![]() |
सांसद हितबहादुर तामाङ |
चौघडा । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा संघीय सांसद हितबहादुर तामाङले राष्ट्रिय सहमति र एकताको पहलकदमी नलिए राजनीति खतरा पर्ने सक्ने बताएका छन् ।
नुवाकोट खेलकुद विकास समितिद्वारा लिखु गाउँपालिका–४, चौघडामा आयोजित जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता आइतबार उद्घाटन गर्दै सांसद तामाङले अहिलेको अवस्थामा राष्ट्रिय सहमति र एकताको पहलकदमी नेतृत्वले नलिए राजनीति भासमा डुब्ने धारणा राखे ।
‘आवश्यकता परेको बेलामा राष्ट्रिय सहमतिका निमित्त र राष्ट्रिय एकताको निमित्त पहलकदमी लिन सकेनौं । त्यस कित्तामा आफूलाई उभ्याउन सकेनौं भने राजनीति खतराको भाषमा डुब्न सक्ने संभावना छ,’ सांसद तामाङले भने, ‘त्यसलाई ख्यालमा राखेर युवा खेलाडीहरूले आफ्नो खेलको अतिरिक्त सबै वर्तमान परिवेशलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ ।’ नेता तामाङले मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै हरेक पेसा, व्यवसाय, युवा खेलाडी वा विद्यार्थीहरूमा राजनीतिप्रति वितृष्णा पैदा भएको बताए । उनले भने, ‘यो वितृष्णा के कारण ले पैदा भयो । राजनीतिप्रति युवाहरूको आकर्षण किन घटिराखेको छ । यसको व्यापकरुपमा छलफल गर्न‘पर्ने विषय निश्चितै हो ।’
सांसद तामाङले राजनीतिक स्थिरताका लागि लामो समयदेखि लडेर प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान कार्यन्वयन प्रक्रियामा अघि बढिराखेको बताए । उनले भ्रष्टाचाररहित समाज निर्माण गर्न युवाहरूलाई आह्वान गरे । पूर्व युवा तथा खेलकुदमन्त्री तामाङले खेलकुदको भौतिक पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै आफूले बजेटका लागि पहल गर्ने आश्वासन दिए । कार्यक्रममा संघीय सांसद विमला सुवेदी, जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंह ठकुरी, नेकपा एमालेका जिल्ला अध्यक्ष बद्री मैनाली, एमाले नेता पूर्णलाल श्रेष्ठ, तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङलगायतले खेलकुदको विकास गरी राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न पर्याप्त बजेट नभएको बताए । मंगलबारसम्म चल्ने प्रतियोगितामा एथ्लेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, कराते र उसु खेल हुने छन् ।
No comments:
Post a Comment