Friday, April 07, 2023

गाउँपिच्छे बाँदर आतंक


विदुर । नुवाकोटमा पछिल्लो समयमा ग्रामीण भेगमा बाँदरले बाली सखाप पारेर दुःख दिएको गुनासो बढेको छ । ‘बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाइदिएको बढी गुनासो आयो,’ जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरीले भने, ‘किसानको गुनासो कति सुन्ने नियन्त्रण गर्न सकिएन ।’ जिल्लाका अधिकांश स्थानीयका खेतबारीमा बाँदरले लगाएको बाली पाक्न नपाउँदै खाएको गुनासो बढेको छ ।

डिभिजन वन कार्यालय नुवाकोटले शुक्रबार आयोजना गरेको वन तथा वातावरणसम्बन्धी कानुनका विषयमा स्थानीय तहका निर्वाचित पदाधिकारीहरूको अभिमुखीकरण तथा समन्वय कार्यक्रममा कृषकले लगाएको बाली बाँदरले खाइदिएपछि क्षतिपूर्ति व्यवस्था गर्न माग गरेका छन् ।

तादी, पञ्चकन्या, शिवपुरी, दुप्चेश्वर, सूर्यगढी, ककनी, बेलकोटगढी नगरपालिका, विदुर नगरपालिकालगायतका स्थानीय तहमा बाँदरका कारण स्थानीयले खेतबारीमा बाली लगाउन कम गरेको पालिकाहरूले जनाएका छन् । ‘अब मकै लगाउने बेला भयो,’ सूर्यगढी गाउँपालिका–५ का रामराज कम्वरले भने, ‘जुठेल्नामै आएर बाँदरले खाइदिन्छ । अहिले त रातो र लंगुर बाँदर आउँछ ।’

निकुञ्ज क्षेत्रमा वन्यजन्तुले बाली क्षति गरे, त्यसको क्षतिपूर्ति पाइने व्यवस्था छ । तर सामुदायिक वनभित्र रहेका बाँदरले स्थानीयको बाली खाएमा क्षतिपूर्तिको व्यवस्था छैन । नुवाकोटमा दुई निकुञ्जले जोडिएको छ । बाँकी ३७१ सामुदायिक वन छन् । उक्त कार्यक्रममा स्थानीय तहका पदाधिकारीलाई वन, वातावरण, संरक्षणसम्बन्धी ऐन तथा नियमावलीबारे जानकारी गराइएको थियो ।

निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेका वन्यजन्तुले स्थानीयको बालीको क्षतिपूर्ति पाउने व्यवस्थाबारे जानकारी दिइएको थियो । हालै तादी गाउँपालिकामा बँदेलले ६ जनालाई घाइते बनाएको र उनीहरू उपचारपछि घर फर्किएको पालिका अध्यक्ष सन्तमान तामाङले बताएका छन् ।

डिभिजन वन कार्यालयका प्रमुख दीर्घनारायण कोइरालाले केही समयअघि एक कार्यक्रममा सहभागी ४० जना सीडीओले बाँदरले बाली खाएको समस्या माथिल्लो तहमा लेखी पठाएको र त्यसबारे कुनै सुनुवाइ हुनेमा आशावादी रहेको बताए । बाँदर नियन्त्रण गर्ने र क्षतिपूर्ति दिने कुनै कानुन प्रावधान नभएको डिभिजन वन कार्यालयले जनाएको छ ।

No comments:

Post a Comment