उपस्थित हुने नेतृत्वपङ्क्ति रहेसम्म यस्ता जुनसुकै अभियान सफल नहुने बताउनेको संख्या बलियो छ एमाले पार्टीभित्र ।

जिल्लाका नेताहरू आफैँ अनुशासित र परिवार, गाउँ, समाज र पार्टीमा नमुना बन्नुपर्ने र मातहतका नेता–कार्यकर्तालाई पनि अनुशासित र आदर्श व्यक्ति बन्न प्रेरित गर्न बाँकी नै छ । नेकपा (एमाले)का नेता–कार्यकर्ता समाजमा रहेका असल मान्छेभन्दा पनि ज्ञान, व्यवहार र आचरणमा श्रेष्ठ नभएको गुनासो ज्यादै नै रहेको छ । यो अभियानले पार्टी र जनसङ्गठन आमजनसमुदाय तहमा पुग्नैपर्ने भएकाले पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गरिएको जनाइए तापनि नुवाकोटमा भने ‘मिसन ग्रासरुट’ होइन मिसन झ्यासझुस पो हुने हो कि भन्न आशंका रहेको नाम नबताउने सर्तमा एकजना जिल्ला नेताले बताए ।

नुवाकोट पार्टी सङ्गठनभित्र अर्को गम्भीर समस्याका रूपमा रहेको अल्छीपन, अराजक, अनुशासनहीनताको अवस्थाबाट चिन्तित हुनुपर्ने र निर्ममतापूर्वक समीक्षा गरी कदम चाल्नु आवश्यक छ । अभियानले अनुशासनसम्बन्धी तालिम दिएर कार्यकर्ता र नेता हुनुको अर्थ सिकाउनुपर्ने पनि त्यत्तिकै आवश्यक छ ।

No comments:

Post a Comment