Friday, April 07, 2023

अमेरिकी तारोमा टिकटक

काठमाडौं । टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ । विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पु¥याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो ।

अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ । डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ । बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरूको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो ।

‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ । अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन् । चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओ¥याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ । संसदमा कसैले पनि टिकटकको समर्थन गरेनन् । यसले बालबालिकामा नकारात्मक प्रभाव पारेको धेरैको तर्क थियो । टिकटकले बालबालिका यौनशोषणको जोखिममा पर्दै गएको सांसदहरूको जिकिर थियो । डेमोक्र्याट सांसद क्याथि क्यास्टरले भनेका छन् ‘बालबालिकाको सुरक्षामा ध्यान दिएर एप्लिकेशन बनाउनुपर्नेमा नाफा केन्द्रित भएर त्यसको बेवास्ता गरिएको छ ।’

त्यस एप्लिकेशनको गोपनीयताको सवालमा प्रश्न तेर्सिएपछि एप्लिकेशन चिनियाँ सरकारको इशारामा नचल्ने बताइएको छ । ‘टिकटकमा आएका सामग्रीलाई हामी चिनियाँ सरकारको आग्रहमा प्रवर्धन पनि गर्दैनौं र हटाउँदैनौं’ उनको जवाफ थियो । टिकटक प्रयोगकर्तालाई कुनै पनि सरकारको हस्तक्षेपबाट टाढै राख्ने र बालबालिकाको सुरक्षामा निकै संवेदनशील रहेको जवाफ टिकटकले दिएको छ । संसदमा १० डेमोक्र्याट र १० रिपब्लिकन सांसदले टिकटकलाई प्रतिबन्ध लगाउन बाइडेन प्रशासनले कानुन ल्याउनुपर्ने प्रस्तावमा सहमति दिएका छन् ।

टिकटकका अनुसार बाइडेन प्रशासनले चिनियाँ लगानीकर्ताको स्वामित्व फिर्ता गरे मात्रै अमेरिकामा प्रतिबन्ध नलगाउने शर्त छ । चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएमा अमेरिकामा चिनियाँ लगानी र सामान बिक्रीबारे सोच्नुपर्ने चेतावनी दिएको छ । 

डेमोक्र्याटका सांसद टोनी काडेनले टिकटकले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याएको बताएका थिए। ‘आफ्नो स्वार्थका लागि बालबालिकाको सुरक्षामा ध्यान नदिने यस्ता कम्पनीबाट हामी स्वयंले हाम्रा बालबालिका बचाउनुपर्छ’, उनको भनाइ थियो ।

अमेरिकाले टिकटक प्रतिबन्धका लागि पहल बढाइरहेको छ । त्यसअघि उसले टिकटकलाई आफ्नो भनाइ राख्ने मौका दिएको हो । प्रतिबन्ध कहिले लगाउनेछ भन्ने निश्चित छैन तर संसद टिकटकको प्रतिबन्धमा एकमतझैं छ । बाइडेन प्रशासनले टिकटक प्रतिबन्ध लगाएमा वासिङ्टन र बेइजिङको सम्बन्धमा थप दरार उत्पन्न हुने निश्चित छ । अमेरिकी संसदको एक समितिले प्रतिबन्ध सम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार हुनेछ ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन् ।

No comments:

Post a Comment