![]() |
प्राधिकरणले गरेको ‘ल्यान्ड मार्किङ’ |
त्रिशुली । त्रिशुली जलविद्युत् आयोजनाको जग्गा अतिक्रमण हुन थालेपछि ‘ल्यान्ड मार्किङ’ सुरु गरिएको छ ।
आयोजनाले ५० प्रतिशत जग्गा अतिक्रमण भएकोले ल्यान्ड मार्किङको काम सुरु गरेको जनाएको छ ।
जलविद्युत् आयोजना निर्माण गर्दा सरकारले करिब ३५ सय रोपनी जग्गा स्थानीयबाट अधिग्रहण गरेको थियो । बाँध बनाउने क्रममा तत्कालीन समयमा अधिग्रहण गरिएको जमिनबाट माटो निकालिएको त्रिशूली जलविद्युत् आयोजना वितरण केन्द्र प्रमुख बाबुराजा महर्जनले बताए । उनका अनुसार तत्कालीन सरकारले जग्गा अधिग्रहण गरेर माटो सम्याउनका लागि थप जग्गा अधिग्रहण गरिएको थियो । तर,जग्गा उपयोग नभएपछि स्थानीयले त्यहाँ अतिक्रमण गरेको आयोजनाले जनाएको छ । त्रिशुलीजलविद्युत् आयोजनाका लागि त्रिशूली नदीमा बनाइएको बाँध । नदीबाट बहने करिब ९० प्रतिशत पानी जलविद्युत् उत्पादनका लागि लगिँदै आइएको छ ।
त्रिशुली जलविद्युत् आयोजनाको निर्माणका लागि सन् १९५८ को नोभेम्बर २० मा नेपाल र भारत सरकारबीच समझदारी भएको थियो । नेपाल विद्युत् प्राधिकरणका अनुसार तत्कालीन समयमा आयोजना निर्माणका लागि भारत सरकारको १४ करोड भारु खर्च भएको थियो । सम्झौता भएको करिब ९ वर्षपछि आयोजना सञ्चालनमा आएको महर्जनले बताए । सुरुवातमा २१ मेगावाट क्षमताको भए पनि सन् १९९५ मा स्तरोन्नति गर्दै आयोजनाको क्षमता २४ मेगावाटको बनाइएको थियो ।
हाल त्रिशुली जलविद्युत् आयोजनाका अतिक्रमित जमिन विदुर नगरपालिकाको वडा नम्बर ७,९ र १ नम्बर वडामा पर्छन् । ती क्षेत्रमा रहेका ५० प्रतिशत जग्गा अतिक्रमण भएको हो । ‘२ सयदेखि ३ सय वटा घरटहरा आयोजनाको जग्गामा निर्माण भएका छन्,’ महर्जनले भने । भूकम्पअगाडि सामान्य किसिमका संरचना भए पनि भूकम्प पुर्ननिर्माण प्राधिकरणले घर निर्माणका लागि पीडितहरूलाई अनुदान दिएको थियो । अनुदानबाट प्राप्त रकमबाट आयोजनाको जग्गाभित्रै ती कंक्रिटका संरचना निर्माण भएको बताइएको छ । धेरै नै घरटहरा भएपछि आयोजनाले जग्गा अतिक्रमण गरेर निर्माण भएका घर हटाउन सकेको छैन ।
जग्गा अतिक्रमण थप बढ्न सक्ने भएकाले ‘ल्यान्ड मार्किङ’को काम सुरु गरिएको महर्जनले जानकारी दिए । हाल ७ सय वटा कुनामा विद्युत् प्राधिकरणको लोगोअंकित पहेँलो रंगको पिल्लर गाडेर रेखांकनको काम सुरु गरिएको छ । यो कार्यका लागि पछिल्ला ५ वर्षमा डेढ करोड रुपैयाँ खर्च गरेको छ । ‘आयोजना निर्माणका लागि खरिद गरिएको जग्गाबाट माटो निकालेर बाँध बनाउन प्रयोग भएको थियो,’ महर्जनले कान्तिपुरसित भने, ‘त्यो जग्गा प्रयोग नभइकन त्यत्तिकै थियो विस्तारै अतिक्रमणमा परेको देखिन्छ । पहिल्यै डिमार्केसन गरेको थियो भने यो अवस्था हुँदैन थियो । ’ डिमार्केसन गरिएको क्षेत्रमा वृक्षारोपण गरिएको छ । ५ सयभन्दा बढी वटा बिरुवा रोपिएको महर्जनले जानकारी दिए ।
३० वर्षपछि जलाशय सफाइ
जलाशय क्षेत्रमा बालुवा र लेदोको मात्रा धेरै भएपछि त्रिशुली जलविद्युत् आयोजनाले ३० वर्षपछि सफा गर्न थालिएको छ । आयोजनाका कर्मचारी हरिप्रसाद प्याकुरेलका अनुसार २०४९ सालपछि जलाशय सफा गरिएको थिएन । पिक समयमा धेरै उत्पादन गर्ने र सुक्खा समयमा पानी जम्मा गरेर विद्युत् उत्पादन गर्ने परियोजना भएकाले त्रिशुलीमा ४ सय रोपनीको क्षेत्रफलमा १ लाख ३० हजार स्क्वायर मिटर क्षेत्रफलको जलाशय निर्माण गरिएको थियो ।
जलाशयमा बालुवा भरिँदा पिक समयमा उत्पादन क्षमता कम हुने गरेको छ । ‘नदीमा आधरित परियोजना हो त्रिशुली, त्यसैले जलाशयमा बालुवा भरिनु स्वभाविक हो,’ महर्जनले कान्तिपुरसित भने, ‘ पानी जम्मा गर्नका लागि हामीले पोखरी बनाएका थियौं । ३० वर्षसम्म धेरै ने बालुवा भरिएकाले पानी भण्डारण क्षमताअनुसार हुन सकिरहेको थिएन ।’ बालुवाको मात्रा धेरै हुँदा पानी चाहिने समयमा कम भण्डारण हुँदा पिक समयमा धेरै समयसम्मका लागि मात्रै विद्युत् उत्पादन हुँदै आएको छ । ‘दिउँसोलाई भन्दा बिहान र बेलुका ३÷४ घण्टाको पिक समयमा विद्युत् आपूर्ति धेरै हुन्छ । राति १० बजेसम्म विद्युत् आपूर्तिको माग धेरै नै गरेको छ,’ महर्जनले भने, ‘ बालुवा धेरै थुप्रिँदा पानी कम जम्मा हुन्छ र लामो समयसम्म विद्युत् उत्पादन नहुँदा एक्स्काभेटर पनि प्रयोग गर्दै आएको थियो ।’
तर उक्त मेसिनले हरेक १५ मिनेटमा साढे ५ फिट गहिराइ र ३० मिटरको चौडाइ क्षेत्रफलको मात्रै बालुवा निकाल्ने भएकाले जलाशयमा बालुवाको मात्रा थुप्रिँदै गएको थियो । जलाशयमा २ लाख घनमिटर बालुवा जम्मा भएको विद्युत् प्राधिकरणले जनाएको छ । फागुनभित्र बालुवा निकाल्ने काम सम्पन्न हुने महर्जनले जानकारी दिए । यसरी जम्मा भएको लेदोसहितको माटो उपयोग गर्न नमिल्ने भएपछि प्राधिकरणले आफ्नै जमिनमा लगेर व्यवस्थापन गरिरहेको छ । करिब १४ करोडको ठेक्का लगाएर बालुवा निकाल्ने काम भइरहेको छ । १२ सय मिटरको बाइपास क्यानल(नहर) निर्माण गरेर विद्युत् उत्पादन भइरहेको छ । यो जलाशय करिब ४ सय रोपनी क्षेत्रफलमा फैलिएको छ । नयाँ निर्माण गरिएको नहर ।
जलाशय सफा गर्नुपर्ने भएपछि आयोजनाले १२ सय मिटर लम्बाइको बाइपास नहर निर्माण गरेको छ । विदुर नगरपालिकाले पनि जलाशय क्षेत्रको करिब २ सय ५० रोपनी क्षेत्रफलमा जलविहार गर्नका लागि परियोजना निर्माण भइरहेको नगर प्रमुख राजन श्रेष्ठले जानकारी दिए । प्राधिकरणसँगको सहकार्यमा जलबिहार गर्ने र पर्यापर्यटन विकासका लागि योजना बनाइएको श्रेष्ठले बताए । हाल डीपीआर गर्ने÷नगर्ने भन्ने विषयमा छलफल भइरहेको उनले बताए ।
जलविद्युत् उत्पादनस्थल । यहाँ ७ वटा युनिट रहेका छन् । ६ वटा युनिटले ३ दशमलव ५ मेगावट र एउटा युनिटले ३ मेघावाट गरेर २४ मेगावाट विद्युत उत्पादन गर्छन् ।
यसैबीच, मुलुककै पुरानो जलविद्युत् आयोजना त्रिशुलीको जीर्णोद्धार र आधुनिकीकरणको काम भइरहेको छ । अहिले जलाशय क्षेत्रमा जम्मा भएको बालुवा र लेदो निकाल्ने कामबाहेक नयाँ उपकरण जडान तथा ट्रान्सफर्मरसमेत परिवर्तन गर्ने काम भइरहेको छ । प्राधिकरणको अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन अनुसार त्रिशुल जलविद्युत आयोजनाले गत वर्ष १३७.१ गिगावाट विद्युत् उत्पादन गरेको थियो । त्रिशूलीको कूल क्षमता १६३ गिगावाट विद्युत् उत्पादन रहेको छ । स्थापना भएयता आयोजनाले ५ हजार ६९३.९३ गिगावट विद्युत् उत्पादन गरेको प्राधिकरणले जनाएको छ
No comments:
Post a Comment