Monday, April 17, 2023

पशुपति मन्दिरमा भेटीको घ्याम्पै गायब

काठमाडौं । शिवरात्रिमा पशुपति मन्दिर परिसरमा राखिएको भेटीको घ्याम्पो नै गायब पारिएको छ । भेटीको घ्याम्पो गायब पारिएको घटना सार्वजनिक भएपछि कोषले नै टोली गठन गरेर छानबिन गरेको थियो । पर्यटन मन्त्रालयले यस विषयमा थप छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई लेखी पठाउने निर्णय गरेको छ । 

सुरक्षाकर्मीको बाक्लो उपस्थिति र भक्तजनको घुइँचो हुने पशुपति मन्दिर परिसरबाट घ्याम्पो हराएको विषय आफैँमा आश्चर्यजनक रहेको मन्त्रालय बताउँछ । मन्त्रालयका अनुसार सिसिटिभीको तार काटेर घ्याम्पो गायब गरिएको थियो । जसका कारण सिसिटिभी रेकर्डसमेत हेर्न नमिलेको मन्त्रालय बताउँछ । अझ अचम्म त हराएको केही घन्टामै घ्याम्पो यथास्थानमा भेटिएको थियो । घ्याम्पोमा कति भेटी रकम थियो भन्नेचाहिँ यकिन छैन । सुरक्षासँग जोडिएको विषय भएका कारण छानबिन र कारबाहीका लागि पर्यटन मन्त्रालयले गृहमार्फत प्रहरीलाई पत्राचार गरेको हो । 

शिवरात्रिमा मिलेमतो पशुपति क्षेत्र विकास कोषले गत फागुन पहिलो साता भएको महाशिवरात्रि मेलाको ठेक्का लगाउँदा हिनामिना गरेको छ । ७ देखि १३ फागुनसम्म अर्थात् सात दिन मेला चलाउन कोषले एमएमबिकेएल इभेन्टस् एन्ड बहुउद्देश्यीय प्रालिसँग सम्झौता गरेको थियोर । तर, कोषका पदाधिकारीको मिलेमतोमा थप सात दिन (२० फागुनसम्म) मेला चलाएर २० लाख ५० हजार राजस्व गुमेको सरकारी छानबिन समितिको निष्कर्ष छ ।

पर्यटन मन्त्रालयका  सहसचिव राजेन्द्रकुमार केसीको संयोजकत्वमा उपसचिव अर्जुन राई र पुरातत्व अधिकृत जयन्ती श्रेष्ठ सम्मिलित छानबिन समितिले सर्तविपरीत दोब्बर समय मेला चलाएर राजस्व अपचलन गरेको निष्कर्षसहित थप छानबिन गरी कारबाही सिफारिस गरेको हो । राजश्व अपचलन घटनाबारे छानबिन गरी कारबाहीका लागि छानबिन प्रतिवेदनसहित बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पत्राचार गरेको छ । अख्तियारले छानबिन अघि बढाउनेछ । 

सात दिनमा हुने कारोबारको अनुमान गरेर राजस्व यकिन गरिएको थियो । आठौँ दिनमा मेला सञ्चालक पक्षले ठाउँ खाली गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । सर्त उल्लंघन गरे कारबाही हुने व्यवस्था सम्झौतामा थियो । 

तर, करिब २० गतेसम्म पनि मेला सञ्चालनमा रहेको भेटिएकाले सर्तविपरीत दोब्बर समय मेला चल्यो । अतिरिक्त सात दिनको २० लाख ५० हजार नै राजस्व गुमेको ठहर छ । ‘सम्झौताविपरीत मेला सञ्चालन हुँदा कोषले पाउनुपर्ने राजस्व घटी भएको देखियो,’ पर्यटन मन्त्रालय स्रोत भन्छ । समितिले पशुपतिमा मेला लागेको क्षेत्रको अध्ययन, सिसिटिभी फुटेज, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी र मेला सञ्चालकसँग सोधपुछसमेत गरेर प्रतिवेदन तयार गरेको छ । 

महाशिवरात्रिको अवसरमा एक साता (७–१३ फागुन) मेला आयोजना गर्न कोषले गत माघमा टेन्डर आह्वान गरेको थियो । त्यसबापत कोषलाई २० लाख ५० हजार राजस्व बुझाउनुपर्ने सर्तमा उल्लेख थियो । तर, सूचनाबमोजिम एउटा मात्र बोलपत्र परेको थियो । त्यही बोलपत्रलाई सदर गरेर कोषले ठेक्का लगाएको थियो । सातौँ दिन मेला चलाएपछि आठौँ दिन स्थान खाली गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । यही सर्तबमोजिम ठेक्का पाएको कम्पनीले अग्रिम राजस्व दाखिला गरेर कोषसँग सम्झौता गरेको थियो । 

७ देखि १३ फागुनसम्म चलाउने गरी सम्झौता भए पनि २० गतेसम्मै मेला चलेको भेटिएको स्रोतले बतायो । ‘सिसिटिभी फुटेजहरू हेर्दा २१÷२२ गते सामान हटाउँदै गरेको भेटियो,’ स्रोत भन्छ । कोष र मेला सञ्चालक पक्ष दुवैले सम्झौता उल्लंघन गरेको छानबिन टोलीले फेला पारेको छ ।

पर्यटनमन्त्री सुदन किराँतीले शिवरात्रिमा पशुपतिमा सञ्चालित मेलामा सम्झौताविपरीत काम भएको र छानबिन गर्दा सोझै घोटाला भएको देखिएकाले थप अनुसन्धान गरी दोषीउपर कारबाहीका लागि अख्तियारमा पठाउने निर्णय मंगलबार नै सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

No comments:

Post a Comment