Friday, April 07, 2023

विपद् नियन्त्रणमा जुट्न आग्रह


विदुर । जिल्लामा भएका विपद्जन्य घटना हुन नदिन र ती घटनामा खोज तथा उद्धार गर्न तयारी अवस्थामा रहन जिल्ला विपद् व्यवस्थापन समितिले सरोकारवाला निकाय र स्थानीय तहलाई निर्देशन दिएको छ । 

समितिको अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा बसेको बिहीबार बसेको बैठकले विभिन्न ९ बुँदे निर्णय गर्दै स्थानीय तहका पदाधिकारी र सरोकारवाला निकायलाई उक्त निर्देशन दिएको हो । 

नुवाकोट आगलागीको जोखिमयुक्त जिल्ला भएकाले आगलागी नियन्त्रणका लागि दमकलको अभाव रहेकाले १२ वटै पालिकाका आपसमा मिली बढीमा २/३ वटाको समन्वयमा दमकल खरिद गरी सञ्चालन गर्न भनिएको प्रमुख जिल्ला अधिकारी किरण थापाले बताए । 

त्यसैगरी सुक्खायामको सुरुवासँगै आगलागीजन्य विपद्मा वृद्धि हुने र जनधनको क्षति न्यूनीकरण गर्न स्थानीय तहले आफ्नो वडातहबाटै डढेलो लगाउने कार्यलाई नियन्त्रण गर्नुपर्ने प्रजिअ थापाले बताए ।

आगलागीको जोखिमयुक्त स्थानको पहिचान गरी उक्त क्षेत्रका स्थानीय जनप्रतिनिधि, जिल्ला वन कार्यालय तथा स्थानीय प्रहरी युनिटमार्फत नियमित निरीक्षण गराउनुपर्नेछ । जिल्ला विपद् व्यवस्थापन कोषबाट जिल्लाका विभिन्न स्थानमा भएका विपद्जन्य घटनाका पीडितहरूलाई ०७९ पुस १३ गतेदेखि चैत ९ गतेसम्म राहत स्वरुप उपलब्ध गराइएको ७० हजार रुपैयाँ उपलब्ध गराई अनुमोदन गरेको बताइएको छ ।

स्थानीय विपद् व्यवस्थापन समितिले आफ्नो तहमा रहेको विपद् उद्धारको सामाग्रीहरू दुरुस्त अवस्थामा राख्न भनिएको छ । त्यसैगरी अपुग सामग्री खरिद गरी राख्न, विवरण तथा भण्डार गरिएको बारेमा समेत जानकारी दिन भनिएको छ । 

मनसुनजन्य विपद्बाट पूर्ण क्षति भएका निजी आवासको पुनर्निर्माणको कार्य वर्षात्को मौसम अगाडि सम्पन्न गर्ने साथै लाभग्राहीले प्राप्त गर्ने सहयोगका लागि स्थानीय निकायले गर्नुपर्ने निरीक्षण तथा प्रतिवेदन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सफ्टवेयरमार्फत तत्काल गर्न निर्देशन दिएको छ ।

No comments:

Post a Comment