Friday, April 07, 2023

बलात्कार कसूरमा २३ दिन कैद सजाय

विदुर । ककनीका एक पुरुषलाई बलात्कार कसूरमा २३ दिन कैद सजायको फैसला भएको छ । जिल्ला अदालतद्वारा पीडितलाई क्षतिपूर्ति भराउनेसमेत फैसला भएको छ । गाउँकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको कसूरमा ककनी गाउँपालिका वडा नं. २ का ५० वर्षीय सानुकान्छा बलामीलाई सजाय सुनाएको हो ।

बलामीले किशोरीलाई २०७८ मंसिर २२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले बलामीविरुद्ध जिल्ला प्रहरी कार्यालय नुवाकोटमा मंसिर २४ गते उजुरी दर्ता भएको थियो । जिल्ला न्यायाधीश मदनबहादुर धामीको एकल इजलासले गरेको अन्तिम फैसलामा अभियोगमा आंशिक दाबी पुग्ने ठहर गर्दै २३ दिन कैद सजायका साथ २५ हजार रुपैयाँ क्षतिपूर्ति भराउन फैसला भएको नुवाकोट जिल्ला अदालतले जनाएको छ । साथै ७ सय रुपैयाँ जरिवाना र २ सय रुपैयाँ पीडित राहत कोषमा दाखिला गर्न आदेश भएको जिल्ला अदालतकी सूचना अधिकारी रीता लामिछानेले बताइन् ।

सरकारी वकिलको कार्यालयले बलात्कार कसूर कायम हुनुपर्ने माग दाबी गरेर अदालतमा मुद्दा दर्ता गराएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण मंसिर २४ गते नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा गरिएको थियो । जिल्ला अदालतले बलामीलाई २०७८ पुस १४ गते ३५ हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

यसै बीच, बलात्कार कसुरमा नुवाकोटका एक वृद्धलाई दुई वर्ष कैद सजायको फैसला भएको छ । १३ वर्षीया एक बालिकालाई बलात्कार गरेको कसुरमा बेलकोटगढी नगरपालिका–४ डाँडाखर्कका ६८ वर्षीय ऋषिबहादुर बाँस्कोटालाई जिल्ला अदालत नुवाकोटले दुई वर्ष कैद सजायको फैसला गरेको हो ।

नुवाकोटका जिल्ला न्यायाधीश मदनबहादुर धामीको इजलासले गएको मंगलबार आंशिक दाबी पुग्ने ठहर गर्दै २ वर्ष कैद सजाय र २५ हजार रुपैयाँ  पीडितलाई क्षतिपूर्ति भराउन आदेश दिएको हो । २०७७ मंसिर २४ गते बलात्कार गरेको दावी गर्दै जिल्ला प्रहरी कार्यालयमा मंसिर २९ गते उजुरी दर्ता भएको थियो । जिल्ला अदालतले आरोपित बाँसकोटालाई २०७७ पुस १६ गते पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएकोमा २६ महिनापछि अन्तिम फैसला भएको हो ।

No comments:

Post a Comment