विदुर । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका कारण दैनिक पठनपाठनलगायत शैक्षिक गतिविधि प्रभावित नहोस् भनेर चार दिन मात्रै प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ । त्रिवि कार्यकारी परिषद्को निर्णयअनुसार चैत ५ गते मा देशभरका आंगिक, सामुदायिक र निजी क्याम्पसमा निर्वाचन हुँदै छ ।
स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०७९, आचारसंहिता र समय तालिका जारी गर्दै त्रिविले फागुन २९ दिउँसो २ बजेदेखि चैत २ राति १२ बजेसम्म मात्र चुनाव प्रचार गर्न पाउने व्यवस्था गरेको हो । त्यसपछि ४८ घण्टे मौनअवधि सुरु हुनेछ । २९ गते उम्मेदवारको अन्तिम नामवली प्रकाशित भएपछि मात्रै प्रचारप्रसार गर्न पाइने स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले बताए । फागुन २७ मा प्रत्यक्ष र सामानुपातिकतर्फको उम्मेदवारी दर्ता गर्ने समयतालिका प्रकाशित गरिएको छ । त्यसअघि नै उम्मेदवारी दिन चाहने संघ, संगठन वा समूह दर्ता गर्नुपर्नेछ । फागुन १९ मा सम्बन्धित क्याम्पस निर्वाचन समितिमा दर्ता गरेपछि आधिकारिक रूपमा स्ववियु निर्वाचनको गतिविधि अघि बढ्ने अधिकारीले जनाए । ‘प्रत्यक्षतर्फ स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइन्छ, संघ÷संगठनबाहेक विद्यार्थीहरूले समूह बनाएर पनि प्रत्यक्ष र समानुपातिकमा चुनाव लड्न सक्छन्,’ उनले भने ।
प्रचारका क्रममा भित्ते लेखन गर्न, तुल, फ्लेक्स, पोस्टर टाँस्न र माइकिङ गर्न भने रोक लगाइएको छ । ‘क्याम्पस कम्पाउन्डको बाहिर, भित्र र परिसरमा भित्तेलेखन गर्न पाइने छैन, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै पनि प्रकारको पोस्टर टाँस्न पाइने छैन,’ आचारसंहितामा छ,’ त्रिवि वा क्याम्पसलाई हानि–नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार र अन्य गतिविधि गर्न पाइने छैन । माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइने छैन ।’
उम्मेदवारी दिने संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले निर्वाचन घोषणापत्र, उम्मेदवार नामावलीको पर्चा ‘ए फोर’ साइजको एकै रङमा भने प्रयोग गर्न सकिने केन्द्रीय निर्वाचन समितिले जनाएको छ । क्याम्पस निर्वाचन समितिले उम्मेदवारलाई एउटै मञ्चमा राखेर परिचयात्मक कार्यक्रम सञ्चालन गर्न दिने भएको छ । निर्वाचन अवधिमा बन्द हडताल गर्न रोक लगाइएको छ । विद्यार्थी संगठन लगायत सरोकारवालासँग छलफल गरेर आचारसंहिता जारी गरिएको सदस्यसचिव अधिकारीले बताए ।
स्ववियु निर्वाचनका लागि राजनीतिक दलसँग निकट २३ वटा विद्यार्थी संगठन केन्द्रीय निर्वाचन समितिको सम्पर्कमा आएका छन् । निर्वाचन लड्नका लागि सम्बन्धित क्याम्पसमा नै संगठन वा समूह दर्ता गर्नुपर्छ । प्रत्यक्षतर्फ भने स्वतन्त्र रूपमा पनि उम्मेदवारी दिन पाइनेछ । काठमाडौं उपत्यकाका २२ सहित ६२ आंगिक र १ हजार ४० सम्बन्धनप्राप्त क्याम्पसमा निर्वाचन गर्न त्रिविले सर्कुलर गरेको छ । क्याम्पसमा निर्वाचन गराउने जिम्मेवारी क्याम्पस प्रमुखलाई तोकिएको छ । उनले निर्वाचन अधिकृत नियुक्त गरी चुनाव सम्पन्न गराउनुपर्नेछ । कुनै कारणवंश तोकिएको मिति (चैत ५) मा निर्वाचन गराउन नसक्ने क्याम्पसले निर्वाचन अधिकृतको सिफारिसमा ३० दिनभित्र गराउनुपर्ने व्यवस्था निर्देशिका गरेको छ ।
त्रिवि कार्यकारी परिषद्बाट स्वीकृत गराएर निर्देशिका लागू गरिएको हो । ‘स्ववियु निर्वाचनलाई तकडभडक र राजनीतिक दाउपेचभन्दा पनि सामान्य प्रक्रियाको रूपमा लिन सबैलाई आग्रह गरेका छौं, क्याम्पस, विद्यार्थीले आफ्नो स्ववियु आफैं छनोट गरेर हामीलाई जानकारी दिए पनि हुन्छ,’ सदस्यसचिव अधिकारीले थपे, ‘विद्यार्थी संगठनले राजनीतिक दाउपेचभन्दा पनि स्ववियुको आवश्यकता महसुस गरेर सहयोग गरेका छन् ।
निर्वाचनमा उम्मेदवार बन्न २८ वर्षे उमेरहद लागू गरिएको छ । क्याम्पस प्रमुखहरूले उमेर नाघेर उम्मेदवार बन्न नपाउने तर विद्यार्थी संगठनमा सक्रिय विद्यार्थीबाट असहयोग हुने आशंका गरेका छन् ।
No comments:
Post a Comment