Friday, April 07, 2023

२०७९ साल चैत ६ गतेको सम्पादकीय

स्ववियु समय सापेक्ष बनाउनु आवश्यक

स्वतन्त्र विद्यार्थी युनियन सबै विद्यार्थीको मतद्वारा चुनिने एउटा वैधानिक संस्था हो । देश, काल र समयअनुसार स्ववियुको स्थापना तथा नामकरण फरक ढंगले गरिए पनि संसारका चर्चित तथा राम्रा विश्वविद्यालयमा पनि स्ववियु वा विद्यार्थी मञ्च छ । पञ्चायती व्यवस्थामा उपत्यकाका हाईस्कुलमा विद्यार्थी युनियनको अभ्यास २०१९ सालअगाडिदेखि नै हुँदै आएको पाइन्छ । त्रिभुवन विश्वविद्यालयमा भने २०२० साल स्ववियु स्थापना भयो । १९ वैशाख, २०२० मा त्रिभुवन विश्वविद्यालयका विद्यार्थी डम्मरवीर थापा र भक्तगोविन्द श्रेष्ठलाई त्यस वेलाका विश्वविद्यालय प्रमुख सूर्यबहादुर शाक्यले कारबाही गरे । सो कारबाहीविरुद्ध विद्यार्थी जमात मूलतः स्ववियु खोल्न पाउनुपर्ने मागसहित आन्दोलित बन्यो, परिणामस्वरूप त्रिविमा स्ववियु स्थापना भयो । २० भदौ २०२० मा त्रिविमा विद्यार्थी युनियनको पहिलो निर्वाचन सम्पन्न भयो । त्यसपछि विद्यार्थी युनियनको नाम परिवर्तन गरी स्वतन्त्र विद्यार्थी युनियन राखियो । 

पञ्चायती व्यवस्थामा राजनीतिक व्यवस्थालाई चुनौती दिँदै हुर्किएको स्ववियुले के आजको राजनीतिक व्यवस्थाका दुर्गुणमाथि प्रश्न गर्न सक्छ ? क्याम्पसका ठेक्कापट्टा, शिक्षक नियुक्ति, नक्कली कार्ड, थेसिस बेचबिखन, प्रश्नपत्र खरिद–बिक्री, विद्यार्थी भर्नाको रकममा अनियमितता, प्रशासनसँग विभिन्न बहानामा पैसाको लेनदेन आदि तमाम मुद्दामा आजको विद्यार्थी आन्दोलन र स्ववियु अल्झिरहेको छ । समयको पदचापलाई पछ्याउने स्ववियु निर्माणको दिशातर्फ समग्र विद्यार्थी आन्दोलन अग्रसर हुन जरुरी छ । वास्तवमा स्ववियु विद्यार्थी हकहित र अधिकार प्राप्तिका लागि मात्रै नभई जनजीविकाका सवाल र राष्टिूयताका सवालमा पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले स्ववियुलाई पनि समय सापेक्ष बनाउँदै लैजानु आवश्यक छ । अनियमितता र भ्रष्टाचारको अखडा बनेको स्ववियुलाई हामीले विद्यार्थी हकहितका लागि प्रयोग गर्नु आवश्यक छ । करोडौँ पैसा खर्च गरेर नक्कली विद्यार्थी भर्ना गरी गुन्डागर्दीको आडमा चुनाव जित्ने र जितेपछि कहिल्यै विद्यार्थीको माझमा नफर्कने, चुनावमा भएको खर्च असुल्नका लागि विद्यार्थी कल्याणकारी कोषको दुरुपयोग गर्ने परम्पराको अन्त्य गर्नु जरुरी छ । त्यसका लागि सुरुबाटै आचारसंहिता बनाएर जानु उपयुक्त हुन्छ ।  

चुनावको नतिजा आफ्नो पक्षमा नआउने देखिएपछि कुनै न कुनै बहाना बनाएर चुनाव रोक्ने प्रवृत्तिको सिकार स्ववियु चुनाव बन्दै आएको छ । कथंकदाचित टेबुल टकबाट चुनाव रोक्ने प्रयास विफल भए हिंसा र विध्वंसमा समेत विद्यार्थी संगठन उत्रिएका दृष्टान्त छन् । उनीहरूका यस्ता काममा शासक दलले साथ दिएका छन् । सत्ताको दुरुपयोग हुने गरेको छ । विद्यार्थी संगठनका नाममा हुने विध्वंशात्मक घटना र सत्ता दुरुपयोगले विद्यार्थी आन्दोलन अझ बदनाम बन्यो । शासक दलसम्बद्ध विद्यार्थी संगठनका गलत क्रियाकलापले समग्र विद्यार्थी राजनीति बदनाम हुँदा स्ववियु चुनावको उपादेयतामाथि नै प्रश्न उठ्न थाल्यो । लोकतान्त्रिक र शैक्षिक रूपान्तरणको आन्दोलनको धरोहर स्ववियु निर्वाचनलाई पञ्चायत वा माओवादी हिंसाले पनि रोक्न सकेको थिएन । 

विद्यार्थी आन्दोलनको ऐतिहासिक उपलब्धिका रूपमा स्थापित स्ववियुमा पछिल्ला वर्षमा देखिएका गुन्डागर्दी, अपारदर्शिता र आर्थिक अनियमितता मौलाउन थालेको छ । विकृति नै विकृति मौलाएकोले यसमा आमूल सुधार आवश्यक छ । स्ववियु निर्वाचनमा भइरहेका चुनावी प्रचार–प्रसारका व्यापक तडकभडक र आर्थिक गतिविधिका अस्वाभाविक प्रक्रिया विगतभन्दा भिन्न, पारदर्शी र समयानुकूल बनाउन आवश्यक छ । 

क्याम्पस र विश्वविद्यालयमा नयाँ पुस्ता मात्र आइरहेको छैन । उसले नयाँ सोचविचारसहितको पद्धति अँगाल्ने नयाँ दिमाग पनि ल्याएको छ । त्यसलाई सम्बोधन गर्ने हामीसँग के नयाँ सोच, शैली, विवेक, पद्धति र कार्ययोजना छ ? सबैले आफैँलाई सोध्नुपर्ने प्रश्न हो यो । त्यो हुन सकेन भने आफ्नो संगठनको नामको अघिल्तिर महान तथा गौरवशाली संगठन भन्ने फुर्को जोडेर मात्र काम चल्नेवाला छैन । 

यसै पनि सरकारी शैक्षिक संस्थाप्रतिको आकर्षण ओरालो लागिरहेको अनि राजनीतिलाई फोहोरी खेलको रूपमा अर्थ्याइने गरिएको सन्दर्भमा त्यो हुन नदिन र राजनीति नै देशका सबै नीतिको मियो हो र त्यसैअनुसार हामी राजनीतिबाट टाढा बसेर मात्र होइन, त्यसैभित्र पसेर सुधार गर्नुपर्छ भन्ने चेतना कहिले भर्ने हो ? अनि पढाइमा असफल भएपछि मात्र राजनीति विकल्प बन्न सक्छ भन्ने आम बुझाइलाई चिर्नुपर्ने बेला भएको छ । 

समय–सापेक्ष स्ववियुको संरचना र स्वरूप अनि त्यसको भूमिका पनि परिवर्तन हुनु आवश्यक छ नै । विकासशील राष्ट्रको प्रमुख समस्या भनेको दक्ष र दीक्षित मानवीय शक्तिको अभाव नै हो, एकातिर भने बेरोजगारीका कारण शिक्षित युवापंक्तिको विदेश पलायन अर्को समस्या हो । जबसम्म नीति निर्माताले यसरी नै शिक्षा क्षेत्रलाई राजनीतिक नाराको रूपमा मात्रै सीमित गर्छन्, तबसम्म देशमा कुनै पनि परिवर्तन र उपलब्धि दिगो हुन नसक्ने निश्चित छ । 

नेपालका विश्वविद्यालयबाट वर्षेनी हजारौँ नेपालीले स्नातकोत्तर तह उपाधि हासिल गर्छन् । तर, उचित अवसरको अभावमा तिनीहरू विदेश पलायन हुन बाध्य छन् । देशको आवश्यक जनशक्ति कुन हो र कुन क्षेत्रमा कति जनशक्ति उत्पादन गरेपछि जनशक्तिको खपत र देशको सर्वांगीण विकास हुन सक्छ भनी पहिचान गर्न आजको आवश्यकता छ ।

No comments:

Post a Comment