![]() |
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल |
विदुर । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान आर्थिक समस्याको समाधानका लागि नेपाल सरकार र निजी क्षेत्र दुवैको पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
नुवाकोट उद्योग वाणिज्य संघद्वारा शुक्रवार आयोजित १८ औँ वार्षिक साधारणसभा तथा ११ औं अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले आर्थिक समस्या समाधानका लागि सरकार र निजी क्षेत्रबीचको सहकार्यले छिट्टै समाधान हुने विश्वास व्यक्त गरे । ‘हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको साधारणसभामा उल्लेख गरिएको प्राथमिकतामा आर्थिक समस्या समाधानलाई पहिलो प्राथमिकता दिइएको छ’, उनले भने, ‘नयाँ कार्यसमितिले अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर लगायतसँगको भेटमा समाधानका उपायका बारेमा छलफल भएको छ । वर्तमान आर्थिक समस्या समाधान गर्न सरकार र निजी क्षेत्र दुवैले बनाएका योजनालाई संयुक्तरूपमा कार्यान्वयनमा ल्याएर समाधानको उपाय निकाल्ने छौँ ।’
संघीय राजधानी काठमाडौँसँग जोडिएको नुवाकोटमा कृषि, पर्यटन र जलस्रोतको धेरै सम्भावना भएकाले त्यसलाई उपयोगमा ल्याउन वाणिज्य संघ नुवाकोट सफल हुनेमा केन्द्रीय अध्यक्ष ढकालले विश्वास व्यक्त गरेका छन् ।
त्यसका लागि सम्भावित क्षेत्रमा आयोजनाको पहिचान, पूँजी र प्रविधिको व्यवस्थापन र लगानीको वातावरण मिलाउन नेपाल उद्योग वाणिज्य महासंघले सहयोग गर्ने उनले प्रतिबद्धता जनाएका छन् ।
नुवाकोट उद्योग बाणिज्य संघको १८ औं बार्षिक साधारण सभा तथा ११ औं अधिवेशनको शुक्रवार विदुरमा उद्घाटन गर्दै नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघले ७७ वटै जिल्लामा उद्योगधन्दाहरू स्थापनाका लागि अग्रसरता लिन लागेको र त्यसको सुरुवात नुवाकोटबाट गर्ने अध्यक्ष ढकालले घोषणा गरेका छन् । साथै आफु व्यक्तिगत रुपमा जलविद्युत्को क्षेत्रमा लगानीकर्ताको रुपमा नुवाकोट प्रवेश गरिसकेको समेत ढकालले बताएका ।
No comments:
Post a Comment