Friday, April 07, 2023

घरमै नागरिकता

विदुर । नुवाकोटको बेलकोटगढी नगरपालिका–३ कुमरी झ्याङ्लीपोखरीकी अशक्त किशोरीले घरमै नेपाली नागरिकता पाएकी छिन् ।

शारीरिक तथा मानसिक रूपमा अशक्त १७ वर्षीया रोजिना बजगाईंलाई जिल्ला प्रशासन कार्यालय नुवाकोटले शनिबार घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीको नेतृत्वमा गएको टोलीले किशोरीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेको कार्यालयले जनाएको छ ।

वडाध्यक्ष कौशिला पुडासैनीले आवश्यक कागजपत्रसहित जिल्ला प्रशासन कार्यालयमा गत माघ २२ गते नेपाली नागरिकता प्रदान गर्नका लागि सिफारिस गरेकी थिइन् । 

कार्यालयमा आउन असमर्थ रहेकाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको सहायक प्रजिअ अधिकारीले बताए । नागरिकता पाएपछि खुसी हुँदै रोजिनाका परिवारले अपांगता प्रोत्साहन भत्ता र अन्य सुविधाका लागि सहज भएको बताएका छन् । तीन वर्षमा १२ जनालाई घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment