Friday, April 07, 2023

छोरी–बुहारीलाई निःशुल्क उच्च शिक्षा दिइने


रसुवा । आर्थिक अभावका कारण उच्च शिक्षाको संघारमा पुग्न नसकेका छोरी–बुहारीहरूलाई उच्च शिक्षाको पहुँचसम्म पुर्याउने उदेश्य अनुरुप कालिका गाउँपालिकाले छात्रवृत्ति कार्यक्रमको घोषणा गरेको छ ।

११३ औं नारी दिवसको अवसरमा आयोजित जिल्लास्तरीय लोकदोहोरी प्रतियोगितामा गाउँपालिकाका प्रवक्ता एवं ५ नम्बरका वडाध्यक्ष सन्दिप पौडेलले उक्त घोषणा सार्वजानिक गरेका हुन् । गएको बुधबार बसेको शिक्षा समितिको बैठकले करिब ३३ लाख विनियोजित बजेटबाट छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम अन्तर्गत पालिकाका क्षेत्रभित्रका छोरी–बुहारीहरूलाई निःशुल्क उच्च शिक्षा प्रदान गरिने निर्णय गरिएको प्रवक्ता पौडेलले बताए ।

‘कालिका हिमालयन क्याम्पसमा स्नाकोत्तर तहमा अध्ययन गर्ने पालिकाका सबै बुहारीलाई मासिक २० हजार रुपैंयाँको बुहारी छात्रवृत्ति कार्यक्रम लागु गरिएको छ ।’ उक्त क्याम्पसमै स्नाकोत्तर तहमा अध्ययन गर्ने १० जना छात्रालाई मासिक २० हजारको छात्रवृत्ति प्रदान गरिने भएको छ ।

राजनैतिक प्रतिशोधको आधारमा नभई आर्थिक अवस्था कमजोर भएका परिवारका पढ्नबाट बञ्चित भएका छोरी–बुहारीलाई छात्रवृत्ति प्रदान गरिने प्रवक्ता पौडेलले बताए । छात्रवृत्ति कार्यक्रमले बुहारी तथा छात्राको उन्नती प्रगति हुनुको साथै देश निर्माणमा महिलाले पनि उतिकै योगदान गर्नसक्ने भएकोले पालिकाले छोरी–बुहारी छात्रवृत्ति कार्यक्रम ल्याएको हो । छोरी–बुहारी छात्रवृत्तिको प्रभावकारिता बारेमा अध्ययन गरी छनोट भएकालाई अध्ययन अवधिभर पालिकाले रकम प्रदान गरिने पौडेलले बताए ।

No comments:

Post a Comment