विदुर । ३ माघ ०७४ मा प्रदेश ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेसँगै सुरु भएको बागमती प्रदेश सरकारले पाँच वर्षमा गरेका उपलब्धि शुक्रबार एक पुस्तकका रूपमा सार्वजनिक गरिएको छ ।
प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तयार पारेको ‘बागमती सरकारको पाँच वर्ष’ पुस्तक पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । पुस्तक प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले सार्वजनिक गरेका हुन् । पुस्तकमा प्रदेश सरकारले पाँच वर्षमा ५३६ किलोमिटर सडक कालोपत्रे गरेकोदेखि स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत प्रदेशका ५६७ छोरीबुहारीलाई छात्रवृत्ति दिएकोसम्मका कुरालाई समेटिएको छ । विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राहरूको स्वास्थ्य प्रवर्द्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गरी हालसम्म एक सय १९ तहका ४५९ विद्यालयमा नर्सको व्यवस्था गरिनुका साथै मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको विषयलाई सरकारले उपलब्धि मानेको छ ।
यस्तै, प्रदेश सरकारले पाँच वर्षको अवधिमा ६९ वटा पक्की पुल र सातवटा झेलुंगेपुल निर्माण सम्पन्न गरेको, संशोधनसहित ७० वटा ऐन निर्माण गरेको, ११ वटा अध्यादेश, ३३ वटा नियमावली, पाँचवटा निर्देशिका, ४४ वटा कार्यविधि, सातवटा मापदण्ड र १२ वटा आदेश जारी गरेको कुरा पनि पुस्तकमा उल्लेख गरिएको छ ।
पाँचवर्षे उपलब्धि :
– नेपाल सरकारले मिति ०७४ माघ ३ गते प्रदेश ३ को राजधानी हेटौँडा तोकी प्रदेश प्रमुख नियुक्त गरेको र मिति ०७४ माघ २८ गते नेपालको संविधानबमोजिम प्रदेश प्रमुखबाट श्री डोरमणि पौडेललाई मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकारको गठन भएको ।
– शून्यताबाट सुरु भएको प्रदेश सरकार स्थापनाको समयमा सात मन्त्रालय र निकायहरू रहेकोमा हाल ११ मन्त्रालय तथा प्रदेश सरकारअन्तर्गत निकाय एक सय ९८ कायम रहेका ।
– प्रदेश सरकारबाट पाँच वर्षको अवधिमा ७० वटा ऐन संशोधनसमेत, अध्यादेश ११, नियमावली ३३, निर्देशिका पाँच, कार्यविधि ४४, मापदण्ड सात र आदेश १२ गरी जम्मा एक सय ८६ वटा जारी भएको ।
– प्रदेशको पहिलो पाँचवर्षे आवधिक योजना निर्माण, कार्यान्वयन र त्यसको अर्धवार्षिक समीक्षा सम्पन्न गरिएको साथै प्रदेशको वस्तुस्थिति विवरण २०७५ तयार गरी तथ्यांक उपयोग गरिएको ।
– संघीय सरकारसँगको समन्वय र सहकार्यमा २० वटा समपूरक र विशेष अनुदानका आयोजना सञ्चालन र नवप्रवर्तन साझेदारी कोषमार्फत ११ वटा स्थानीय तहमा नवप्रवर्तनात्मक परियोजना सञ्चालन गरी स्थानीय तहमा रोजगारी सिर्जना तथा आर्थिक विकासलाई प्रवर्द्धन गरिएको ।
– प्रदेशमा आव ०७८–७९ सम्ममा एक लाख ५५ हजार एक सय ७९ उद्योग दर्ता भएको ।
– नौवटा जिल्लामा १० शीतभण्डार निर्माणको कार्य सम्पन्न हुने अवस्थामा रहेको जसबाट १५ हजार आठ सय मेट्रिक टन फलफूल तथा तरकारी भण्डारणमा सहजता हुने ।
– एक हजार ४१ सिँचाइ योजना सम्पन्न भई एक लाख ३१ हजार तीन सय ४८ हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध भएको र १६ वटा नदीको नदी नियन्त्रणको गुरुयोजना तयार गरी नदी नियन्त्रणका कार्य सुरु गरिएको ।
– दुई सय ७६ वटा खानेपानी योजना सम्पन्न भई थप ४६ हजार एक सय ९६ घरधुरीमा आधारभूतस्तरको खानेपानी सेवा पुगेको ।
– यस अवधिमा कच्ची सडक सात सय ६१ किमि, ग्राभेल सात सय ७९ किमि, कालोपत्रे पाँच सय ३६ किमि, ढलान सडक एक सय ५४ किमि, सडक पुल ६९ वटा र झोलुंगेपुल सातवटा सम्पन्न भएका ।
– सहरी विकास तथा भवन पूर्वाधारतर्फ दुई सय ३० भवन, चार सय ३४ पार्क निर्माण, एक सय ९५ सरकारी कार्यालय मर्मत र दुई हजार ८९ जनता आवास निर्माण सम्पन्न ।
– युवा उद्यमशीलता विकासअन्तर्गत दुई सय ६० स्वयंसेवक परिचालन, ४३ व्यवस्थित खेलमैदान, जिल्लास्तरीय रंगशाला सात, कभर्डहल ३० वटा सम्पन्न भएको ।
– सामुदायिक वन तथा अन्य क्षेत्रमा गरी तीन सय ९६ हेक्टरमा कुल ६ लाख २२ हजार नौ सय ८५ जडीबुटीको बिरुवा रोपण गरिएको ।
– बागमती प्रदेशलाई ९७.२२ प्रतिशत साक्षरतासहित नेपालकै पहिलो साक्षर प्रदेश घोषणा गरिएको ।
– उच्च शिक्षामा महिलाको पहुँच बढाउन स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत पाँच सय ६७ छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरिएको ।
– प्रदेशभित्र विभिन्न सूचकका आधारमा २० नमुना विद्यालय स्थापना, दुई सय २१ वटा शैक्षिक परामर्श केन्द्र सञ्चालन अनुमति ७२ विद्यालयलाई बससेवा उपलब्ध, तीन सय ३१ माविमा ई–लाइब्रेरी, एक सय ९७ विद्यालयमा विज्ञान प्रयोगशाला स्थापना र दुई सय २१ वटा सामुदायिक क्याम्पसलाई सबलीकरण गरिएको ।
– बागमती प्रदेशको पर्यटन ब्रान्ड नाम स्वीकृति गरी लागू गरिएको साथै जुगल हिमश्रृंखला आरोहण खुला गरी पहिलो आरोहण सम्पन्न गरिएको ।
– विद्यालय स्वास्थ्य, सरसफाइ र छात्राको स्वास्थ्य प्रवर्द्धनका लागि एक विद्यालय एक नर्स कार्यक्रम हालसम्म एक सय १९ तहका चार सय ५९ विद्यालयमा कार्यान्वयन गरिएको ।
– मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम र प्रदेशका १३ प्रादेशिक अस्पतालमा विशिष्टिकृत सेवा सञ्चालनमा ल्याइएको ।
– प्रदेश लोकसेवा आयोगबाट सार्वजनिक सेवा प्रवाहको लागि आठ सय २५ विभिन्न पदको विज्ञापनमार्फत परीक्षा सञ्चालन गरी नियुक्तिका लागि सिफारिस भएको ।
– बागमती प्रदेशको स्थानीय मानव विकास प्रतिवेदन र दिगो विकास लक्ष्यको आधार तथा मार्गचित्र तयार गरिएको ।
– १३ जिल्लाका जीर्ण प्रहरी चौकी निर्माण गरी सुरक्षाकर्मीका लागि कार्य वातावरण उपयुक्त सिर्जना गरिएको ।
–यस अवधिमा प्रदेश सरकार र मातहतका निकायलाई विपक्षी बनाई दायर भएका दुई सय आठ मुद्दामध्ये ७४ मुद्दा किनारा लागिसकेको जसमा ८१ प्रतिशत मुद्दामा सफलता प्राप्त भएको ।
No comments:
Post a Comment