Friday, April 07, 2023

अस्थिरता चाहनेले टाउँको उठाउन खाजिरहेको छ : तामाङ

विदुर । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संघीय सांसद हितबहादुर तामाङले मुलुकमा अस्थिरता रहीरहोस् भन्नेहरूले टाउको उठाइरहेको बताएका छन् ।

जिल्ला समन्वय समिति नुवाकोटले मंगलबार र बुधबार विदुरमा आयोजना गरेको बैठकमा बोल्दै सांसद तामाङले परिवर्तनका उपलब्धिहरूलाई संस्थागत गर्न नदिने प्रयास भइरहेको बताएका हुन् । नेता तामाङले भने, ‘कुनै न कुनै हिसाबले मुलुकमा अस्थिरता भइरहोस् भन्ने चाहनेहरूको टाउको उठाउन दिने कि नदिने भन्ने कुरा छ । त्यो हाम्रो भूमिका, कामकारबाही र व्यवहारले निर्धारण गर्छ ।’

उनले अहिलेको परिवर्तनप्रति वितृष्णा पैदा गराएर शान्ति र स्थिरता संस्थागत गर्न नदिने कसरत भइरहेकोले त्यसमा सबै सचेत भएर लाग्नुपर्नेमा जोड दिए । ‘देशमा सुशासन कसरी दिने, समाजमा शान्ति दिने सवालमा, विकासको सवालमा एकताबद्ध भएर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता छ । हामी महत्वपूर्ण र गम्भीर खालको क्षणमा छौ’ उनले भने ।

नेता तामाङले संघीयस्तरका ऐन नबन्दा कर्मचारीको सरुवा, बढुवा र वृत्तिविकास रोकिएको पनि बताए । ‘संघीयस्तरका ऐनहरू बनाउन सकिराखिएको छैन,’ उनले भने, ‘निजामती कर्मचारी विधेयकलाई संसद्मा टेबुल गर्न सकिरहेका छैन । कर्मचारीलाई कसरी व्यवस्थापन गर्ने ?’ संवैधानिक परिषद्को अधिकार र कर्तव्यसँग सम्बन्धित विधेयकसमेत पारित गर्न नसकिएकोमा उनले गुनासो पोखे ।

संघीय सांसद विमला सुवेदीले लोकतान्त्रिक गणतन्त्रप्रति सबै प्रतिबद्ध हुनुपर्ने बताइन् । कार्यक्रम जिल्लाका सरकारी, गैसस र १२ वटै पालिकाहरूका प्रमुख र प्रतिनिधिले आफ्नो प्रस्तुति राखेका थिए ।

No comments:

Post a Comment