Monday, April 10, 2023

८८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित


सुनिल श्रेष्ठ

विदुर । राष्ट्रिय तथ्यांक कार्यालयले १२ औं राष्ट्रिय जनगणना २०७८ को पूर्ण विवरण गत साता सार्वजनिक गरेको छ ।

तथ्यांकअनुसार देशभर ३० लाख ७ हजार ६४८ बालबालिकाको जन्मदर्ता रहेकोमा ७ लाख ८० हजार ९३३ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको छ । जसमा नुवाकोट जिल्लामा ६८ हजार ६७९ परिवार संख्या रहेकोमा २३ हजार १९६ बालबालिकाको मात्र जन्मदर्ता रहेको छ । जसमा ८ हजार ८४६ बालबालिका जन्म दर्ताबाट वञ्चित रहेको तथ्यांकले देखाएको छ ।

जिल्लाका दुई नगरपालिकामा २ हजार ९०६ जना र १० गाउँपालिकामा ५ हजार ९८० जना बालबालिका जन्मदर्ता बाहिर रहेको तथ्यांक छ । विदुर नगरपालिकामा ५ हजार १६३ बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ५९५ जना र बेलकोटगढी नगरपालिकामा २ हजार ९२० बालबालिकाको जन्मदर्ता रहेकोमा १ हजार ३११ जना बालबालिका जन्मदर्ता बाहिर रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा १ हजार ३ जना, तादीमा ६९५ जना, सुर्यगढीमा ३६९ जना, किस्पाङमा ३७२ जना, म्यागङमा ४३५ जना, तारकेश्वरमा ४४३ जना, लिखुमा ५३७ जना, पञ्चकन्यामा ४५८ जना, शिवपुरीमा ६०७ जना र ककनीमा १ हजार ६१ जनाको जन्मदर्ता नभएको तथ्याङ्क रहेको छ ।

गाउँपालिकातर्फ दुप्चेश्वरमा कुल २ हजार ३३८ जना, तादीमा १ हजार ४७८ जना, सुर्यगढीमा १ हजार २८९ जना, किस्पाङमा १ हजार ४०१ जना, म्यागङमा १ हजार १५३ जना, तारकेश्वरमा १ हजार ३१७ जना, लिखुमा १ हजार ४९४ जना, पञ्चकन्यामा १ हजार ७८ जना, शिवपुरीमा १ हजार ३१९ जना र ककनीमा २ हजार २४४ जना बालबालिकाको जन्मदर्ता छ ।

जन्मदर्ता नहुनुमा पारपाचुके, विविध पारिवारिक उल्झनको कारणले छुटिएको आमाबुबा, अत्यावश्यक काम नपरी आफ्नो बालबालिकाको जन्मदर्ता नगर्ने लगायतका कारण बालबालिकाको जन्मदर्ता नभएको प्रतिवेदनमा उल्लेख छ । संविधानले जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने प्रावधान राखे पनि सडक बालबालिका, परिवार त्याग गरेका बालकालिका कानूनी पहिचानबाट वञ्चित हुनुपरेको छ ।

जिल्लामा १ लाख २८ हजार ९९८ पुरुष र १ लाख ३४ हजार ३९३ महिला गरी कुल २ लाख ६३ हजार ३९१ जना देखिएको छ । जसमा २ हजार ४९४ पुरुष र २४९ महिला गरी कुल २ हजार ७४३ जनाको संस्थागत तथ्यांक छ । वार्षिक जनसंख्या वृद्धि दर ०.५ प्रतिशतका दरले जनसंख्या वृद्धिमा ऋणात्मक देखिएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कूल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ छ । यसमा पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छर । अन्य लिङ्गी (लैङ्गिक तथा यौनिक अल्पसंख्यक) को जनसंख्या २ हजार ९२८ छ जुन कूल जनसंख्याको ०.०१ प्रतिशत हो ।

No comments:

Post a Comment