Friday, April 07, 2023

दाइको विरासत थाम्लान् महतले ?


काठमाडौं । नेपाली कांग्रेस नेता डा. प्रकाशशरण महत अर्थमन्त्रीका रुपमा सिंहदरबार प्रवेश गरेका छन् । यसअघि ऊर्जा र परराष्ट्र मन्त्रालयको नेतृत्व गरिसकेका उनले यसपटक अर्थमा अवसर पाएका छन् ।

तेस्रोपटक मन्त्रीका रुपमा सिंहदरबार पस्दै गर्दा महतका अगाडि अर्थतन्त्रका सूचकहरूले रातो बत्ती बालिरहेका छन् । विज्ञहरूका अनुसार देशको आर्थिक अवस्था हेर्दा यो कुनै सुविधाको बेला हुँदै हैन । अहिले देशको अर्थतन्त्र अप्ठेरो अवस्थासँग जुधिरहेको छ । बाह्य क्षेत्रको चुनौती कम हुँदै गएपनि अर्थतन्त्रका वास्तविक, सार्वजनिक वित्त र मौद्रिक क्षेत्र समस्यामा छन् ।

राजस्वले चालु खर्च धान्न मुस्किल छ । भन्सारदेखि आन्तरिक राजस्वसम्म गत वर्षको भन्दा कम उठिरहेको छ । अर्थतन्त्रलाई गति दिन सघाउने पूँजीगत खर्च कमजोर छ । बजारमा वस्तु तथा सेवाको माग घटेर उद्योग र सेवा क्षेत्र समस्याग्रस्त छ ।

व्यापार र निर्माण क्षेत्रमा पनि मन्दी छ । उच्च ब्याजदर र तरलता अभावले वित्तीय क्षेत्रमाथि निजी क्षेत्रको विश्वास घटेको छ । नयाँ परियोजनामा लगानी घट्दा कर्जा विस्तार नभएर बैंकहरू समस्यामा छन् । पूँजीबजारमा निराशा मात्रै छ । पर्यटन क्षेत्रमा उत्साह छैन । घरजग्गा कारोबारमा पुरै मन्दी छ । ठूला सहकारीहरू समस्यामा फस्दै गएका छन् ।

यस्तो कमजोर आर्थिक परिसूचकहरूलाई सुधार्नेगरी अर्थमन्त्रीले ल्याउने योजना र गर्ने काम भविष्यको अर्थतन्त्रको अवस्था निर्धारण गर्ने अर्थविद्हरू बताउँछन् । अर्थविद् विश्वास गौचन नयाँ अर्थमन्त्रीले संकट टार्न थुप्रै अलोकप्रिय निर्णय लिनुपर्ने बताउँछन् । त्यसका लागि आँट चाहिने उनको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्री नयाँ अर्थमन्त्रीले अर्थतन्त्रको समस्या पहिचान गरी सुधारमा निर्भिकतापूर्वक अडिन सक्नुपर्ने बताउँछन् । यसका लागि सबै पक्षलाई विश्वासमा लिएर निचोडमा पुग्नुपर्ने उनको सुझाव छ । अर्थमन्त्रीका अगाडि चालु खर्चमा व्यापक कटौती गर्नुपर्ने चूनौती रहेको उनको विश्लेषण छ ।

अन्तर्राष्ट्रिय दातृ निकायहरूसँग सम्बन्ध सुमधुर राख्दै थप आर्थिक तथा लगानीको स्रोत खोज्नुपर्ने डा. महतको दायित्व हुनेछ । आँउदो १५ जेठमा आउने आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेटलाई राजनीतिकभन्दा बढी आर्थिक लाभमा उपयोग गर्नु उनको दायित्व हुनेछ ।

खुम्चिएको स्रोत बढाउनु र बजेटमा ठूला कार्यक्रमहरूको माग व्यवस्थापन गर्नु महतका लागि फलामको चिउरा सावित हुनेछ ।

पार्टीभित्रका अन्य आकांक्षीलाई पन्छाउँदै सभापति शेरबहादुर देउवाको मन जितेर अर्थमन्त्रालयको बागडोर सम्हाल्न आएका महतलाई अर्थतन्त्रको संकट पार लगाउँछन् भनेर आम विश्वास जित्नु नै मुख्य चुनौती हुने अर्थविदहरू बताउँछन् । अर्थतन्त्रका समस्यासँग जुध्दै व्यावसायिक जगत र अन्तर्राष्ट्रिय समुदायलाई पनि आश्वस्त पार्नु उनको मुख्य जिम्मेवारी हुनेछ ।

यस्ता चुनौतीसँग जुध्न उनी सक्षम हुनेछन् भन्ने शंकै छ । संकटापन्न अर्थतन्त्र सम्हाल्ने जिम्मा लिएर आएका अर्थमन्त्री महतको शैक्षिक योग्यता भने अर्थशास्त्रसँगै सम्बन्धित छ ।

उनी बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि नेपाली अर्थतन्त्रको रुपरेखा कोर्ने डा. रामशरण महतका भाइ हुन् । विदेशमा आकर्षक जागिर खाइरहेका डा. रामशरण महतलाई २०४८ सालमा सत्ता नेतृत्वमा आएका गिरिजाप्रसाद कोइरालाले बोलाएर नेपाल राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनाएका थिए । त्यसपछि उनी पटक–पटक अर्थमन्त्री भए ।

नेपाली अर्थतन्त्रको सकारात्मक, नकारात्मक सबैखाले पाटोको चर्चा हुँदा डा. महतको नाम स्वतः आउने गर्छ । उनै रामशरणका भाइ प्रकाशशरण अहिले अर्थ मन्त्रालयको नेतृत्वमा पाएका छन् । उनी अर्थशास्त्रमा त्रिभुवन विश्वविद्यालय, काठमाडौंका स्नातक, अमेरिकाको युनिभर्सिटी अफ इलिनोइस एट अर्बाना–च्याम्पेनबाट स्नातकोत्तर र साउदर्न इलिनोइस विश्वविद्यालयका पीएचडी हुन् ।

२०६३ सालको अन्तरिम व्यवस्थापिकाको सदस्यको रुपमा संसदीय यात्रा आरम्भ गरेका डा. महत पहिलो संविधानसभा र दोस्रो संविधानसभा दुवैमा सभासद थिए । उनी २०६६ देखि २०६७ चैतसम्म ऊर्जा मन्त्री भएका थिए । त्यसपछि नेकपा माओवादी र नेपाली कांग्रेसको संयुक्त सरकारमा उनी परराष्ट्रमन्त्री भए ।

२०७४ को चुनाव हारेका उनी ०७९ सालमा भने समानुपातिक तर्फबाट सांसद भए । २०५८ असोजदेखि २०५९ वैशाखसम्म प्रधानमन्त्री रहँदा आफ्ना सल्लाहकार बनाएका शेरबहादुर देउवाले यसपटक महतलाई कांग्रेसको कोटाबाट अर्थमन्त्री बनाएका छन् । उनीसँग राष्ट्रिय योजना आयोगको सदस्य भएर काम गरेको अनुभव पनि छ ।

१६ कात्तिक २०१६ मा नुवाकोटको पञ्चकन्यामा जन्मिएका डा. महत पार्टी केन्द्रीय सदस्य र प्रवक्ताको जिम्मेवारी निर्वाह गरिसकेका नेता हुन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीमा उठेर पराजित भएका थिए । ०७४ को चुनावमा उनी काठमाडौं ५ मा एमालेका ईश्वर पोखरेलसँग पराजित भएका थिए ।

राजनीतिक रुपमा अनुभवी भएपनि महतले अर्थतन्त्रमा कौशल देखाउने भूमिका पाएका थिएनन् । उनले मुलुकको आर्थिक अवस्थाबारे सार्बजनिक टिप्पणी र विश्लेषण गरेको पनि सुनिने गरेको थिएन । बौद्धिकभन्दा बढी राजनीतिक व्यक्तित्वका रुपमा चिनिएका उनले अब कसरी अर्थमन्त्रालय चलाउलान् भन्नेमा निजी क्षेत्र सशंकित छ ।

नेपाल उद्योग वाणिज्य महासंघका एक पदाधिकारी यसअघि ऊर्जामन्त्री हुँदा महतले खासै राम्रो नेतृत्व नदिएको अनुभवका कारण विश्वस्त हुने अवस्था नरहेको बताउँछन् । अर्थशास्त्रका विद्यावारिधी भएकाले नयाँ ढंगले चलाउलान् कि भन्ने आशा भने रहेको बताउँदै उनले भने, ‘उहाँमाथि भरोसा नभएपनि शंकाको सुविधा छ, त्यत्ति हो ।’

डा. महत राजनीतिक रुपमा चतुर र नेतृत्वनजिक रहेर आफ्नो भनाइमा सहमत गराउन माहिर छन् । अर्थमन्त्रीका रुपमा उनले आफ्नो सबल पक्षको उपयोग गरे भने सफल हुने ती व्यवसायीको भनाइ छ ।

कांग्रेस नेता तथा अर्थविद् डा. गोबिन्दराज पोखरेल भने अर्थशास्त्र पढेको मात्र नभई मन्त्री भएर प्रशासनिक संयन्त्र पनि बुझेको हिसावले अर्थमन्त्रीमा महत सफल हुने बताउँछन् ।

‘राजस्व र वैदेशिक मुद्राको स्रोतमा विविधीकरण आवश्यक छ,’ उनी भन्छन्, ‘उहाँले लगानी र उद्योगधन्दा बढाउने गरी आर्थिक विषयसँग सम्बन्धित ऐनहरू संशोधन गरेर सुधारका प्रयास थालिहाल्नुपर्छ ।’

त्रिभुवन विश्वविद्यालयका अर्थशास्त्र विभाग प्रमुख डा. शिवराज अधिकारी नयाँ अर्थमन्त्रीबाट धेरै आशा गरिएको बताउँछन् । ‘मूल रुपमा उहाँले आफूमाथि भरोसा बढाउन सक्नुपर्छ,’ उनी भन्छन्, ‘अर्थतन्त्रको समस्या समाधान हुन्छ भनेर जनतालाई विश्वास दिलाउनु नै उहाँको मूल चुनौती हो, त्यसकै लागि काम गर्नुपर्छ ।’

मनोबल बढाउने गरी काम गर्छु : अर्थमन्त्री महत

नवनियुक्त अर्थमन्त्री डा. प्रकाशशरण महतले निराशमा रहेका व्यवसायीको मनोबल बढाउन नेपाल राष्ट्र बैंकसँग समन्वय गरी काम गर्ने बताएका छन् । शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले व्यवसायीमा देखिएको नैराशयता अन्त्य गर्न राष्ट्र बैंकको अहम भूमिका रहेको भन्दै अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वयन गरेर काम गर्ने बताए ।

‘लघुवित्त र सहकारीहरू समस्यामा छन् । यसमा राष्ट्र बैंकको अहम् भूमिका छ । अर्थ मन्त्रालयले राष्ट्र बैंकसँग समन्वय गरी काम गर्न जरुरी छ,’ उनले भने, ‘अर्थतन्त्रमा रहेका निराशालाई आशामा बदल्नु छ । सकारात्मक सोचमा बदल्नु छ । ब्याजदर उच्च छ, सेयर बजारमा निराशा छ, उद्योगी व्यवसायी सबैमा निराशा बढेको छ । सबैको आत्मविश्वास बढाउनुपर्ने छ । त्यसका लागि राष्ट्र बैंकसँग समन्वयन गरी अर्थ मन्त्रालयले सक्रियताको साथ काम गर्छ ।’

लगानीमा नकारात्मक वातावरण बनेको भन्दै उनले त्यसलाई सकारात्मक बनाउन आवश्यक रहेको बताए । त्यसमा राष्ट्र बैंकको ठूलो भूमिका हुने भन्दै उनले यो र त्यो भन्ने भन्दा पनि राष्ट्र बैंक सँगसँगै काम गर्ने बताए । ‘यो र त्यो भन्ने होइन । हामी सँगै काम गर्ने हो । राज्य संरचनाको जिम्मेवारीलाई यो र त्यो नभनी अर्थतन्त्रलाई उकास्ने हो’ मन्त्री डा. मतहले भने ।

No comments:

Post a Comment