Friday, April 07, 2023

फोहोर ओभरफ्लोले सास्ती


ककनी । बर्खा नजिकिँदा नुवाकोट र धादिङ सीमा क्षेत्रमा पर्ने बन्चरेडाँडास्थित ल्यान्डफिल साइटको लिचेड ओभरफ्लो हुन लागेपछि आसपासका बासिन्दा चिन्तित छन् । लिचेड भरिएर कोल्पुखोलामा लेदोयुक्त पानी मिसिन सक्ने भन्दै स्थानीयले यसको समाधानका लागि सरकारसँग पहल गर्न जनप्रतिनिधिसमक्ष माग गरेका छन् । 

‘लिचेड भरिएर ओभरफ्लो हुन लागेको छ । बन्चरेडाँडाको मुनिबाट कोल्पुखोला बगिरहेको छ । अब पानी परेर लिचेड बग्न थाल्यो भने यो कोल्पुखोलामा मिसिने खतरा छ,’ ककनी गाउँपालिका–३ का घननाथ बजगाईंले भने । सिसडोलमा फोहोर भरिएपछि गत वर्ष जेठमा माथिल्लो क्षेत्रमा पर्ने बन्चरेडाँडामा फोहोर विसर्जन गर्न थालिएको थियो । वर्षायाम सुरु भएसँगै उक्त फोहोर पनि भरिएर दुर्गन्ध फैलिन सक्ने भएपछि स्थानीय चिन्तित बनेका हुन् । शुक्रबार नुवाकोट–१ का प्रतिनिधिसभा सदस्य माओवादी केन्द्रका हितबहादुर तामाङ, सांसद विमला सुवेदी, जिसस प्रमुख रजिन्द्रविक्रमसिंह ठकुरी, पालिका अध्यक्षलगायतको टोली र सदरमुकाम विदुरबाट जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति प्रतिनिधि, सुरक्षा निकाय, वन कार्यालय प्रतिनिधिसहितको टोली बन्चरेडाँडा अवलोकनमा पुगेको थियो । यसक्रममा स्थानीयले फोहोर व्यवस्थापनको काम दिगो रूपमा समाधान गर्न‘पर्ने माग गरेका छन् । साथै मानव बस्तीमा दुर्गन्ध फैलिन सक्ने भन्दै उनीहरूले जनप्रतिनिधिहरूलाई दबाब दिए । अवलोकनका क्रममा सांसद तामाङले मान्छे र फोहोर एकै ठाउँमा राख्न नपाइने बताएका थिए । उनले फोहोरलाई दिगो रूपमा बस्तीबाट टाढा लगेर व्यवस्थापन गर्न‘पर्ने सुझाव दिएका थिए । बन्चरेडाँडामा हरेक वर्ष देखिने समस्याको विकल्प सरकार र काठमाडौं महानगरपालिकाले खोज्नुपर्ने उनको भनाइ थियो ।

फोहोर विसर्जनका लागि यसअघि काठमाडौं महानगरपालिका, सहरी विकास मन्त्रालय, धुनीबेंसी नगरपालिका र ककनी गाउँपालिकाबीच समझदारी भएको थियो । तर उक्त सम्झौताअनुसार कार्यान्वयन नहुँदा फेरि समस्या निम्तिएको स्थानीयको गुनासो छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भने यसअघि भएको सम्झौतालाई संघीय सरकार र काठमाडौं महानगरबाट बेवास्ता भएको बताए । ‘मापदण्ड पु¥याएर व्यवस्थापन गरेका छैनन् । लिखित रूपमा गरेका मागका सम्झौता कार्यान्वयन नभएपछि स्थानीयले माग उठाएका छन् । फोहोर र मान्छेसँगै नबस्ने भनिएको छ ।

फोहोरले प्रभावित स्थानीयलाई अन्यत्र स्थानान्तरण गर्ने भनेका थियौं । कम प्रभावित क्षेत्रका बासिन्दालाई विकास निर्माणमा प्राथमिकता दिने र लिचेटलाई खोलामा नहाल्ने भनिएको थियो । यहाँका बासिन्दालाई लक्षित गरी तत्काल १० शैयाको अस्पताल स्थापना गर्ने भनिएको थियो । तर अहिलेसम्म भएको छैन,’ गाउँपालिकाका अध्यक्ष तामाङले भने ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्ने क्रममा नुवाकोटको ककनीसहित धादिङको धुनीबेंसीका १८ हजार मानिस प्रभावित छन् । तर ती मानिसको जीउधनको सुरक्षा र वातावरण विनाशको समस्याप्रति सरोकारवाला निकाय जिम्मेवार हुन नसकेको ककनी–३ का स्थानीय तथा बन्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिका संयोजक श्रीराम ढुंगाना गुनासो गर्छन् । यसबाहेक लामो समयदेखि फोहोर थन्क्याउने काममात्रै भइरहँदा स्थानीयमा विभिन्न स्वास्थ्य समस्या देखिने गरेको उनीहरूको गुनासो छ । 

स्थानीयमा क्यान्सरलगायतका समस्या देखिनुमा पनि फोहोरलाई कारक मानिएको छ । ककनी–१ का वडाध्यक्ष पदमबहादुर श्रेष्ठका अनुसार फोहोरकै कारण क्यान्सरले वार्षिक रूपमा ५ देखि १० जनाले ज्यान गुमाउनुपरेको छ । अर्का स्थानीय राजु घिमिरेका अनुसार स्थानीयहरूमा छाती र फोक्सोका बिरामीको संख्या पनि बढ्ने क्रम छ ।

२०६२ सालमा नुवाकोटको ओखरपौवामा २÷३ वर्षका लागिमात्रै फोहोर फ्याँक्ने सहमति बने पनि काठमाडौं महानगर र सरकारले उचित व्यवस्थापन भने खोज्न सकिरहेको छैन । हरेक वर्ष वर्षायाममा दुर्गन्ध फैलिने क्रम बढेपछि स्थानीय विरोध गर्छन् । तर सरकार र महानगरले स्थानीयलाई विभिन्न आश्वासनसहित थामथुम पार्ने गरेका छन् । तीन वर्षका लागि फोहोर फाल्ने भनिएको सम्झौता उल्लंघनमात्रै हैन, हाल काठमाडौं महानगरसहित १८ वटा नगरपालिकाको १० देखि १२ टन फोहोर दैनिक यहाँ विसर्जन हुने गरेको छ । १७ वर्षको अन्तरालमा ७२ पटक सम्झौता गरिए ।

कोल्पुखोला किनारमा रहेको खाल्टो फोहोरले भरिएर करिब २ सय मिटर अग्लो पहाडकै रूपमा खडा भयो । फोहोरकै पहाडमाथि फोहोर बोक्ने गाडीहरू कुद्न थाले । गत जेठमा काठमाडौं महानगरका मेयर बालेन्द्र शाहले स्थानीयसँग गरेको सम्झौतासँगै ल्यान्डफिल साइट तयार पारिएपछि उक्त समस्या समाधान हुने अपेक्षा गरिएको थियो । तर यस पटकको वर्षा सुरु भएसँगै दुर्गन्ध फैलिएर विकराल रूप लिने देखिएको छ । काठमाडौं महानगरले फोहोर फाल्ने ठाउँ खोजिरहँदा बन्चरेडाँडा आसपासका बासिन्दा भने राजधानीको दुर्गन्धको विकल्प खोजिरहेका छन् । हिउँदका महिनामा धूलो खाइरहेका उनीहरू वर्षामा हिलो र दुर्गन्धबाट मुक्ति पाउने उपाय खोजिरहेका छन् । 

फोहोर बोक्ने गाडीलाई टाइमकार्ड

ओखरपौवा । मुड्खु नाकाबाट तीनपिप्ले हुँदै ओखरपौवा चल्ने फोहोर बोक्ने गाडीलाई शनिबारबाट टाइमकार्ड लागू गरिएको छ ।

दुर्घटनाको जोखिम हुने गरी तीव्र गतिमा सवारी साधन चलाउने गरेको र असुरक्षित महसुस भएको गुनासो स्थानीयबाट आए पछि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र काठमाडौँ महानगरपालिकाको संयुक्त पहलमा उक्त सडकखण्डमा फोहोर बोक्ने गाडीका लागि शनिवारबाट टाइमकार्ड लागू गरिएको हो । मुड्खु नाकामा चालकलाई टाइमकार्ड दिइने छ र पालना भए/नभएको जाँच तिनपिप्ले र ओखरपौवा चेकपोष्टमा हुने छ । मुड्खुदेखि तीनपिप्लेसम्मको सडकखण्डमा प्रतिघण्टा ३० किलोमिटर र तीन पिप्लेदेखि ओखरपौवा चेकपोष्टसम्मको सडकखण्डमा प्रतिघण्टा २० किलोमिटर गति निर्धारण गरिएको छ । मुड्खुदेखि तीनपिप्लेसम्मको ५ किलोमिटर सडकखण्ड पार गर्न न्यूनतम १० मिनेट र तीनपिप्लेदेखि ओखरपौवासम्मको ८ किलोमिटर सडकखण्डमा न्यूनतम २५ मिनेट समय निर्धारण गरिएको छ ।

तोकिएको स्थानमा निर्धारित समयभन्दा छिटो पुगेमा कारबाही गरिने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिए । टाइमकार्डले आवागमन व्यवस्थापनको साथमा गन्तव्य स्थानमा छिटो पुग्नका लागि तीव्र गतिमा सवारी साधन चलाउने प्रवृत्तिलाई निरुत्साहित गर्नेछ ।

No comments:

Post a Comment