बट्टार । विश्वविद्यालय अनुदान आयोगले विश्व बैंकको ऋण सहयोगमा सञ्चालनमा ल्याएको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम अन्तर्गतको विस्तारित कार्यसम्पादनमा आधारित अनुदान कार्यक्रममा नुवाकोट आदर्श बहुमुखी क्याम्पस छनोट भएको छ ।
क्याम्पस अनुदान कार्यक्रममा सहभागिताका लागि प्राप्त भएको प्रस्तावना मूल्याङ्कनका आधारमा छनोट भएको हो । क्याम्पसले निर्धारित मापदण्ड पूरा गरेको तथा शैक्षिक गुणस्तर अभिवृद्धिसमेत भएको र क्याम्पसको लक्ष्य, रणनीतिक योजना, नीति तथा कार्यक्रम, सुशासन, तथ्याङ्क व्यवस्थापनसमेतको आधारमा परियोजनामा छनोट भएको क्याम्पस प्रमुख सुकुमान डङ्गोलले बताए । यो परियोजनाअन्तर्गत शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न १९ वटा क्षेत्रमा कार्य गर्न सकिनेसमेत क्याम्पस प्रमुख डङ्गोलले बताए । एक अब्बल क्याम्पस नुवाकोट आदर्श बहुमुखी क्याम्पस रसुवा, नुवाकोट र धादिङको एक ऐतिहासिक पृष्ठभूमिले सज्जित क्याम्पस, त्रिदेशीयमार्ग पासाङल्हामु राजमार्गमा अवस्थित यस क्याम्पसमा हाल बहुसङ्कायमा स्नातकोत्तर तहसम्म पठन–पाठन भइरहेको छ ।
२०४२ माघमा स्थापित क्याम्पस विभिन्न आरोह–अवरोह पार गर्दै आफ्नो गतिमा अघि बढिरहेको छ । भौतिक, भौगोलिक, शैक्षिक ब्रान्डको हिसाबले यो क्याम्पस आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । क्याम्पस परिवर्तन गर्न र विकास गर्नका लागि विभिन्न प्रयास भएका छन् । यी प्रयासमध्ये विश्वविद्यालय अनुदान आयोगद्वारा सञ्चालित उच्च शिक्षा परियोजनामा सी स्किममा छनोट भई उच्च कार्यसम्पादन गर्न सफल भयो भने सन् २०१५ देखि २०२० अवधिका उच्च शिक्षा सुधार परियोजना सम्पन्न भइसकेको छ ।
गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्छ र उच्च शिक्षालाई अन्तर्राष्ट्रिय मापदण्डअनुसारको बनाउनुपर्छ भन्ने अभिप्रायले ०६८ सालदेखि नै गुणस्तरीय सुनिश्चितता प्रत्याभूति (क्युएए) प्रक्रियामा अघि बढेको थियो । क्युएए प्रक्रियाका एक सय २० वटा मापदण्डअन्तर्गतका कतिपय सूचक पूरा गर्दै अघि बढ्ने क्रम तथा ०७२ सालको भूकम्पको प्रभावका कारण ०७२ साल मङ्सिर १ गते स्वअध्ययन प्रतिवेदन पेस भई ०७६ साल असार ७ देखि ९ गतेसम्म प्रा.डा. वासुदेव काफ्लेको संयोजकत्वमा गठित समितिद्वारा प्रिभिजिट सम्पन्न भइसकेको छ । सो समितिले क्युएए प्रमाणीकरण गर्न विभिन्न आठवटा विधामा आवश्यक सुझाव प्रदान गरेको छ । हाल क्याम्पसले प्रिभिजिटबाट प्राप्त सुझाव पूरा गर्ने चरण रहेको छ ।
क्याम्पसको हातालाई व्यवस्थित तथा आकर्षक, क्यान्टिनको व्यवस्थापन, शिक्षक तथा कर्मचारीको व्यवस्थापन, कक्षाकोठालाई डिजिटलाइजनजस्ता कार्य सम्पन्न भइसकेको छ । सबै मापदण्ड लगभग पूरा भइसकेको र क्याम्पस र विभिन्न संघ–संस्थाको सम्बन्धका कारण क्याम्पसको भौतिक तथा शैक्षिक गतिविधिमा आमुल परिवर्तन हँुदै गएको छ । क्याम्पसप्रमुख डङ्गोलले विशेष गरेर क्याम्पसमा अध्ययनरत विद्यार्थीलाई वर्क एन्ड स्टडीमा केन्द्रीकृत गर्नका लागि क्याम्पसका प्राध्यापकको टिमबाट अध्ययन गर्ने कार्य भइरहेको बताए । निकट भविष्यमा नै विभिन्न दातृ निकाय तथा सङ्घ–संस्थाको सहकार्यका विद्यार्थीलाई रोजगारीको सिर्जनाका साथै दिगो आर्थिक विकासमा लगाई कामका लागि बिदेसिने वातावरणको अन्त्य गर्ने लक्ष्य रहेको बताए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम श्रेष्ठका अनुसार हाल छनोट भएको परियोजनालाई सफल बनाई क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षलाई समेटेर उच्च शिक्षाको हबको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए । प्रिभिजिटको सुझावलाई कार्यान्वयनसमेत गरिसकेकाले निकट भविष्यमा नै अन्तिम भिजिट सम्पन्न गरी क्युएए प्रमाणीकरण गर्ने बताए ।
नेपालको संविधान, २०७२ ले देशभरमा तीन तहको सरकार र शिक्षाका अधिकार सुनिश्चित गर्न तीनै तहमा शैक्षिक अधिकारसमेत प्रत्यायोजन गरेको छ । यसरी हेर्दा नुवाकोट आदर्श बहुमुखी क्याम्पस भौगोलिक, राजनीतक तथा जनघनत्वको हिसाबले पनि बागमती प्रदेशको प्रादेशिक विश्वविद्यालयको रूपमा छलाङ मार्न जरुरी छ । क्याम्पसको भौतिक संरचनालाई भरपूर उपयोगमा ल्याई तीन तहको सरकारसँग उचित सम्मन्वय गर्न सकेको खण्डमा प्रादेशिक विश्वविद्यालयको परिकल्पना साकार हुनेछ । क्याम्पसमा मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन सङ्काय तथा ११, १२ कक्षा, स्नातक, स्नाकोत्तर तहमा गरी करिब एक हजार आठ सय विद्यार्थी अध्ययनरत छन् । करिब सात हजार विद्यार्थीले ग्य्राजुएट हासिल गरी देश तथा विदेशको विभिन्न क्षेत्रमा उच्च ओहोदामा आसिन हुन पुगेका छन् । करिब ५५ जना प्राध्यापक–कर्मचारी कार्यरत छन् । आगामी दिनमा बिएडआई सिटी, बिआइटी, बिसिए, बिएचएम, बिबिएलगायतका नयाँ विषय थप गर्ने योजना रहेको छ ।
No comments:
Post a Comment