विदुर । आइतवार भएको नुवाकोटको दुई क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी निकट विद्यार्थीहरूको गठनबन्धले जित हात पारेको छ । नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टार र त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस त्रिशुलीमा संयुक्त प्यालनका उम्मेदवारहरूको सेट नै निर्वाचित भएको छ ।
दुवै क्याम्पसको सभापतिमा प्यालनका तर्फबाट काँग्रेस निकट नेपाल विद्यार्थी संघका उम्मेदावर र सचिवमा नेकपा माओवादी केन्द्र निकटका अनेरास्ववियु (क्रान्तिकारी) का उम्मेदवारहरू निर्वाचित भएका छन् । त्रिशुलीको मत परिणाम आइतवार साँझ नै आएको थियो भने बट्टार क्याम्पसको अन्तिम मत परिणाम आइतवार विहान मात्रै आएको हो ।
नुवाकोट आदर्श बहुमुखी क्याम्पसमा गठबन्धनबाट सभापतिमा नेविसंघका रविन दाहालको नेतृत्वको प्यानल विजयी भएको छ । दाहालले कुल खसेको मत ७४२ मा ३४१ मत ल्याउँदै विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार रिजन प्रधानले १७३ मत पाएका छन् । एमाले निकट अनेरास्ववियुका फैसलदिन मियाले १६७ मत पाएका छन् ।
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका दाहालको नेतृत्व रहेको प्यानलबाटै सचिवमा ४३० मत ल्याउँदै अखिल क्रान्तिकारीका राजेन्द्र पनेरु विजयी भएका छन् । कोषाध्यक्षमा गठबन्धनबाटै ३४० मत ल्याएर एकीकृत समाजवादी निकट अनेरास्ववियूका मनोज पौडेल विजयी भए ।
यस्तै सदस्यहरूमा नेविसंघको तर्फबाट अश्विन रिमाल, सन्तोष पन्त र सुप्रिया पौडेल, क्रान्तिकारीको तर्फबाट अस्मिता पौडेल र जनक भट्ट, अनेरास्ववियूबाट संजिता रिमाल र प्रदिप ढुङ्गाना विजयी भएका छन् । केन्द्रमा राष्ट्रपति निर्वाचनसँगै सत्ता गठबन्धन फेरिएपछि त्यसको प्रभाव स्ववियु निर्वाचनमा परेको हो । स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघसहितको तीन विद्यार्थी संगठनले गठबन्धन गरेर चुनावी मैदानमा गएका थिए । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियु एक्लै चुनावी मैदानमा उत्रिएको थियो ।
नुवाकोट क्याम्पसमा कुल एक हजार १४३ जना विद्यार्थी मतदाता रहेकामा ६५ प्रतिशत मात्र मत खसेको थियो ।
त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच बनेको गठबन्धनै बिजयी भएको छ । सभापतिमा किरण मंग्राती, सचिवमा रिसाल तामाङ र कोषाध्यक्षमा उर्मिला तामाङ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा शान्तबहादुर तामाङ, सजना खाती, अशोक अधिकारी, तुलसा अधिकारी र सन्तोषी सुर्खेती निर्वाचित भएका छन् ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारमा नेकपा एमाले निकट अनेरास्ववियुको बाहुल्यता रहेको छ भने त्रिभुवन त्रिशुली बहुमुखी क्याम्पस त्रिशुलीमा नेपाली काँग्रेस निटक नेविसंघको बाहुल्यता रहेको छ ।
No comments:
Post a Comment