Monday, March 06, 2023

लिच्छविकालीन विहारको अध्ययन

अध्ययन गरिएको नुवाकोटको लिच्छविकालीन विहार

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ सरस्वतीथानमा रहेको विहार/चैत्यको पुरातत्व विभागले अध्ययन थालेको छ । 

इतिहासअनुसार १४ सय वर्षअघि लिच्छविकालीन समयमा निर्माण गरिएको उक्त विहार जीर्ण भइ भग्नावशेषमा परिणत हुन लागेपछि विभागले उत्खनन कार्य थालेको हो । विभागले यहाँ अध्ययन र अन्वेषणसहित पुरातात्विक स्वरुपमा पुनर्निर्माणका लागि अध्ययन गर्ने जनाएको छ ।

हालै अध्ययनका लागि बेलायतको दुराम विश्वविद्यालयबाट आएका पुरातत्वविद्ले अत्याधुनिक उपकरणको प्रयोगगरी जमिनमुनि रहेका संरचनाको जानकारी संकलन गरेको विभाग मातहत नुवाकोटमा रहेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालय प्रमुख अर्ज‘न फुँयालले बताए । उनका अनुसार पाइएका स्वयम्भू–चैत्यको संरचना निकै पुरानो पाइएको छ । जमिनमुनिको पाइएको तथा देखिएका तथ्यका आधारमा अर्को चरण अध्ययन गरिने स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ ।

हालै स्वयम्भू(चैत्य)को अध्ययन गर्न बेलायतको दुराम विश्वविद्यालयका दुई सदस्य पुरातत्वविद् डंकन नेभिल्लेहे, इयुयान डेनिस जोन र पुरातत्व विभागका उपनिर्देशक रामबहादुर कुँवरको टोलीले अत्याधुनिक उपकरण प्रयोग गरेर विवरण संकलन गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयले जनाएको छ । सरस्वतीस्थानमा वरिपरि ढुंगाले बनेका साना चैत्यहरूका बीचमा फराकिलो पीठको बीचमा अर्को पूर्णता पूरा बाँकी रहेको मूल चैत्य अवस्थित छ ।

चैत्यको पूर्वी मोहडाको दायाँबायाँ दुई वटा सिंहको पत्थरमूर्ति राखेर प्रवेशब्दार बनाइएको छ । चैत्यको अगाडि बायाँ भागमा गणेशको मूर्ति रहेको छ । पुरातात्विक वस्तुको उत्खनन, संरक्षण र इतिहासको दस्तावेजलाई अध्ययन गरेर बाहिर ल्याउन नगरपालिका लागि परेको विदुर नगरपालिकाको मेयर राजन श्रेष्ठले बताए ।

लिच्छविकालीन राजा अंशुवर्माले वि.सं. ६६२ देखि ६७८ भित्रको शासनकालमा ती सरस्वतीथामा मन्दिर र चैत्य निर्माण गरिएको इतिहासमा रहेको छ । छोरी भृकुटी बस्ने ठाउँ, दक्षिणपूर्वी भेग फैलिएको स्थानमा अंशुवर्माले निर्माण गर्न लगाएका चैत्य, नजिकै भित्तामा भैरवको मूर्ति छ । मूर्तिका मुखभाग आधा पुटेको छ । 

पूर्वीकोणमा गणेशको मूर्ति छ । चैत्यमा पूर्व फर्केका दुई सिंह छन् । पश्चिम कोणमा तत्कालीन राजा पृथ्वीनारायण शाहले उक्त स्थानलाई मर्मत सुधार गरी लेखिएको शिला छ । मर्मत संभार हुन नसक्दा अक्षरहरू मेटिदै गएको छ । राजाले त्यतिबेला पूजाआजा गरी शक्ति मागेको किंवदन्ती छ । पश्चिमकोणमा दुई साना चैत्य छन् ।

सोही चैत्यको भित्तामा मञ्जुश्रीको मूर्ति छ । पूर्वोत्तर भागमा एउटा चैत्य छ । दक्षिणकोणपट्टिको एउटा सानो चैत्य मासिइसकेको छ । ती सबैलाई मिलाएर पञ्चबुद्ध समेत भन्ने गरिएको छ । पश्चिमपट्टी एउटा भत्केको पाटी छ । पश्चिम मोहडा फर्किएको नाटेश्वरीको मूर्ति छ । त्यसको उत्तरपट्टि सरस्वतीको मन्दिर छ । नजिकै बरको चौताराको रुख छ । सोही रुखमुनि अंशुवर्माले बनाएको झिंगटीको दरबार रहेको बुढापाकाको भनाइ थियो । भृकुटीको तिब्बतका राजा स्रंङचङगम्पोसँग विवाह भएपछि घर माइती गर्दा यही दरबारमा बस्ने गरेको किंवदन्ती छ ।

यही चैत्य १ सय मिटर पूर्वी भागमा एउटा धारा छ । यसलाई सहरपानी धारा नामले चिनिन्छ । यहीँ भृकुटीले नुहाउने गरेको अद्यपि किंवदन्ती रहिआएको छ । पहिला काठमाडौं, भक्तपुर, ललितपुर, कीर्तिपुरका नेवार समुदायहरू बाजा बजार पूजा गर्न यही चैत्यमा आउने गरेका थिए । अहिले त्रिशूलीका नेवार समुदायले विदुर नगरपालिका–१ बान्द्रेमा चैत्य बनाएपछि यता आउन छाडेका छन् ।


No comments:

Post a Comment