Friday, April 07, 2023

सासु–बुहारी सम्मानित

देवचन्द्र भट्ट

नुवाकोट । बेलकोटगढी नगरपालिकाले उत्कृष्ट सासुबुहारीलाई सम्मान गरेको छ ।  नगरपालिकाले आफ्नो १३  वडाका ४३ जना सासु–बुहारीलाई सम्मान गरेको हो । 

सासु तथा बुहारीहरू जो घरायसी काममा व्यस्त हुने गर्दछन्,उनीहरूको कामको योगदानलाई कदर गर्दै स्थानीय सरकारले सम्मान गरेको हो । 

नगरपालिकाले तोकेका मापदण्डमा परेका सासु– बुहारीलाई सम्मान गरिएको मेयर जगतबहादुर गुरुङले बताए । लैङ्गिक हिंसा र घरेलु हिंसा नभएको परिवारको सदस्य, छोरा, छोरी र बुहारीमा विभेद नभएको, परिवारका सबै सदस्यहरू शिक्षा र स्वास्थमा पहुँच पुगेको, बाल विवाह नभएको घर, बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको घर, बालबालिका र जेष्ठ नागरिकको श्रम शोषण नभएको र सासु बुहारीको आमाछोरीको जस्तो व्यवहार भएको मापदण्डको आधारमा १३ वडाबाट उत्कृष्ट सासु बुहारीलाई सम्मान गरिएको मेयर गुरुङले बताए । ‘लैंगिक समानताको बलियो आधार , सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराको साथ मेयर गुरुङले सासु बुहारी सम्मानले महिलाले आ–आफ्नो घर तथा समुदायमा गर्ने काममा अझै परिपक्वता आउने र समाजलाई हिंसामुक्त राख्न पनि भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बेलकोटगढी नपाका १३ वडाका सहकारी तथा किशोरी समूहबीच लोकदोहोरी प्रतियोगिता समेत गरिएको थियो । लोक दोहोरी प्रतियोगितामा बेलकोटगढी नपा वडा नं. ३ को प्रगतिशील महिला समूह प्रथम भएको थियो । दिपशिखा सहकारी महिला विकास समूह दोस्रो भयो ।

चिम्टेश्वर आमा समूह तेस्रो भएसँगै रातमाटे महिला समूहले सान्त्वना पुरस्कार पायो । प्रतियोगितामा प्रथम भएको समूहले नगद ५ हजार, दोस्रोले ३ हजार, तेस्रो भएको समूहले  २ हजार रुपैयाँ र सान्त्वना भएको समूहले १ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका थिए ।

No comments:

Post a Comment