कार्यकर्ताको आवाज सुन्नु जरुरी
नेकपा एमालेले वैचारिक तथा साङ्गठनिक सुदृढीकरण लागि दुई महिने ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । निर्वाचनपछि पार्टी र जनताको सम्बन्ध ताजगीकरण गर्न एमालेले सो अभियान सुरु गरेको हो । नुवाकोटमा शनिवारबाट अभियान सुरु भएको छ । अभियानका क्रममा यही फागुन ५ मा सातै प्रदेशमा अभिमुखीकरण कार्यक्रम आयोजना भएको छ । पन्ध्रौँ सचिवालय बैठकले पार्टीको आन्तरिक जीवनलाई व्यवस्थित गर्न पार्टी सुदृढीकरण तथा विस्तार अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । पार्टीको वैचारिक तथा साङ्गठनिक सुदृढीकरण अभियानमा केन्द्रीय कमिटीका सदस्य दुई महिना स्थानीय तहमा रहेर पार्टीले निर्धारण गरेका ११ वटा कार्ययोजनाअनुसार कार्यसम्पादन गर्नुपर्नेछ । नुवाकोट, रसुवा र धादिङसहित ७७ वटै जिल्लामा फागुन ९ गतेदेखि नेकपा एमालेले ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेको छ । एमालेले पार्टी सुढृदीकरण तथा विस्तारका लागि ‘मिसन ग्रासरुट’ अभियान सुरु गरेकोछ । एमाले नुवाकोटले शनिबार जिल्ला कमिटीको बैठक गरेर अभियानलाई १२ वटै पालिका र ८८ वटै वडामा गर्ने कार्यक्रम तय गरेको छ । सङ्गठित सदस्य बढी भए पनि पार्टी सङ्गठन क्रियाशील हुन नसकेकाले सक्रिय र सङ्गठनप्रति आबद्ध सदस्यको भौतिक उपस्थितिमा सदस्यता नवीकरण गर्ने निर्देशन पनि आएको समाचार सार्वजनिक भएका छन् । नुवाकोट जिल्लाको १२ वटै पालिकामा केन्द्रीय प्रतिनिधिसँगै बागमती प्रदेश कमिटी, क्षेत्रीय कमिटी, प्रदेश कमिटी र जिल्ला कमिटीका सदस्यलाई फरक–फरक भूगोलमा खटाइएको छ । खटाइएको प्रतिनिधिसँगै पालिका कमिटीको अध्यक्ष र पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने छ । यो अभियानमा जिल्ला कमिटीका, प्रदेश, क्षेत्र र वडा कमिटीका सबै पदाधिकारी र सदस्यको हाजिरी रेकर्ड राख्नसमेत जिल्लाले निर्देशन गरेको छ । जिल्लामा सम्पन्न बैठकले अभियानका लागि जिल्ला आएका केन्द्रीय सदस्यसहित प्रदेश कमिटी सदस्य, जिल्ला कमिटीका पदाधिकारी र पालिका कमिटीका अध्यक्षहरूको संयुक्त बैठक बसेर वडा तहका कार्यक्रम बनाइरहेको छ ।
पार्टीका सबै नेता–कार्यकर्ता एउटै लयमा हिँड्नुपर्नेमा कहिलेकाहीँ अन्तर्विरोध देखिने गरेकाले अनौपचारिक संवादका माध्यमबाट पनि समझदारी कायम गरेर अघि बढ्नुपर्ने पार्टीलाई एकताबद्ध लयमा हिँडाउनु अहिलेको आवश्यकता रहेकाले पनि यो अभियानले पार्टी थप व्यवस्थित र बलियो बन्नुका साथै कार्यकर्ताको सक्रियता पनि बढ्ने छ । स्थानीय तहको परिणामपछि विभिन्न तहमा समीक्षा गर्दै केन्द्रको निर्देशनअनुरूप त्यस निर्वाचनमा देखिएका कमी–कजोरीलाई सच्याउने, आपसमा देखिएका मनमुटाव हटाउने, कमजोर बनेका सङ्गठन सङ्गठित र सुदृढ बनाउँदै निराश बनेको मनस्थितिमा ऊर्जा थपेर मङ्सिर ४ को प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा जाने तयारी प्रदेश कमिटीको तर्फबाट राम्रैसँग गरिए तापनि एमालेको ठूलो पङ्क्तिमा एकखालको नैराश्यता र निष्क्रियता बढिरहेको थियो । पछिल्लो समयमा समाजका विभिन्न क्षेत्रमा विकृति–विसङ्गति, कार्यकर्ताको बीचमा अराजकता, स्वछन्दता बढिरहेकाले पार्टीको मूल्य, मान्यता र परम्परामा ह्रास आउन खोजिरहेका घटनाप्रति एमालेको इमानदार पङ्क्तिमा चिन्ता व्याप्त थियो । समाजका सम्पूर्ण अवयवलाई आपसी सहिष्णुता कायम गर्दै इमानदारिता, जवाफदेहिता, नैतिकता र पारदर्शितालाई उच्च प्राथमिकता दिन पार्टीले कार्यक्रम र्न ढिला भइसकेको थियो ।
पार्टी र सङ्गठन चल्ने विचारले हो । हामीसँग हाम्रो पार्टी सञ्चालनका लागि मात्र होइन देश सञ्चालन गर्ने सही दृष्टिकोण र विचार छ । तसर्थ यो विचार आमपार्टी पङ्क्ति र जनताका बीचमा पु¥याउनु जरुरी छ । पार्टी पङ्क्तिभित्र राजनीतिक, सैद्धान्तिक र साङ्गठनिक प्रशिक्षण सञ्चालन गर्ने र जनताका बीचमा जाँदा पार्टी विचारलाई व्यवस्थित रूपले उनीहरूले बुझ्ने भाषामा राख्ने हैसियत नुवाकोट जिल्ला नेतृत्वले प्रमाणित गर्न सकेको छैन । आमकार्यकर्ता, शुभचिन्तक र पार्टी सदस्यका चरम नैराश्यता र जिल्लाको वर्तमान नेतृत्वप्रतिको असन्तुष्टि चरम रूपमा छ । सातौँ जिल्ला अधिवेशन भएको एक वर्ष बितिसक्दा पनि विधानतः जिल्ला कमिटीको संख्या कति हो भनेर टुङ्गो लगाउन सकेको छैन । कतिलाई म जिल्ला कमिटीको सदस्य छु कि छैन भन्नेसमेत थाहा छैन । विधानतः एक सय ४२ हो कि अहिले भन्ने गरिएको १८३ भन्ने नै टुङ्गो लागेको छैन । तीन हजार दुई सय शुल्क बुझाएका र खाएका उनीहरूलाई पटक–पटक अपमानित गर्ने गरिएको छ । नेतृत्वका आसेपासेलाई प्रश्रय दिने काम भएको छ ।
सम्पन्न स्थानीय, प्रदेश र संघीय निर्वाचनमा एमालेको मतदाता र समर्थक–शुभचिन्तकको ठूलो संख्या रहे पनि जिल्ला पार्टीले सही नेतृत्व दिन सकेन र अनपेक्षित रूपमा हार व्यहोनुप¥यो । वर्तमान नेतृत्वले त्यसको हालसम्म पनि वस्तुगत रूपमा गम्भीर छलफल गरेर योजना बनाउन सकेको छैन । ठूला नेताहरूको ठेलमठेलमा स्थानीय नेता–कार्यकर्ता मिचिएका छन् । काठमाडांैमा ठूलाठूला कुरा गर्ने, नेताहरूको निवास र पार्टी केन्द्र गोलचक्कर लगाइरहने र जिल्लामा एक दिन पनि बिताउन नचाहने, जिल्लामा देखिने कार्यक्रममा भने उपस्थित हुने नेतृत्वपङ्क्ति रहेसम्म यस्ता जुनसुकै अभियान सफल नहुने बताउनेको संख्या बलियो छ एमाले पार्टीभित्र ।
जिल्लाका नेताहरू आफैँ अनुशासित र परिवार, गाउँ, समाज र पार्टीमा नमुना बन्नुपर्ने र मातहतका नेता–कार्यकर्तालाई पनि अनुशासित र आदर्श व्यक्ति बन्न प्रेरित गर्न‘ बाँकी नै छ । नेकपा (एमाले)का नेता–कार्यकर्ता समाजमा रहेका असल मान्छेभन्दा पनि ज्ञान, व्यवहार र आचरणमा श्रेष्ठ नभएको गुनासो ज्यादै नै रहेको छ । यो अभियानले पार्टी र जनसङ्गठन आमजनसमुदाय तहमा पुग्नैपर्ने भएकाले पार्टीका पक्षमा जनमत तयार हुने, कार्यकर्ता उत्पादन हुने, विषयगत दक्ष जनशक्ति तयार हुने र सम्बन्धित क्षेत्रका जनसमुदायसँग सम्बन्ध घनिष्ट हुने यथार्थलाई मध्यनजर गरिएको जनाइए तापनि नुवाकोटमा भने ‘मिसन ग्रासरुट’ होइन मिसन झ्यासझुस पो हुने हो कि भन्न आशङ्का रहेको नाम नबताउने सर्तमा एकजना जिल्ला नेताले बताए । नुवाकोट पार्टी सङ्गठनभित्र अर्को गम्भीर समस्याका रूपमा रहेको अल्छीपन, अराजक, अनुशासनहीनताको अवस्थाबाट चिन्तित हुनुपर्ने र निर्ममतापूर्वक समीक्षा गरी कदम चाल्नु आवश्यक छ । अभियानले अनुशासनसम्बन्धी तालिम दिएर कार्यकर्ता र नेता हुनुको अर्थ सिकाउनुपर्ने पनि त्यत्तिकै आवश्यक छ ।
No comments:
Post a Comment