Sunday, March 05, 2023

महोत्सवको हिसाव चैतमा सार्वजनिक हुने

महोत्सव समापन समारोह

पिपलटार । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा माघ २७ गतेदेखि सुरु भएको महोत्सव फागुन १० गते बुधबार सम्पन्न भएको छ । २०६३ देखि सुरु भएको महोत्सवको यो सातौँ संस्करण भव्यताका साथ सम्पन्न भएको छ । महोत्सव विदुर नगरपालिका–५ पिपलटारमा भएको हो ।

सातौँ नुवाकोट महोत्सव १३ दिनसम्म सञ्चालन भएको थियो । महोत्सवको उद्घाटन नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री अर्ज‘ननरसिंह केसीले र समापन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य, पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले गरेका थिए । 

२०४५ सालमा स्थापना भएको संघले ०६३ मा पहिलो महोत्सव गरेको थियो । यसपटकको महोत्सवस्थल अहिलेसम्मकै ठूलो रहेकाले पार्किङ, दर्शकदीर्घा, स्टल क्षेत्र फराकिलो हुँदा अवलोकनकर्ताले सहज महसस गरेका थिए । महोत्सवस्थलमा ६० हजारभन्दा बढी दर्शक एकैपटक प्रवेश गर्न सक्ने र अट्न सक्ने व्यवस्थापन गरिएको संघका अध्यक्ष एवम् महोत्सव सञ्चालन मूल समितिका संयोजक ताराबहादुर कार्कीले बताए । महोत्सव डेढ लाखभन्दा बढीले अवलोकन गरेको संघले जानकारी दिएको छ । यसपटक महोत्सको नारा ‘धार्मिक ऐतिहासिक कला संस्कृतिको सम्वद्र्धन, दिगो आर्थिक विकासका लागि व्यावसायिक प्रवद्र्धन’ राखिएको थियो । 

अध्यक्ष कार्कीले बताएअनुसार महोत्सवमा स्थानीय उत्पादनका स्टललाई निःशुल्क र जिल्लाका व्यवसायीले राख्ने स्टललाई २० प्रतिशत छुटको व्यवस्था गरिएकाले जिल्लाको ४० भन्दा बढी व्यवसायीले स्टल राखेका थिए । जिल्लाको समग्र विकासका सम्भावनालाई उजागर गर्दा परम्परागत कला र संस्कृतिको जगेर्ना, व्यावसायिक कृषि, जलविद्युत्, पर्यटन, हस्तकला एवम् व्यापार व्यवसायलाई प्रवद्र्धन गरी जिल्लामा आर्थिक तथा लगानीमैत्री वातावरणको सिर्जना तथा बाह्य लगानीलाई आकर्षण गर्न महोत्सव केन्द्रित रहेको संघका द्वितीय उपाध्यक्ष सन्तोष उप्रेतीले बताए ।

महोत्सवमा प्रवेश टिकट प्रतिव्यक्ति सय रुपैयाँ, विद्यार्थीलाई परिचयपत्रको आधारमा ६० र ज्येष्ठ नागरिक, अपाङ्गता भएका र अशक्तलाई सरकारले जारी गरेको परिचयपत्रको आधारमा निःशुल्क गरिएको संघका प्रथम उपाध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए । जिल्लामै उत्पादित घरेलु सामग्रीदेखि लघु उद्यमीले उत्पादन गरेका सामग्री यसपटकको महोत्सवमा बिक्री र प्रदर्शनीका लागि राखिएकाले ती स्टल अवलोकनकर्ताले विशेष चासो र ध्यान खिचेको वरिष्ठ उपाध्यक्ष गीता अमात्यले बताइन् । 

महोत्सवको हिसाब चैत महिनाभित्र सार्वजनिक गरेर वैशाखको पहिलो हप्ता संघको अधिवेशन गर्ने कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठले जानकारी दिए । जिल्ला समन्वय समिति नुवाकोटसहित जिल्लाका १२ वटै स्थानीय तह नुवाकोट महोत्सवको सहआयोजक रहेको यो महोत्सवको व्यवस्थापन नारायणी फेयर एक्जिबिसन नेपालको र नेपाल उद्योग वाणिज्य महासङ्घ तथा नेपाल पर्यटन बोर्ड प्रवद्र्धक थिए ।

महोत्सवमा नेपाली काँग्रेसका केन्द्रीय प्रवक्ता एवम् पूर्वमन्त्री डा. प्रकाशशरण महत, नेकपा एमालेका प्रदेश कमिटीका सदस्य एवम् प्रतिनिधिसभाका निवर्तमान सांसद नारायणप्रसाद खतिवडा, संविधानसभाका सदस्यहरू राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, गोविन्द नेपाली, जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सभाका सदस्य एवम् नेपाली काँग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, बागमती प्रदेशका पूर्वप्रदेश सभा सदस्यद्वय बद्री मैनाली र हिरानाथ खतिवडा, पूर्वअर्थमन्त्री एवम् नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. रामशरण महत, प्रदेश सभाका सदस्य एवम् निवर्तमान उपसभामुख राधिका तामाङ, नेपाली काँग्रेस केन्द्रीय सदस्य एवम् नेपाली काँग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता बहादुरसिंह तामाङ, प्रदेश सभा सदस्य रामप्रसाद ढुङ्गानालगायतले महोत्सवको अवलोकनसहित फरक–फरक दिनको आतिथ्यता ग्रहणसमेत गरेका थिए । जिल्लामा यसअघि सम्पन्न भएका ६ वटा महोत्सवभन्दा बढी दर्शकले अवलोकन गरेको यो महोत्सवमा जिल्लाका सबै तह र तप्काका महानुभावको साथ र सहयोग रहेको महासचिव कृष्णप्रसाद अधिकारीले बताए ।

‘जिल्लाको विकासमा लामवद्ध बनौं’


पिपलटार । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं नुवाकोटबाट निर्वाचित संघीय सांसद हितबहादुर तामाङले नुवाकोट राजनीतिक रुपमा मात्रै नभई प्राकृतिकरुपमा सौन्दर्यले भरिएको जिल्ला भएको बताएका छन् ।

विदुर नगरपालिका–५ पिपलटारमा आयोजित सातौं नुवाकोट महोत्सवको समापन कार्यक्रममा बुधबार सांसद तामाङले ककनी र शिवपुरीका डाँडाबाट उत्तरी क्षेत्रको हिमाली सम्पदा, धार्मिक हिसाबले पनि थुप्रै तीर्थस्थलले पर्यटकलाई आकर्षित गरिरहेको उनले बताए । नुवाकोट व्यापारिक रुपले विकसित भइरहेको भन्दै सांसद तामाङले चीन र भारतलाई जोड्ने जिल्लाको रुपमा विकास हुने बताए । उनले केही वर्षभित्रमा चीनको केरुङ–नुवाकोट हुँदै काठमाडौ जिल्लालाई रेलले जोड्ने र सुरुङ मार्गको सुरुवात हुने बताए । नुवाकोटलाई राजनीतिकरुपमा कुनै पूर्वाग्रह नराखीकन सबै पार्टी, जुनसुकै विचारधारा भए पनि जिल्लाको विकास गर्ने सवालमा एकताबद्ध भएर सहकार्य गरेर अगाडि बढ्न सांसद तामाङले सबैलाई आह्वान गरेका छन् । उनले कृषि, पर्यटन र औद्योगिक विकासका लागि साझा अवधारण बनाई अगाडि बढ्नपर्ने पनि बताए ।

नेपालको राजनीतिलाई स्थायित्व प्रदान गर्न, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षा र कार्यान्वयन गरी आगामी दिनको राजनीति संघीयस्तरमा मात्र नभई प्रदेशस्तर, स्थानीयस्तरमा र पालिकास्तरमा सहकार्य गरेर अगाडि बढ्नुपर्ने आवश्यकता उनले औंल्याए । 

No comments:

Post a Comment