Friday, April 07, 2023

२०७९ साल चैत २० गतेको सम्पादकीय

वर्षेनी खस्कदो सडक सुरक्षा 

नेपालमा हुने अधिकांश सवारी दुर्घटना लापरवाहीले गर्दा भएको देखिन्छ । के दुर्घटना न्यूनीकरण गर्न सकिँदैन ? हामी योजनावद्ध तवरमा काम गर्नेभन्दा पनि प्रतिकारात्मक तरिकाले काम गर्न रुचाउँछौं । त्यसैको फलस्वरुप आज दिन प्रतिदिन दुर्घटना बढिराखेका छन् । मुलतः सडक दुर्घटना अहिले विश्वका धेरै देशको ठूलो समस्याको विषय हो । फरक के मात्र हो भने विकसित देशमा भन्दा कम विकसित देशमा सडक दुर्घटना बढी हुने गरेको विभिन्न तथ्यांकले देखाउँछ । अफ्रिकी मुलुकमा सडक दुर्घटना अन्य मुलुकमा भन्दा धेरै छ । त्यसमा पनि निम्न आय हुने मानिस र पुरुषहरू बढी प्रभावित हुने गरेको पाइन्छ । अहिले विश्वमा १.२ विलियन सवारी साधन सडकमा गुड्ने गरेको पाइन्छ भने यो संख्या सन् ०३५ सम्म बढेर २ विलियन हुने अनुमान गरिएको छ । दिनानुदिन सडकमा सवारी साधनको संख्या थपिँदै जाने र दुर्घटना बढ्दै जाने हो भने अकालमा ज्यान गुमाउने संख्या झनै बढ्ने देखिन्छ । डब्लुएचओको प्रतिवेदनलाई आधार मान्दा प्रत्येक वर्ष १.२५ मिलियन मानिसले सडक दुर्घटनामा ज्यान गुमाइरहेका छन् भने यसको ९० प्रतिशत मध्यम तथा निम्न आय हुने देशका पर्ने गरेका छन्, जहाँ विश्वको ५४ प्रतिशत मात्र सवारी साधन छन् । सडक दुर्घटनामा ज्यान गुमाउनेको संख्या बढी हुने मुलुकमा भारत पहिलो नम्बरमा पर्छ भने चीन, अमेरिका, रसिया र ब्राजिल क्रमशः दोस्रो, तेस्रो, चौथो तथा पाँचौं नम्बरमा पर्छन् ।

सडक दुर्घटना हुने प्रमुख कारणहरूमा सडकको अवस्था , सवारी साधनको अवस्था र  सवारी चालकको अवस्थालाई लिइने गरिन्छ । अन्य कारणहरूमा बाटो काट्ने बटुवा, जनावरहरू र सवारी साधनमा यात्रा गर्ने यात्रु पनि दुर्घटनाको कारण बन्ने गरेको पाइन्छ । सवारी दुर्घटना कम गर्न कुनै एक पक्षमात्रै लागेर हुँदैन । यसमा सरकार, निजी क्षेत्र तथा आम जनताको साथ र सहयोग आवश्यक पर्छ । नेपालमा दुर्घटना हुने मुख्य तीन कारण छन्ः सडक, साधन र चालक । यी तीनपक्ष नै सुदृढ अवस्थामा नभएकैले दुर्घटना बढेको पाइन्छ । यदि यी अवस्थाहरू ठीक छन् भने दुर्घटना कम हुन सक्छ र ठीक छैन भने सवारी दुर्घटना बढी हुने गर्छ । यदि सरकारले सडक दुर्घटना कम गर्न चाहन्छ भने यी तीनवटा कुरामा ध्यान दिई उचित कदम चाल्नु उचित देखिन्छ । अन्यथा, जति नै छानविन समिति बनाए पनि र जति प्रतिवेदन बनाए पनि दुर्घटना कम गर्न सकिँदैन ।

सडक देश विकासको मेरुदण्ड होभन्दा अन्यथा नहोला । विश्वका जति पनि विकसित देशहरू छन् त्यो देशका सडक अति नै मजबुत देखिने गर्छन् । अर्को अर्थमा, कुनै देश वा ठाउँको सडकको अवस्थाले त्यो देश वा ठाउँ कति विकसित छ भन्ने देखाउँछ । उदाहरणका लागि जापान, चीन, अमेरिकाले सडक निर्माणमा ठूलो लगानी गरिसके र त्यहाँका सडकहरू अत्यन्त मजबुत र उच्चस्तरीय हुने गर्छ । हाल प्रचलनमा रहेको र धेरै सवारी साधन गुडने सडकमध्ये पूर्वपश्चिम राजमार्ग तथा काठमाण्डौ जाने सडक जो दुई लेनको मात्र छ । अन्य सडकहरू कुनै पनि हिसाबले बैज्ञानिक छैनन् । पहाडका प्रायः सडकहरू साँघुरा छन् । दुईवटा सवारी साधन एकैपटक छिर्न धौधौ पर्दछ, ग्रेडिङ मिलेको छैन । सडकहरू कच्ची छन्, घुम्तीहरू नजिक नजिकवाट काटिएका छन्, प्रायः घुम्तीहरूमा गाडी घुमाउनेसम्म ठाउँ पुग्दैन । पुराना सडकहरू जुन सदरमुकामसँग जोडिएका छन्, ती प्रायः मान्छेले खनेर बनाएका सडकहरू हुन् जतिखेर दिनमा एउटा वा दुईवटा मात्र गाडी गुड्ने गर्दथे । पछि तिनै सडकहरू ठेकेदारको जिम्मा लगाइयो र कालोपत्रे गरियो । सडकमा कतै सडक संकेतसम्म राखिएको छैन ।

सवारी धनीले सवारी साधन किनेपछि त्यसको माया लाग्नु र त्यसलाई सुरक्षित राख्नु स्वाभाविकै हो । त्यसैले होला, प्रायः नयाँ गाडीहरू शहरका पीच बाटोहरूमा चल्छन् भने पुराना तथा थोत्रा गाडीहरू अप्ठ्यारो ग्रामीण भागमा चलाउने गरिन्छ । उदाहरणका लागि जति सुगममा जानुहुन्छ, त्यहाँ नयाँ गाडीहरू देख्न पाइन्छ भने जति दुर्गममा गयो, त्यहाँ पुराना गाडीहरू देख्न पाइन्छ । तिनै पुराना र थोत्रा गाडीमा हामी असुरक्षित यात्रा गर्न बाध्य हुन्छौं । सरकारी तवरबाट चलाइएका साझा लगायतका गाडी पनि सहर केन्द्रित नै हुने गरेको छ । प्रायः पुराना र थोत्रा सवारी साधनहरूमा समस्या आउने र दुर्घटनामा पर्ने गरेको पाइएको छ । आवश्यक मात्रामा सवारी साधनको सर्भिसिङ नगर्ने, यात्रुको सुरक्षा भन्दा पैसा कमाउनमा बढी ध्यान दिने गर्दा सवारी साधनको अवस्था बिग्रिने गरेको पाइन्छ । सवारी साधनको ब्रेक फेल हुने, टायर फुट्ने, टायर निस्कने जस्ता समस्याले गर्दा दुर्घटना हुने गरेको छ । सम्पूर्ण सवारी साधनको समय–समयमा सरकारी तवरबाट अनिवार्य जाँच तथा परीक्षण गर्ने र निश्चित अवधि तोकेर मापडण्ड नपुगेका साधनलाई हटाउने व्यवस्था मिलाउन सकियो भने सवारी साधन दुर्घटनाबाट हुने क्षति न्यूनीकरण गर्न टेवा पुग्नेछ । यसका लागि प्रत्येक वर्ष सवारी साधन पुनः दर्ता गर्नुपर्ने अनिवार्य व्यवस्था र दर्ता गर्न ‘चलाउनका लागि सुरक्षित’ मापडण्ड पूरा गर्नुपर्ने बाध्यकारी व्यवस्था लागु गर्न सक्नुपर्छ ।

नेपालमा प्रायः ठाउँबाट रात्रिकालीन सवारी साधनहरू चल्ने गर्छन् र सबैजसो सवारी साधन एकजना चालकको भरमा रातभर गुडिराखेका हुन्छन् । एकजना चालकले कति घण्टासम्म गाडी चलाउन सक्छ ? हामी बेलाबेलामा दुईजना चालकको व्यवस्था गर्ने भनेर कुरा उठाउँछौं तर कार्यान्वयन हुँदैन । धेरै देशहरूमा नियमित रुपमा एक दिनमा ८ घण्टासम्म एकजनाले सवारी साधन गुडाउन सक्छ भन्ने मान्यता छ र आफ्ना नागरिकलाई त्यही बमोजिमसचेत बनाएको हुन्छ । सवारीसाधन चलाउँदा मोबाइलमा कुरा गर्ने, नजिकमा बसेको यात्रुसँग कुरा गर्ने, मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, तिब्र गतिमा सवारी चलाउने आदि कारणले चालकको ध्यान साधनमा नभई अन्यत्र हुने हुँदा सडक दुर्घटना बढ्ने गरेको पाइएको छ । त्यस्तै यात्रु बोक्ने साधनमा बाख्रादेखि सुँगुरसम्म, मलदेखि चामलसम्म बोक्ने र क्षमताभन्दा बढी यात्रु बोक्ने गरिन्छ । सुरक्षित यात्राका लागि सवारी चालक स्वास्थ्य हुनु र सडक सुरक्षाको पूर्ण ज्ञान हुनु जरुरी छ । हामीलाई सडकको अवस्था सुधार गर्न केही समय लागे पनि सवारी साधनको अवस्था र चालकको अवस्था मात्र सुधार गर्न सक्यौं भने पनि सडक दुर्घटना कमीमा उल्येख्य सुधार ल्याउन सकिने देखिन्छ । यसमा सडक नियम पालना गराउन जिम्मा पाएको निकायको प्रमुख रुपमा तदरुकता हुनु आवश्यक छ ।

No comments:

Post a Comment