धुञ्चे । रसुवा जिल्लाका बालबालिकाहरूमा कुपोषण भेटिएको छ । भुकम्पका कारण बिस्थापित भएर बिभिन्न स्थानमा एकीकृत बस्तिको रुपमा रहदै आएका स्थानका बालबालिकाहरूमा कुपोषण पुष्टि भएको छ । २०७२ सालको भूकम्पका कारण रसुवामा १ हजार १४८ परिवार विस्थापित भएका थिए । रसुवाको उत्तरगया र आमाछोदिङमो गाउँपालिकाबाट विस्थापित भएका धेरै जना उत्तरगया–५ को बेत्रावतीमा झरेका थिए ।
केही समय बसेपछि भूकम्पले विस्थापित उनीहरूको परिवार उत्तरगयाकै खाल्टे झरेका हुन् । जो अहिलेसम्म गाउँ फर्किन पाएका छैनन् । २०७४ सालदेखि उनीहरू खाल्टे र बोगटीटारमा टिनको छाप्रामा बस्दै आएका छन् । भूकम्पका कारण बसाइँ सर्न बाध्य भएर क्याम्पमा बस्दै आएकाहरूको परिवारलाई कोरोना महामारीले स्वास्थ्य सेवाको पहुँचमा झनै समस्यामा पा¥यो । अभाव र संकटमा परेका विस्थापितका परिवारमा पोषिलो खानेकुराको पहुँच नहुँदा बालबालिकामा कुपोषणको समस्या देखिन थालेको हो ।
खाल्टेमै बस्ने विस्थापित परिवारको सदस्य समेत रहेकी महिला स्वास्थ्य स्वयंसेविका सिटी तामाङ भन्छिन्, ‘भूकम्पपछि क्याम्पमा रहेका बालबालिकामा झाडा–पखाला, छालासम्बन्धी रोग, कुपोषण जस्ता स्वास्थ्य समस्या देखिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । कोरोनाको महामारीका बेला खाल्टे बस्तीमा करिब ९ जना ख्याउटे बालबालिका भेटिएका थिए ।’
कोभिड–१९ पछिको बन्दाबन्दीका कारण बालबालिकाको नियमित पोषण जाँच हुन नसक्दा कुपोषित बालबालिका पहिचान गर्न समस्या परेको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ बोगटीटारमा अर्को विस्थापित क्याम्प छ । त्यहाँ दुई वर्ष मुनिका ९ जना बालबालिका छन् । यीमध्ये ४ जनामा कुपोषण देखिएको छ । २०७९ माघमा नौकुण्ड गाउँपालिकामा पनि कुपोषित बालबालिका भेटिएका छन् । त्यहाँको वडा नं ३ मा ३ र १ मा २ जना कुपोषित बालबालिका भेटिएको स्वास्थ्य स्वयंसेविकाहरूको भनाइ छ ।
विस्थापित क्याम्प भन्दा बाहिर रहेका भूकम्प प्रभावित समुदायका बालबालिकामा पनि कुपोषणको समस्या भेटिएको छ । जस्तो, रसुवाकै गोसाइँकुण्ड गाउँपालिका–५ मा गत वर्ष एक जना कुपोषित बालक भेटिएका थिए । यस वर्ष भने कोही भेटिएका छैनन् ।
आमाछोदिङमो–३ गतलाङमा ३ जना कडा कुपोषित बालबालिका भेटिएकोमा थाम्बुचेतमा रहेको बहिरंग उपचार केन्द्रमा उपचार भएर घर फर्केको स्वास्थ्य शाखा प्रमुख निमा लामाले बताए ।
यस्तै, भूकम्पबाट प्रभावित कालिका गाउँपालिकामा यस वर्ष पाँच वर्ष मुनिका ८ बालबालिका कुपोषित भेटिएका छन् । कुपोषित भएको थाहा पाएपछि उनीहरूको उपचार पनि भएको छ । यसमध्ये एक जनाको अहिले पनि उपचार भइरहेको छ ।
उत्तरगया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रविन्द्र ठकुरीले भूकम्प जस्तो विपद्का बेला विस्थापित समुदायमा कम उमेरमै विवाह भएपछि जन्मेका बालबालिकामा कुपोषणको समस्या धेरै देखिएको बताए ।
प्रजनन अंग परिपक्व नभइकन विवाह गर्ने र बच्चा जन्माउँदा आमा र बच्चाको स्वास्थ्य खतरामा पर्ने र कुपोषित बच्चा जन्मने जोखिम बढ्दो रहेको छ । जिल्ला स्वास्थ्य कार्यालय रसुवाका अनुसार, कोभिड–१९ महामारीका बेला जिल्लाभरका ४ हजार ८५७ बालबालिकाको पोषण जाँच हुनुपर्नेमा बन्दाबन्दीका कारण ४ हजार २७८ जनाको जाँच नै हुनै सकेन । रसुवामा अहिले दुई वर्ष मुनिका ५ हजार ३७० बालबालिका छन् ।
रसुवामा यस वर्ष कति बालबालिका कुपोषित छन् भन्ने सम्बन्धमा वास्तविक तथ्याङ्क स्वास्थ्य कार्यालयसँगै छैन । स्वास्थ्य कार्यालय प्रमुख भीमसागर गुरागाईंले संघीयतापछि सबै काम स्थानीय तहले गर्ने भए पनि गाउँपालिका तहबाट एचएमआईएस अनलाइन प्रणाली अन्तर्गतको डिएचआईएस–२ मा अपडेट नगरेकाले जिल्लाभरको पूर्ण तथ्याङ्क आउन नसकेको बताए । स्थानीय तहले पोषण जाँचपछिको तथ्याङ्क यो प्रणालीमा नराख्दा कुपोषित बालबालिका पहिचान गरेर आवश्यक नीति योजना र बजेट कार्यक्रम बनाउन समस्या पर्ने देखिन्छ । योसँगै भौगोलिक विकटताका कारण बस्तीबाट पोषण जाँच्ने स्वास्थ्य संस्था पुग्न कठिनाइ हुने र समय लाग्ने भएकाले कतिपय कुपोषित बालबालिका पहिचानमा समस्या भइरहेको छ ।
संघीय सरकारको आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम अनुसार दातृ निकायहरूको सहयोगमा बालबालिकालाई कुपोषित हुनबाट जोगाउन र गर्भवती आमाको पोषण अवस्था सुधारका लागि भन्दै २०७०/७१ देखि ५ वर्षसम्मका लागि १९ अर्ब २ करोड रुपैयाँ बजेटको बहुक्षेत्रीय पोषण योजना सुरु गरेको थियो ।
खाद्यान्न अभावका कारण कुपोषण
धुञ्चे । रसुवा जिल्लामा कुपोषणका विभिन्न कारणमध्ये खाद्यान्न अभाव एक प्रमुख कारण देखिएको छ । यहाँ खेतीयोग्य जग्गा कम छ ।
कृषि उत्पादनका हिसाबले रसुवामा वर्षमा करिब १५०० मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको कृषि कार्यालयको प्रतिवेदनबाट देखिन्छ । रसुवामा अन्न उत्पादन कम हुने भएकाले यो न्यूनतम खाद्य असुरक्षित जिल्लामा रहेको छ ।
स्थानीयस्तरमा धेरै उत्पादन नहुने भएकाले चामल समेत आयात हुने गरेको छ । पेटभरी खान समेत धौ–धौ हुने भएपछि पोषणयुक्त खानेकुरा पाउन रसुवाका नागरिकहरूलाई समस्या रहेको छ ।
यो जिल्लामा कृषि उत्पादनका हिसाबले ८ प्रतिशत जति जमिन मात्रै खेतीयोग्य छ । यहाँ भएको १ लाख ५ हजार २०० हेक्टर जमिनमध्ये १२ हजार ४५८ हेक्टर मात्र खेतीयोग्य छ । यसमा पनि १२०० हेक्टरमा मात्र खेती भइरहेको छ भने ११ हजार १६७ हेक्टर पाखोबारी रहेको कृषि कार्यालयको तथ्याङ्क छ ।
यसरी खाद्य उत्पादन कम हुने जिल्लामा सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र बालबालिका विपद्को समयमा झनै जोखिममा पर्ने गरेको देखिन्छ । विपद्को समयमा पोषणयुक्त खाना जुटाउने र नियमित खान कठिनाइ परिरहेको स्थानीयहरू बताउँछन् ।
No comments:
Post a Comment