Monday, April 17, 2023

घेदुङको अध्यक्षमा बीरबहादुर

घेदुङले आयोजना गरेको पत्रकार सम्मेलनमा नवनिर्वाचित पदाधिकारीहरु । 

विदुर । नेपाल तामाङ घेदुङ नुवाकोटको अध्यक्षमा वीरबहादुर तामाङ चयन भएका छन् । उनी शिवपुरी गाउँपालिकाका उपाध्यक्षसमेत हुन् । घेदुङ नुवाकोट जिल्ला कार्यसमितिको पाँचौं अधिवेशनबाट तामाङको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

उपाध्यक्षमा सरोज तामाङ र शक्तिमाया तामाङ, सचिवमा रूपबहादुर तामाङ, दिपेश तामाङ र कोषाध्यक्षमा सूर्यबहादुर तामाङ चयन भएका छन् । सदस्यहरूमा सीतादेवी तामाङ, पूर्णबहादुर तामाङ, सुशीला तामाङ, चतुरमान तामाङ, गोपाल तामाङ, प्रतीक तामाङ, पुष्प तामाङ, सोनाम तामाङ, रोजत तामाङ, उर्मिला तामाङ र टेकबहादुर लामा तामाङ चयन भएका छन् । ४ जना मनोनीत हुन बाँकी रहेको घेदुङ नुवाकोटले जनाएको छ ।

गएको शनिबार बट्टारमा आयोजित भेला माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं नुवाकोट क्षेत्र नम्बर १ का सांसद हितबहादुर तामाङले उद्घाटन गरेका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, माओवादी केन्द्र नुवाकोटका संयोजक पुष्प लामिछाने,  जनप्रतिनिधिहरूको उपस्थिति थियो ।

यसैबीच, नवनिर्वाचित अध्यक्ष तामाङले जिल्लाका विद्यालयस्तरको आधारभूत तहमा मातृभाषा पठनपाठन गराउनुपर्ने माग गरेका छन् । तामाङ बाहुल्यता रहेको नुवाकोटमा मातृभाषामा पठनपाठन गराउनुपर्ने नेपाल तामाङ घेदुङ नुवाकोटको माग रहेको उनले बताए । आफूहरूको भाषा, संस्कृति र इतिहासलाई जगेर्ना गर्दै जान मातृभाषाले सघाउ पुग्ने उनको भनाइ छ । 

नुवाकोटमा १ सय ३३ वटा गुम्बा रहेको र भूकम्पले भत्किएका गुम्बा र तिनको अवस्थाबारे बाहिर ल्याउने घेदुङले जनाएको छ । पाठ्यक्रमको तहमा मातृभाषाको रुपमा शिवपुरी गाउँपालिकाले १० लाख रुपैयाँ बजेट विनियोजनसमेत गरेको उनले जनाए । शिवपुरी गाउँपालिकामा नयाँ पाठ्यक्रम बनाइसकेको र त्यसलाई नयाँ शैक्षिक सत्रदेखि पठनपाठन थालिने अध्यक्ष तामाङले बताए ।

पञ्चकन्या र दुप्चेश्वर गाउँपालिकामा तामाङ मातृभाषामा पठनपाठन सुरु भइसकेको तामाङ घेदुङ नुवाकोटले जनाएको छ ।

No comments:

Post a Comment